भर्खरै

नेपालमा सौर्य ऊर्जाको सम्भावना

  • प्रकाशित मिति : Wed-06-Nov-2019
  • - रुपा तुलाधर
title

विश्वमै हरित ऊर्जाको रूपमा सौर्य ऊर्जालाई लिइने गरेको छ ।  सौर्य ऊर्जाको विकास गर्ने प्रचलन बढ्दै छ भने लागत पनि सस्तो हुँदै गएको छ । सौर्य ऊर्जा उत्पादन छोटो समयमा नै गर्न सकिने हुँदा यसको प्रचलन बढ्दै गएको हो । नेपालमा जलविद्युत मात्र होइन सौर्य ऊर्जाको पनि उत्तिकै सम्भावना रहेको छ । सौर्य ऊर्जा सरल र सस्तो पर्ने हुँदा यस प्रति उपभोक्ताहरुको चासो बढ्दै गएको छ । नेपालमा सौर्य ऊर्जा उत्पादन गर्ने क्रम बढ्दो छ ।
नेपालमा सौर्य ऊर्जा विशेष गरी फोटो भोल्टेक प्रविधिबाट उत्पादन गरीन्छ । नेपालमा करिव ३० वर्ष यता देखि सौर्य ऊर्जा उत्पादन हुन थालेको हो । हाल सम्म नेपालमा ६० मेगावाट भन्दा बढी सौर्य ऊर्जा उत्पादन भइसकेको छ । नेपालका सबै जसो क्षेत्रमा जलविद्युतको पहुँच पुगेको छैन । जलविद्युत नपुगेको स्थानमा सौर्य ऊर्जा उपयुक्त हुने हुँदा यसको प्रयोग बढ्दै गएको हो ।  नेपालमा हाल सौर्य ऊर्जा उपभोक्ताको संख्या करिब ११ लाख  रहेको छ । 
सौर्य ऊर्जाको पहुँच देशभरका ७७ वटा जिल्लाका ७ सय ५३ स्थानीय निकायका जनतामा पुगेको छ । नेपालमा हाल सम्म भएको विद्युतीकरणको १८ प्रतिशत नवीकरणीय ऊर्जा प्रविधिबाट जनतामा विद्युतको पहुँच पुगेको छ । जस मध्ये ८ प्रतिशत जति जनतामा विद्युतको पहुँच सौर्य ऊर्जा प्रविधिबाट पुगेको छ भने करिब १२ हजारले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी पाएका छन् । नेपालको भौगौलिक अवस्था अनुसार सौर्य ऊर्जा वैकल्पिक ऊर्जाको प्रमुख स्रोत हो । ऊर्जाको पहुँच नपुगेको स्थानमा सौर्य ऊर्जा उपयुक्त र भरपर्दो ऊर्जाको स्रोत हो । नविकरणिय ऊर्जाका स्रोतहरु मध्ये सौर्य ऊर्जा सरल सस्तो भरपर्दो ऊर्जा स्रोत हो । 
सौर्य ऊर्जाका लागि विशेष गरेर अफ ग्रिड र अन ग्रिड दुईवटा क्षत्रका लागि फरक–फरक काम गर्नुपर्ने हुन्छ । केन्द्रीय प्रसारण लाइन पुर्याउन नसकिने र अन्य माध्यमबाट विद्युतीकरण गर्नका लागि समस्या रहेको क्षेत्रमा  अफ ग्रिड सौर्य ऊर्जा उपयुक्त हुन्छ ।  दुर्गम क्षेत्रका मानिसहरूका लागि अन ग्रिड सौर्य ऊर्जा उपयुक्त हुन्छ । त्यसैगरी शहरी क्षेत्रमा अन ग्रिड प्रणालीलाई प्रवद्र्धन गर्नका लागि प्रत्येक घरको छत छतमा सौर्य पाता जडान गरेर त्यसलाई नेसनल ग्रिडमा जडान गर्न सकिन्छ । यसका लागि सरकारले सहज कार्यविधि बनाइदिनुपर्छ । 
नेपालमा सौर्य ऊर्जा जडानको क्षमता बारे खासै अध्यनन भएको छैन । नेपालबाट कति मेगावट सौर्य ऊर्जा उत्पादन गर्न सकिन्छ भन्ने यकिन तथ्याङ्क छैन । सौर्य ऊर्जाको सम्भावना बारे अध्ययन गर्नु आवश्यक छ । सौर्य ऊर्जा जलविद्युत भन्दा सस्तो पर्ने, छोटो समयमा नै उत्पादन गर्न सकिने हुँदा सौर्य ऊर्जालाई प्राथमिकता दिन जरुरी छ ।    
उपभोक्तालाई सौर्य ऊर्जामा आकर्षण गर्नका लागि सरकारले केही वर्षका लागि नगद अनुदानको व्यवस्था गर्नुपर्छ । त्यस्तै उद्योग तथा कलकारखानाहरूले सौर्य ऊर्जा जडान गरेमा निश्चित कर छुट गरेर पनि तिनीहरूलाई आकर्षण गर्न सकिन्छ । बैंकबाट ऋण सहजै पाउने तथा ब्याजदरमा सहुलियत दिने व्यवस्था गर्नु पर्दछ । सोलार चार्ज कन्टोलर, सोलारमा प्रयोग हुने एलईडी बत्तीहरू तथा सोलार इन्भर्टरलाई भन्सार तथा मूल्य अभिवृद्धि कर छुट दिनुपर्छ । सौर्य ऊर्जालाई सरकारले प्राथमिता दिने हो भने देशभर विद्युतको पहुँच पुग्नुका साथै देशको आर्थिक विकासमा समेत टेवा पुग्ने देखिन्छ ।  
नेपालमा विशेष गरी रुफटफ सोलार प्रविधि उपयुक्त देखिन्छ । रुफटप सोलार भनेको भवनको छत छतमा सौर्य ऊर्जा जडान गर्ने र त्यसलाई नेटमिटरिङमार्फत ग्रिडमा जोड्ने हो । यसका लागि उपभोक्ताले विशेष किसिमको मिटर जडान गर्नुपर्छ तर अहिले त्यस्तो मिटर उपलव्ध नभएकाले हाल प्रयोग गर्दै आएको नर्मल किसिमको २ वटा मिटर जोड्न सकिन्छ ।  रुफटप सोलारलाई नेटमिटिरिङ गर्ने हो भने ब्याट्रीको आवश्यकता पर्दैन । दिनभरि सौर्य प्यानलबाट उत्पादित बिजुली विद्युत प्राधिकरणलाई दिने र रातमा आफरलाई चाहिएको बेलामा विद्युत प्राधिकरणबाट आयात गर्न सकिन्छ । नेटमिटरिङमा आफूले जुन मूल्यमा खरिद गर्ने हो सोही मूल्यमा बिक्री पनि गरिन्छ । त्यसकारण उपभोक्तालाई फाईदा हुन्छ । रुफटप सोलारको अर्को फाइदा भनेको अहिले हाम्रो ग्रिडमा जडान गरेमा भोल्टेज तल माथि हुने समस्या जसले गर्दा कतिपय उपकरणहरू नचल्ने, पड्किने जस्ता समस्या हुन्छ, तर रुफटप ग्रिडमा जोड्दा भोल्टेज वृद्धि हुन्छ जसले गर्दा ग्रिडको गुणस्तर राम्रो हुन्छ । तसर्थ सौर्य ऊर्जालाई सरकारले प्राथमिकता दिनु पर्दछ । 

प्रतिक्रिया