भर्खरै

एउटै गाउँपालिकामा १२ जलविद्युत् आयोजना निर्माण हुदै

  • प्रकाशित मिति : Mon-02-Sep-2019
  • - Admin
title

म्यग्दी,  भदौ । म्याग्दीको एउटै गाउँपालिकामा १२ जलविद्युत् आयोजना निर्माण हुने भएका छन् । ‘हाइड्रोहव’ का रूपमा चर्चित उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५३९ मेगावाटको  क्षमता १२ जलविद्युत् आयोजना निर्माण हुने भएका हुन् ।
गाउँपालिकाका अध्यक्ष क्या. डमबहादुर पुनका अनुसार निर्माणाधीन अवस्थामा रहेका, निर्माणको चरणमा प्रवेश गरेका र विद्युत विभागसँग ‘पिपिए’ गरिएका साना र ठूला गरी १२ जलविद्युत् आयोजनामध्ये अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४२ मेगावाटको मिस्त्रीखोला, छ मेगावाट क्षमताको घलेम्दी खोला र सोही गाउँपालिका–६ घारमा १४ मेगावाटको घारखोला गरी ६२ मेगावाट क्षमताका तीन जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको जानकारी दिए । 
सोही गाउँपालिका–४ नारच्याङमै ३८ मेगावाट क्षमताको निलगिरि प्रथम, ६२ मेगावाटको निलगिरि दोस्रो र ९.१४ मेगावाट क्षमताको सुपर घलेम्दी जलविद्युत आयोजना  निर्माणका लागि छुट्टै प्रवेशमार्ग निर्माण भइरहेको नारच्याङका वडाध्यक्ष चन्द्रप्रसाद फगामीले बताए  । नारच्याङमै २० मेगावाट क्षमताको निलगिरि ग्यास्केट र १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्ज पनि निर्माण हुने भएको छ । प्रस्तावित १६४ मेगावाट क्षमताको कालीगण्डकी गर्जमा चिनियाँ कम्पनी युनान सिन्ह्वा वाटर कन्जरभेन्सी एण्ड हाइड्रो इन्भेष्टमेन्ट कम्पनीसँग संयुक्त लगानीका लागि सम्झौता भइसकेको उनले जानकारी दिए ।
 
वडा नं ३ स्थित दानामा चार मेगावाट क्षमताको रुप्सेखोला, ५० मेगावाट क्षमताको मध्यकालीगण्डकी, वडा नं २ स्थित तातोपानीमा ६५ मेगावाट क्षमताको अपर कालीगण्डकी र वडा नं ६ घारमा ६४ मेगावाट क्षमताको कालीगण्डकी तिप्ल्याङ जलविद्युत् आयोजना सञ्चालन गर्न विद्युत् विकास विभागसँग ‘पिपिए’ भइसकेको गाउँपालिकाले जनाएको छ । रासस

प्रतिक्रिया