घ्याल्चोकमा ५१ लाखको लगानीमा कृषि ज्ञान केन्द्र बन्दै
- प्रकाशित मिति : Wed-27-Nov-2019
- - Admin

गोरखा,मंसिर । गोरखा जिल्लाको गण्डकी गाउँपालिका–७ घ्याल्चोकमा झण्डै ५१ लाखको लगानीमा कृषि ज्ञान केन्द्र निर्माण भईरहेको छ । तरकारी खेती उत्पादनको पकेट क्षेत्र मानिने गोरखाको घ्यालचोकमा चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयले कृषि ज्ञान केन्द्र निर्माण गरेको हो ।
कृषि ज्ञान केन्द्र निर्माणका लागि गत भदौ महिनामा सम्झौता भएको थियो । सम्झौता भएलवित्तै अघि बढेको काम पौष महिनाभित्र सकिने विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. मनराज कोलाक्षपतिले बताए ।
यो झण्डै ११ रोपनी जग्गामा बन्ने छ , उनले भने ज्ञान केन्द्रमा दुई ठूला हल, कार्यालय प्रमुख,अन्य कर्मचारी कक्ष र सामान्य ल्याव रहनेछ । केन्द्रको कम्पाउण्डसहितको गेट पनि बनाउने सम्झौतामा उल्लेख रहेको उनले बताए । ज्ञान केन्द्र निर्माणका लागि गाउँपालिकाले जग्गा उपलब्ध गराएको हो ।
ज्ञान केन्द्रमा एक जना कृषि अधिकृतसहितका करिव ५ जना कर्मचारीहरु रहनेछन् । ज्ञान केन्द्र बन्दै गरेको क्षेत्रमा बिजुली र पानीको समस्या रहेकोले तत्कालै गाउँपालिकाको तर्फबाट व्यवस्थापन गरिने वडा नः ७ का वडाध्यक्ष तुलसी रेग्मीले जानकारी दिए ।
वडा अध्यक्ष रेग्मीले ज्ञान केन्द्र स्थापनापछि तरकारी उत्पादक किसानलाई धेरै सहजता हुने र उत्पादन वृद्धि हुने अपेक्षा रहेको बताए । व्यावसायिक तरकारी उत्पादनमा लागेका किसानले भोग्दै आएका रोग, किराको समाधान तथा बाली लगाउँदा अपनाउनुपर्ने सचेतनाका बारेमा सहज हुने विश्वास विश्वविद्यालयको छ ।