भर्खरै

मुलुकको मार्गदर्शन :यथार्थ र गम्भीरयता

  • प्रकाशित मिति : Wed-25-Sep-2019
  • - राम प्रसाद पौडेल
title

नेपाल देशलाई  विस्तारवादीहरुको पन्जाबाट जोगाउन सफल अग्रज पू्र्खाहरुलाइ आम नागरिकले नमन गरिरहेका छन,गरिरहने छन र एक थोपा रगत बगुन्जेल गरिरहने छन् । नेपालको भूगोल ,नेपाली जनसंख्या र तत्कालीन दुरदर्शितापुर्ण शासकहरु र आम नागरिकको सदिच्छाले नेपाल वास्तवमा नै परचक्रीहरु बाट शासित हुनु परेन । भौगोलिक जटिलता ,आधुनिक सभ्य   समाजको निर्माण नभएको अवस्थामा ,वैज्ञानिक उपकरणको प्रयोग विहिन  अवस्थामा आफ्नो बुद्धि विवेक र भएको स्रोत साधनलाई परिचालन गरी नेपाल र नेपालीको शिर विश्व सामु ठाडो पारेको सत्य त हामी वीर नेपालीका सन्ततिहरुले बिर्सनु हुँदैन । बरु प्रेरणाका साथ आफ्नो पू्र्खाले बचाएको सान,धर्म ,सँस्कृति र परम्परालाई जगेर्ना गर्नुपर्ने बखत आइसकेको छ । आम चासो अब यता तर्फ पनि केन्द्रित गर्नुपर्ने वर्तमानको अति आवश्यकीय आवश्यकता  हो ।
हाम्रो जस्तो सानो मुलुकमा संघीयताको अभ्यास थाल्नु,संघीयताले पार्ने दुरगामी असरका नकारात्मक पाटा , सकारात्मक पाटाका विषयमा जनताको अभिमत नलिई व्यापक छलफल नगरी ल्याइएकोले विस्तारै विकृती विसंगतिहरु देखा पर्न थालेका छन  भन्दा अतियुक्ती हुने छैन । जनता तीन लेयरको कर तिर्न बाध्य छन । संघीयता त्यसको लागि थियो ? निजि क्षेत्र आफ्नो व्यवसायबाट पलायन हँुदै गहिरहेको छ । लोकतान्त्रिक गणतन्त्र भएको मुलुकमा जनताहरु निराश बन्दै  जानू,उद्योग ,व्यापार  फस्टाउन नसक्नु,गरिब दिन प्रतिदिन गरिब हुँदै जानू, धर्म ,सँस्कृति माथि धावा बोलिनु ,पश्चिमा सँस्कृतिको बोलबाला बढ्दै जानू मुलुकका लागि सकारात्मक कुरो होइन ।
वरिष्ठ बाम नेता चित्र बहादुर के.सी ज्युले किन संघीयता को विरोध गरे ? पाका राजनितीज्ञ के.सी को आवाज अब विस्तारै उठन थालेको छ । संघीयता कुन कुन मुलुकमा छन् ? र कति सफल छन ? कति असफल भए ? यो विषयमा छलफल गर्नुपर्ने बखत आइसकेको छ । मानव श्रीजित यो संघीयता विश्वमा तीन प्रकारको मान्यता अनुसार अवलम्बन गरिएको भेटिन्छ । पहिलो    विभिन्न नाममा  छरिएर रहेका भूगोल (राज्य ) लाई एकिकृत गरी बलियो राज्य निर्माणका लागि, विखण्डन तर्फ उन्मुख राज्यलाई जोगाउन र उपनिवेशबाट मुक्त हुन ।
नाइजेरिया ,इथोपिया,सोमालिया,रुवाणडा ,सुडान,बुरुणडी ,कङो जस्ता मुलुकहरू संघीयतामा गएर थला परेको अवस्थामा छन् । जहाँ जातिय राज्यको अवधारणा र बाह्य शक्तिको फुटाउ अनि राज गरेको सिद्धान्तले अभिप्रेरित गरेको पाइन्छ ।
अमेरिका,स्वीजल्याण्ड, अष्ट्रेलिया, जर्मनी ,रसिया, मलेसिया ,मजबुत र थप शसक्त हुन सघीयतामा गएको र मजबुत भएर सबल भएको हो ।
