भर्खरै

गाउँमा बिजुली पुग्दा खुशियाली

  • प्रकाशित मिति : Wed-11-Sep-2019
  • -
title

कावासोती,भदौं । पहिलोपटक राष्ट्रिय प्रसारणको विद्युत् पुग्दा नवलपुरको पहाडी क्षेत्र द्वारीका स्थानीयवासी खुशी भएका छन् । नगरपालिकाकै वडा भए पनि अझैसम्म विद्युत् नपुग्दा यहाँका स्थानीयवासी टुकीको भरमा बस्नुपर्ने बाध्यता रहेको थियो । मध्यबिन्दु नगरपालिका–१४ मा पर्ने द्वारीलगायतका क्षेत्रमा राष्ट्रिय प्रसारणको विद्युत् पहिलोपटक पुगेको हो । पहिलोपटक गाउँमा बिजुली आएको अवसरमा स्थानीयवासीले बाजागाजासहित खुशीयाली मनाएका थिए ।
  
“विद्युत् नहुँदा धेरै समस्या थियो, अन्धकारमा जीवन गुजार्दै आएका थियौँ”, द्वारीका खेमबहादुर सुनारले भने, “बिजुली बलेपछि गाउँनै झलमल भएको छ, सबैमा खुशियाली छाएको छ ।” बिजुली आएसँगै विद्युतीय काम गर्न धेरै सहज हुने सुनारले बताए । विद्युत् नभएकै कारण टेलिभिजन हेर्न नपाउने, अन्य विद्युतीय काम गर्नसमेत नसकिनेजस्ता समस्या रहेकामा अब भने सहज हुने उनको भनाइ थियो ।
  
द्वारी, सारुडाँडा, डम्फघेरालगायतका गाउँका १२० घर विद्युत् सेवाबाट लाभान्वित भएका छन् । स्थानीय, प्रदेश र सङ्घीय  सरकारको गरेर रु ९५ लाखको लागतमा यस क्षेत्रमा विद्युतीकरण गरिएको मध्यबिन्दु नगरपालिका–१४ का वडाध्यक्ष मीनबहादुर दर्लामी मगरले बताए ।
 
मध्यबिन्दु–१४ अन्तर्गत पर्ने  साविक मैनाघाट गाविसको भेडाबारी, पोखरडाँडा, छप्रादीका १५० घरमा आर्थिक वर्ष  २०७४÷७५ मा बिजुली बाल्न सफल भएको भए पनि, साविक राकाँचुली गाविसको द्वारी, सारुडाँडा र डम्फघेरामा लामो समयको प्रयासपछि विद्युतीकरण गर्न सफल भएको वडाध्यक्ष मगरले बताए ।
 
गण्डकी प्रदेश सरकारले लिएको ‘उज्यालो गण्डकी प्रदेश’ भन्ने नीतिअनुरूप अहिले नवलपुरका पहाडी क्षेत्रमा विद्युतीकरणको काम धमाधम भइरहेको नेपाल विद्युत् प्राधिकरण कावासोती वितरण केन्द्रका प्रमुख राजीवकुमार शर्माले बता्ए ।
 
नवलपुरका पहाडी क्षेत्रअन्तर्गत बुलिङटार गाउँपालिकामा अझै विद्युत् पुग्न सकेको छैन । यस्तै पहाडी क्षेत्रका धेरै बस्तीमा समेत विद्युत् पुग्न बाँकी रहेको छ । सबै क्षेत्रमा विद्युत् पु¥याउने गरी अहिले कार्य सञ्चालन भइरहेको प्रमुख शर्माले बताए । पहाडी क्षेत्रमा विद्युतीकरणका लागि बोझापोखरीमा निर्माण गर्न लागिएको सवस्टेशन निर्माणको काम लामो समयसम्म स्थगित भएकामा अहिले यसको निर्माणको कामसमेत धमाधम चलिरहेको उहाँले बताउनुभयो । चाँडै सवस्टेशन निर्माणको काम सकेर जिल्लाका पहाडी क्षेत्रमा विद्युतीकरण गर्ने योजना रहेको प्रमुख शर्माले बताए  । रासस

प्रतिक्रिया