भर्खरै

रसीयालाई ऊर्जा क्षेत्रमा लगानी गर्न मन्त्री पुनको आग्रह

  • प्रकाशित मिति : Wed-11-Sep-2019
  • - Admin
title

 
काठमाण्डौ, भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा तथा जलविद्युत क्षेत्रमा लगानीका लागि रसियालाई आग्रह गरेका छन् । शुक्रबार रसियाका राजदूत एलेक्सिइ ए नोभिकोभ र मन्त्री पुन बीच भएको शिष्टाचार  भेटमा मन्त्री पुनले  ऊर्जा क्षेत्रमा लगानी गर्न रसयिालाई आग्रह गरेका हुन् । नेपालको विकास निर्माण तथा भौतिक पूर्वाधारमा रसिया सरकारले विगतमा गरेको सहयोगको स्मरण गर्दै मन्त्री पुनले दुई देशबीचको मैत्रीसम्बन्ध जनस्तरसम्म फैलिएर थप प्रगाढ बनेको समेत स्मरण गरे । 
भेटवार्तामा द्विपक्षीय हितका साथै ऊर्जा र जलस्रोत क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ । रसियाले विगतमा पनि पनौती जलविद्युत आयोजना, पूर्वपश्चिम राजमार्ग र पूर्वाधार निर्माणमा सहयोग गरेको नेपाली जनताले सम्झिरहेको भन्दै उनले आगामी दिनमा सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे । जलविद्युत क्षेत्र सरकारको समेत उच्च प्राथमिकतामा रहेकोले १०० मेगावाटभन्दा माथिको परियोजनाको विद्युत खरीद सम्झौता पनि सरकारले अमेरिकी डलरमा गर्ने निर्णय गरेको बताउँदै नेपालमा लगानीमैत्री वातावरण बनेको  बताए । मन्त्री पुनले जलविद्युतको क्षेत्रमा लगानीको राम्रो वातावरण रहेको भन्दै रसियन लगानीकर्तालाई सन्देश प्रवाह गरिदिन राजदूतसँग आग्रह गरेका छन् । जवाफमा राजदूत नोभिकोभले ऊर्जा क्षेत्रमा सहकार्य गर्न रसिया ईच्छुक रहेको भन्दै लगानीको लागि वातावरण बनाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रतिक्रिया