यस्तै धेरै  मुलुकहरू संघीयतामा गएका छन् । जुन मुलुक  आफ्नो  आवश्यकताले संघीयतामा गएका छन् ती सफल र सबल पनि छन् । तर बाह्य मुलुकले लादि दिएको संघीयता असफल र टुक्राटुक्रा मा परिणत भएको तितो यथार्थ  विश्व माझ छर्लङ्ग  छ । हाम्रो मुलुक संघीयतामा गएर कस्तो गतिमा हिड्ने कोसिस गर्दै छ ? गाउँ–गाउँमा सिंहदरबार मात्र होइन छोटे महाराज  पनि पुगेका छन् । मोटर गाडी धुँलो उडाउँदै जयजयकार मनाउन लगाउने क्रम बढेको छ ।
जनताका बोल्ने लेख्ने हकहरुमा विस्तारै अङ्कुश लाग्दै गईरहेको छ । छोटे महाराजहरुको नकारात्मक क्रियाकलापको विरोधमा बोल्यो भने एउटा सिफारिस समेत नपाउने परिस्थितिको सिर्जना हुँदै गईरहेको तितो यथार्थ  हाम्रो माझ विधमान रहिरहेको छ । समयमा नै चेतना आउनु पर्यो । एकताको सुत्रमा बाँध्ने मन्त्र खोज्नु पर्यो । धर्म ,सँस्कृति र परम्पराको जगेर्ना गर्ने सत्मार्ग तर्फ मुलुक  अगाडि बढनु पर्यो । व्यवस्था फेरेर मात्र  हुन्न । व्यवस्थाको सरल र सकारात्मक मार्गबाट मुलुकलाई  निकास दिन सक्नुपर्दछ ।
जन चाहना र मुलुकको आवश्यकतालाई सम्बोधन गर्न नसके विस्तारै असन्तुष्टि आवाजहरु दन्कन सक्नेछन् । त्यो दन्केको आवाज रोक्न कठिन हुन सक्छ । तसर्थ हामी शान्ति र सहमतिबाट मुलुकको यथार्थलाई सम्बोधन गर्नुपर्ने बखत आउन लागेको जस्तो देखिन्छ ।
गाउँ–गाउँमा पुगेको सिंहदरबारले श्री ३ हरु लाई पनि जन्माएको छ । विद्यालय र शिक्षकहरु हुकुमी प्रवृति बढीरहेको तितो यथार्थ हाम्रो माझ विधमान छ । आनो गुट बाहेक आनो पार्टीको अरु गुट देखि अन्य राजनीतिक दलसँग आस्था राख्ने देखि अन्य नागरिकहरु प्रताडित भएको यथार्थ प्राय स्थानीय सिंहदरबारबाट भएको विषयलाई कसले नियमन गर्ने? जनताका निश्चित अधिकार सुनिश्चित गर्न नसक्दा संघीयता माथी प्रश्न उठेको अवस्था छ । गाउँ बस्ती र शहरहरुमा जनता गणतन्त्रमा भोकै बस्नुपर्ने अवस्था आउने छैन । नाङ्गै बस्नुपर्ने अवस्था आउने छैन । रिनको बोझले थिचिएर मुग्लान पस्नु पर्ने छैन । गाँस,बाँस र कपास को ग्यारेन्टी हुनेछ । भन्ने सोचाइ राख्ने आम नागरिकहरु किन निराश हुँदै गईरहेको छन ? यस्ता प्रश्नहरु उठन थालेको छ । मुलुक लाई असफल बनाउन खोज्नेहरु, सरकार लाई  असफल बनाउन खोज्ने हरु ले ब्यवस्था नै असफल बनाउने हुन कि? भन्ने गम्भीर आशंका उब्जिन थालेको छ ।व्यवस्था असफल भयो भने के गर्ने ? असन्तुष्ट नेपाली का जायज र यथार्थपरक माग हरु सम्बोधन हुनु पर्छ । यो मुलुक सबै नेपालिको हो।सबै नेपाली ले अपनत्व महशुस  गर्ने वातावरण बनाउन ढिलाई गरिनु हुँदैन ।

प्रतिक्रिया