भर्खरै

१९ महिना सम्ममा पनि बन्न सकेन सोलार प्लान्ट

  • प्रकाशित मिति : Wed-13-Nov-2019
  • - Admin
title

 
काठमाण्डौ, कात्तिक ।  नुवाकोटमा बनाउने भनेको २५ मेगावाट क्षमताको सोलार प्लान्ट शिलान्यास भएको १९ महिना सम्म पनि निर्माण हुन सकेको छैन । ९ महिना भित्र सम्पन्न गर्ने लक्ष्यका साथ २०७५ वैशाख १४ मा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुले शिलान्यास गरेको सो प्लान्ट अहिले सम्म निर्माण सम्पन्न हुन नसकेको हो ।
सोलार प्लान्ट ९महिनामा नै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको भएपनि निर्माण गति सुस्त भएको छ ।   यसलाई नौ महिनामा सक्ने लक्ष्य राखिएको थियो। २५ मेगावाटको डेभलपमेन्ट अफ ग्रिड सोलार फार्म नुवाकोटको निर्माणको गति भने अत्यन्तै सुस्त छ ।आयोजनाको साइट क्लियर समेत हुन सकेको छैन। ग्रिड सोलार एन्ड इनर्जी इफिसियन्सी प्रोजेक्ट को– अर्डिनेटर नुतनदेव भट्टराईले मुद्दा–मामिला र समयमै साइट क्लियर हुन नसक्दा यो सोलार प्लान्टको निर्माण समयमा सम्पन्न हुन नसकेको बताए । 
उनका अनुसार  करिब सय रोपनी क्षेत्रफलको अझै साइट क्लियर हुन बाँकी रहेको बताए । आयोजनाका अनुसार अहिलेसम्म १० प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।  आयोजनाको ठेक्का सन् २०१७ मा  राइजिन इनर्फीले पाएको थियो ।
आयोजना नौ महिनामा सम्पन्न भइसक्नुपर्नेमा १९ महिना बित्दा साइट क्लियर पनि भएको छैन । कोर्डिनेटर भट्टराईले ठेकेदार कम्पनीको आलटाल र प्राविधिक समस्या लगायत कारणले आयोजनाले अपेक्षाकृत रुपमा गति लिन नसकेको बताए । अहिले आयोजनाको क्वार्टर लगायत संरचना तयार भइसकेको र अबको एक वर्षभित्र २५ मेगावाटको सोलार प्लान्ट निर्माण सम्पन्न गर्ने लक्ष्यसहित धमाधम काम हुने बताए । को–अर्डिनेटर भट्टराईले २५ मेगावाटको सोलार प्लान्ट निर्माण भएसँगै नेपालको बिजुलीमा विविधता भित्रिने बताए । अहिले अधिंकाश जलविद्युतमा मात्रै आधारित छन् सौर्य 
ऊर्जाले बिजुलीमा नयाँ विविधता मात्रै थप्दैन, दिउँसोको समयमा बिजुलीको लोड व्यवस्थापनमा पनि उत्तिकै सहयोग पु¥याउने उनले बताए । सौर्य प्लान्ट सञ्चालनमा आएसँगै अर्धजलाशययुक्त आयोजनाको जलविद्युत आयोजनामा पानी संकलन गरेर पिक आवरमा उत्पादन गर्न सकिनेछ । उक्त आयोजना 
विश्वबैंकको ३८ मिलियन अमेरिकन डलर सहुलियत ऋणमा निर्माण गर्न लागिएको हो । 
आयोजना इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्सट्रक्सन (इपिसी) मोडलमा निर्माण गर्न लागिएको थियो ।  आयोजना प्रमुख विकास रघुवंशीले सोलार प्लान्टको डिजाइन र स्वीकृतिमा ढिलासुस्ती भएकाले निर्माणले गति लिन नसकेको बताए । आयोजना प्रमुख रघुवंशीले आयोजनाको ६ मध्ये तीनवटा साइट क्लियर भइसकेको दाबी गरे । 

प्रतिक्रिया