भर्खरै

थ्री फेज मिटरलाई स्मार्ट मिटर बनाउने तयारीमा नेपाल विद्युत प्राधिकरण ,मोवाइल एपमार्फत कार्यालयबाटै घरको मिटर रिडिङ गर्न सकिने

  • प्रकाशित मिति : Wed-04-Sep-2019
  • - भीमलाल श्रेष्ठ
title

 
काठमाण्डौं,भदौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक र व्यावसायिक प्रयोजनमा थ्री फेज लाइन जोडेका ग्राहकको मिटरलाई स्मार्ट बनाउने तयारी गरेको छ । हरेक ग्राहकको घर घर पुगेर विद्युत मिटर रिडिङ् गर्ने झन्झटलाई हटाउने तयारी स्वरुप साढे २ वर्षभित्र काम सक्ने गरी प्राधिकरणले स्मार्ट मिटर राख्न सुरु गरेको हो । 
 
प्राधिकरणले परिक्षणका रुपमा ८ हजार ४ सय स्मार्ट मिटर जडान गर्ने योजना अनुरुप प्राधिकरणले ठूला ग्राहकहरु अर्थात् औद्योगिक प्रतिष्ठानमा ८ हजार स्मार्ट मिटर जडान गरी सकेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । उनका अनुसार हाल थ्री फेजको विद्युत लाइन भएका ग्राहक संख्या ७० हजार रहेका छन् । यी ७० हजार ग्राहकको पुरानो मिटर परिवर्तन गरी नयाँ स्मार्ट मिटर जडान गर्ने प्राधिकरणले योजना बनाएर काम शुरु भएको उनले बताए । प्राधिकरणले विशेष गरी औद्योगिक क्षेत्र काठमाण्डौं, हेटौँडा, जनकपुर, बुटवल, पोखरा, विराटनगरका पूरानो प्रणालीको मिटरलाई विस्थापित गरी स्मार्ट मिटर जडान गरिने बताएका छन् । सिंगल फेज मिटरतर्फ इलेक्ट्रोनिक मिटरहरु खरिद गरी हालसम्म जडान भएका सामान्य इनर्जी मिटरहरुलाई विस्थापित गर्ने कार्य अघि बढाइएको छ । रत्नपार्क महाराजगञ्ज वितरण केन्द्र अन्र्तगत रहेका करिब ९० हजार ग्राहकलाई लक्षित गरी वितरण प्रणाली भूमिगत गर्ने र स्मार्ट मिटर जडान गर्ने काम ठेक्काप्रणाली मार्फत अघि बढाइएको प्राधिकरणले जनाएको छ । कार्यालय बाटै ग्राहकको घरको विद्युत प्रयोगको अनुगमन, नियन्त्रण र व्यवस्थापन गर्ने काम थालिए सँगै यसबारेमा अध्ययनका लागि केही प्राविधिक कर्मचारी चीन गएको प्रवक्ता अधिकारीको भनाई छ । 
 
 
कसरी हेर्ने मोबाइल एपमार्फत विद्युत खपत युनिट र तिर्नुपर्ने रकम   ? 

नयाँ प्रविधिमा आधारित यस्तो विद्युत मिटरमा उठेको विद्युत युनिट प्राधिकरणले कार्यालयमै बसेर मोबाइल एपमार्फत ग्राहकको घर घरको मिटरमा उठेको विद्युत खपत हेर्न सकिन्छ । यसले गर्दा ग्राहकको घर घरमा गएर मिटर हेर्नुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । यस एपमार्फत ग्राहकको घरमा कति विद्युत खपत भइरहेको छ कति युनिट उठेको छ र कति रकम तिर्नुपर्ने हो सो सबै मोवाइलबाट नै हेर्न सकिने व्यवस्था छ । उपभोक्ताले विद्युत खपतको मोबाइल फोनबाट नै निगरानी राख्न सक्ने व्यवस्था हुन्छ भने मासिक कति विद्युत खपत गर्ने भन्ने योजना बनाएर विद्युत प्रयोग गर्न सक्छन् । विद्युत प्राधिकरणलाई विद्युत चुहावट नियन्त्रण गर्नका लागि पनि यस्तो प्रकारको मिटर उपयोगी हुन्छ । साथै स्मार्ट मिटर आएपछि मिटर रिडर कटौती हुनुका साथै त्यसमा लाग्ने खर्च समेत बचत हुनेछ । 

प्रतिक्रिया