कालीगण्डकी करिडोरमा स्थानीयको अवरोध पछि वैकल्पिक मार्गको अध्ययन शुरु

  • प्रकाशित मिति : Wed-11-Sep-2019
  • - Admin
title

 
म्याग्दी, भदौ । कालीगण्डकी प्रसारण करिडोरको २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा टावर निर्माणको वैकल्पिक मार्गबारे अध्ययन शुरु गरिएको छ । स्थानीयवासीले टावर निर्माणमा अवरोध पु¥याएपछि सम्भावित टावर निर्माणको वैकल्पिक स्थानमा अध्ययन शुरु गरिएको हो । 
 
अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालका अनुसार आयोजना र प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका तर्फबाट १० जनाको टोली बनाएर पोखरेबगर र रातोपानी क्षेत्रमा टावर निर्माण, प्रसारण लाइनका लागि वैकल्पिक मार्गको अध्ययन थालिएकोे बताए । वडाध्यक्ष बरुवालका अनुसार पोखरेबगरमा प्रस्तावित ठाउँमा टावर निर्माण गर्दा पाँच घरपरिवार विस्थापित हुनाका साथै गाउँपालिकाको भवन निर्माणस्थल र शिव मन्दिरसमेत प्रत्यक्षरूपमा प्रभावित हुने भएकाले वैकल्पिक ठाउँबाट लाइन लैजाने गरी विकल्प खोजी गरीएको बताए । 
 
प्रसारण लाइनमा अवरोध सिर्जना भएपछि प्रजिअ ज्ञाननाथ ढकालको अध्यक्षतामा बसेको आयोजना प्रभावित स्थानीय, जनप्रतिनिधि, आयोजना, एशियाली विकास बैंक र परियोजना सुपरीवेक्षण परामर्शदाताका प्रतिनिधिहरुबीच भएको छलफलमा स्थानीयवासीको मागअनुसार टावर र प्रसारण लाइनको नक्सा परिवर्तन गर्न आर्थिक, प्राविधिक, सामाजिक र वातावरणीय हिसाबले सम्भव भए÷नभएको विषयमा स्थलगत अध्ययन गर्न सहमति भएअनुसारको अध्ययनको काम शुरु भएको हो । नयाँ वैकल्पिक मार्गको अध्ययन गरी टावर ४१ ‘ए’ देखि ४३ सम्मकोे मार्गमा वैकल्पिक अथवा प्रस्तावित कुन मार्ग उपयुक्त हुने भन्ने निक्र्योल हुने बताइएको छ । 
म्याग्दी र मुस्ताङमा उत्पादित विद्युतलाई राष्ट्रिय प्रसारणमा जोड्न निर्माणाधीन यस क्षेत्रको जलविद्युत विकासको प्रमुख आधार मानिएको प्रसारण लाइन निर्माणका क्रममा पोखरेबगर र रातोपानीमा स्थानीयवासीको अवरोधका कारण टावर निर्माण कार्य रोकिएको हो । २०१८ को नोभेम्बरमा नै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको टावर, सबस्टेशन निर्माण र तार तान्ने कामले गति लिए पनि स्थानीयवासीको अवरोधका कारण निर्माण कार्य एक वर्षभन्दा बढी समय पछि धकेलिएको छ । 
दानादेखि खुर्कोटसम्मको ३९ किलोमिटर दूरीमा रहेका ११० वटा टावरमध्ये १०३ टावर निर्माण भइसकेको छ । 
आयोजनाका प्रमुख चन्दन कुमार घोषका अनुसार टावर निर्माण भएको धेरैजसो ठाउँमा तार तान्ने काम समेत भइरहेको भए पनि म्याग्दीको पोखरेबगर क्षेत्रमा ६ र पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा १ टावर निर्माण शुरु हुन नसकेको बताए । 

प्रतिक्रिया