हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गर्न पुनः बोलपत्र आवहन

  • प्रकाशित मिति : Wed-16-Oct-2019
  • - Admin
title

 
काठमाडौँ,असोज । नेपाल विद्युत् प्राधिकरणले कूल २२० केभी क्षमताको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौँडा–भरतपुर खण्ड निर्माणका लागि पुनः अन्र्तराष्ट्रिय बोलपत्र आह्वान गरेको छ । प्राधिकरणले गत बैशाखमा भारतीय निर्माण व्यवसायी कम्पनी आईकम टेल लिमिटेडको कामको प्रगति सन्तोषजक नभएपछि ठेक्का तोडेर बाँकी कामका लागि ठेकेदार छनोट गर्न केही दिन पहिले अन्र्तराष्ट्रिय बोलपत्र आह्वान गरेको हो । 
आयोजनाको काम गर्न इच्छुक कम्पनीलाई आगामी मङ्सिर २ गतेसम्म प्रस्ताव पेश गर्न अन्तिम मिति तोकिएको आयोजना प्रमुख ईश्वरीप्रसाद जैसवालले बताए । उनले भने इच्छुक कम्पनीको प्रस्ताव एक महिनाभित्र मूल्याङ्कन गरी दातृ निकाय विश्व बैंकमा पठाइने छ । 
प्रसारण लाइन निर्माणका लागि प्रााधिकरण र भारतीय कम्पनी आईकम टेलबीच २०६५ को फागुनमा ९६ लाख ३६ हजार अमेरिकी डलर र रु १९ करोड ७३ लाख १५ हजारमा ठेक्का सम्झौता भएको थियो । काम नगरी रणनीतिक महत्वको प्रसारण लाइनको काम अलपत्र पारेपछि प्राधिकरणले ठेक्का तोडी कम्पनीले कार्यसम्पादन जमानतवापत राखेको ३० लाख ५७ लाख अमेरिकी डलर पनि जफत गरेको थियो । यसैगरी प्राधिकरणले काम ढिला गरेवापत करिब १६ लाख डलर विलम्ब जरिवाना पनि लगाउने निर्णय गरेको थियो ।
विश्व बैंकबाट सहमति आएपछि ठेक्का सम्झौता हुने र ठेक्का सम्झौता कार्यान्वयनमा आएको १५ महिनाभित्र कम्पनीले काम गरिसक्नुपर्ने प्राधिकरणले जनाएको छ । कूल ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनमा पर्ने २२६ टावरमध्ये १७३ को जग हालिएको छ भने कूल ११९ वटा खडा गरिनुका साथै १६ किलोमिटर मात्रै तार तानिएको छ । प्रसारण लाइन निर्माणका लागि निजी जग्गा प्राप्ति, वन क्षेत्रको प्रयोगलगायतमा कुनै समस्या नरहेको आयोजनाले जनाएको छ ।
 
प्राधिकरणले काममा सुधार गर्न पटकपटक निर्देशन दिएको थियो तर कम्पनीले निर्देशन पालना नगर्ने, गल्ती नसुधार्ने, निर्माणस्थल छोडी कामलाई अलपत्र पार्ने, पत्रचारको कुनै जवाफ नदिनेलगायतका क्रियाकलाप गरी सम्झौता उल्लङ्घन गरेकाले प्राधिकरणले ठेक्का तोडेको हो । कम्पनीको काम शुरुबाटै सन्तोषजनक थिएन । प्राधिकरणले यसअघि आयोजना अन्तर्गतको भरतपुर–बर्दघाटखण्डको  सेन्ट्रल चाइना पावर ग्रिड (सिसिपिजी)सँगको ठेक्का तोडेको थियो । प्राधिकरणको सिफारिस मा सार्वजनिक खरीद अनुगमन कार्यालयले नेपालको ठेक्कापट्टामा तीन वर्षसम्म भाग लिन नपाउने गरी सिसिपिजीलाई कालासूचीमा राख्ने निर्णय गरिसकेको छ ।
 
आयोजनाअन्तर्गतको भरतपुर–बर्दघाट निर्माणका लागि नयाँ बोलपत्र गरी चिनियाँ कम्पनी हेङटन अप्टिक्स इलेक्ट्रिकसँग २०७५ साउनमा ५५ लाख ७५ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । चितवनको भरतपुरदेखि नवलपरासीको बर्दघाटसम्मको २२० केभी प्रसारण लाइनको पनि निर्माण धमाधम भइरहेको छ । कूल २४६ टावरमध्ये १८० को जग हालिएको छ भने १५१ खडा गरिएको छ । निर्माण २०७६को माघभित्रमा सक्ने लक्ष्य राखिएको छ ।
नेपालभित्रको प्रसारण लाइन सुदृढ तथा विश्वसनीय बनाउन र पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि हेटाँैडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको निर्माण गर्न लागिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण कर्जामा आयोजनाको निर्माण भइरहेको छ ।

प्रतिक्रिया