प्रम ओलीले स्वीच थिचेर उद्घाटन गर्दै माथिल्लो त्रिशूली– ३ ‘ए’, वर्षको ५ अर्ब आम्दानी

  • प्रकाशित मिति : Sun-17-Nov-2019
  • -
title

काठमाडौं । नुवाकोटमा निर्माण भएको ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । 
प्रम ओलीले सोमबार (मंसिर २ गते) किस्पाङ गाउँपालिका, ५ सिम्लेस्थित ११ बजे विद्युतगृहको काठमाडौंबाटै स्वीच थिचेर उद्घाटन गर्ने कार्यक्रम छ ।
 प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण काठमाडौंबाट स्वीच थिच्ने कार्यक्रम रहेको बताइएको छ । उद्घाटनका लागि आयोजनास्थलमा भव्य तयारी गरिएको छ । उद्घाटन कार्यक्रममा अर्थ मन्त्री युवराज खतिवडा तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन उपस्थित हुने आयोजनाले जानकारी दिएको छ । 
यसैगरी, कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष तथा सदस्य, प्रदेश ३ का प्रमुख तथा मुख्य मन्त्री तथा जिल्लाका पूर्वमन्त्रीहरूलाई पनि आमन्त्रण गरिएको छ । गत जेठ २ गते आयोजनाको पहिलो युनिटबाट विद्युत उत्पादन सुरु गरिएको थियो । २६ दिन विद्युतगृह बन्द गरी बाँकी काम पूरा गरेर असार १२ गतेदेखि पहिलो युनिटबाट निरन्तर विद्युत उत्पादन भइरहेको छ । विद्युतगृहको दोस्रो युनिट गत साउन १८ गतेबाट सञ्चालनमा आएको थियो । आयोजनाबाट वर्षको ९ महिना पूर्ण क्षमतामा विद्युत उत्पादन हुनेछ । जडित क्षमताको वार्षिक ७० प्रतिशत विद्युत उत्पादन गर्ने आयोजनाको आकर्षक पक्ष हो । जसलाई क्यू७० डिजाइन पनि भनिन्छ । 
आयोजनाबाट हिउँदका ३ महिना पनि ४५ मेगावाट विद्युत उत्पादन हुन्छ । आयोजनाबाट वार्षिक ४९० गिगावाट घन्टा अर्थात् ४९ करोड युनिट विद्युत उत्पादन हुन्छ । प्राधिकरणले चालू वर्षमा बेच्ने औसत दर प्रतियुनिट १०.२३ रुपैयाँका आधारमा विद्युत बिक्रीबाट वार्षिक करिब ५ अर्ब १ करोड २७ लाख रुपैयाँ आम्दानी गर्छ । उत्पादित विद्युत त्रिशूली–काठमाडौं २२० केभी प्रसारण लाइनबाट मातातीर्थ सबस्टेसनमा जोडिएको छ ।
साभार : ऊर्जा खबर

प्रतिक्रिया