सुकुटे बस दुर्घटनामा मृत्यु हुने १३
- प्रकाशित मिति : Sun-03-Nov-2019
- - Admin

मेलम्ची, १७ कात्तिक । अरनिको राजमार्ग अन्तर्गत सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । मुडे देउरालीबाट काठमाडौँका लागि छुटेको वा२ख ७२४५ नंको यात्रुवाहक बस सुनकोशी नदीमा खसेको हो । दश जनाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको स्थानीयवासी ढकप्रसाद तिमिल्सनाले जानकारी दिए । उनका अनुसार केही शव खोलाले बगाएको छ ।
दुर्घटनाग्रस्त बस सुनकोशी खोलामा डुबेको छ । बसमा ४० भन्दा बढी सवार थिए । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार दुर्घटना ठूलो भएकाले क्षति बढ्न सक्नेछ । अहिले उद्धार जारी रहेको जानकारी दिए।
घाइतेलाई सिन्धु सहाबहार अस्पताल तथा गम्भीर घाइतेलाई काठमाडौँ लगिएको सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक भूपाल खत्रीले जानकारी दिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।