विद्युत खेर जान नदिन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्युतीय चुल्हो प्रवद्र्धन गर्दै

  • प्रकाशित मिति : Wed-11-Dec-2019
  • - Admin
title

 
काठमाण्डौ, मंसिर । विद्युत खेर जान नदिन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले विद्युतीय चुल्हो प्रवद्र्धन अभियान अघि सारेको छ । आगामी वर्षा यामदेखि विद्युत माग भन्दा बढी भएर खेर जाने अवस्था रहेकाले केन्द्रले विद्युतीय चुल्हो प्रवद्र्धन अभियान अघि सारेको हो । 
 
चालू आर्थिक वर्षभित्र थप १ हजार ५ मेगावाट उत्पादनसँगै विद्युत खेर जानसक्ने विद्युत प्राधिकरणको प्रक्षेपण छ भने विद्युतको खपत बढाउन विद्युतीय चुल्हो प्रवद्र्धन तथा विद्युतीय सवारी साधनको प्रवद्र्धनलाई प्राधिकरणले जोड दिँदै आएको छ ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीले अहिले सामुदायिक विद्युतीकरण भएका क्षेत्रहरूका १० सहकारी संस्थामार्फत १० हजार विद्युतीय चुल्हो इन्डक्सनको प्रवद्र्धनको अभियान अघि बढाएको बताए । 
 
केन्द्रले स्थानीय तह, समुदाय, सहकारी र केन्द्रबीचको सहकार्य मार्फत विद्युतीय चुल्हो प्रवद्र्धन अघि बढाउने लक्ष्य राखेको छ । केन्द्रले बैंकहरूबाट समेत सहुलियत ऋण प्राप्तिका लागि छलफल भईरहेको जनाएको छ । केन्द्रका लागि विद्युतीय चुल्हो प्रवद्र्धन लगायतका नवीकरणीय ऊर्जाका प्रविधि प्रवद्र्धनका लागि सरकारले २५ करोड बजेट छुट्याएको छ ।
 
 
आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा अर्थ मन्त्रालयबीच स्रोतबारे भएको छलफलमा समेत विद्युतीय चुल्हो प्रवद्र्धनमा जोड दिइएको थियो । अर्थ मन्त्रालयका अधिकारीहरूले विद्युतीय चुल्होका लागि बजेटको अभाव नहुने छलफलमा बताएका थिए । स्रोतको अभाव नहुने देखिएकोले विद्युतीय चुल्हो प्रवद्र्धन कार्यक्रमलाई विशेष जोड दिइएको कार्यकारी निर्देशक अधिकारीले जानकारी दिए ।
 
विद्युत् खपत बढाउनकै लागि प्राधिकरणले उपभोक्ताले चाहे जति विद्युत् प्रयोग गर्न पाउने गरी हरेक वितरण ट्रान्सफर्मरमा विद्युतको लोड ५० प्रतिशतभन्दा माथि नरहने गरी नयाँ ट्रान्सफर्मर थप्ने र स्तरोन्नति गर्ने योजना अगाडि सारेको छ । इन्डक्सन चुलो र चार्जिङ स्टेशनको लोडलाई धान्ने गरी संरचना बनाउनको लागि लागेको र वितरण लाइन प्रणालीको संरचनागत सुधार पनि समानान्तर रुपमा अगाडि बढाइएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया