भर्खरै

खाना पकाउनको लागि एलपिजि भन्दा इन्डक्सन कुकर सस्तो छ

  • प्रकाशित मिति : Wed-18-Dec-2019
  • - प्रा.डा. जगन्नाथ श्रेष्ठ, ऊर्जा अध्ययन केन्द्र, इन्जिनियरिङ्ग अध्ययन संस्थान, त्रि.वि
title

 
 
मानिसहरु बाँच्नको लागि हावा, पानी र खाना अति आवश्यक छ । हजारौँ वर्ष अगाडि जब मानिसले आगो पत्ता लगाएपछि मात्र पकाउन सुरु गरे । पकाइएको खाना पचाउन सजिलो हुन्छ र यसमा ऊर्जा बढी हुन्छ  । मानव समाजले बाहेक अरु जीवित प्राणीहरुले खाना नपकाउने हुनाले नै यिनीहरु सूर्येदय  देखि सूर्यास्त सम्म मौका मिलेमा खाई रहेका हुन्छन् । 
 
खाना कसरी पाक्छ त नेपालमा ?

नेपालमा करिव ६० प्रतिशत परिवारले दाउरा, गुईठा, आदि पदार्थ प्रयोग गरी खाना पकाउने गरेको विषय सबैलाई विदितै छ । खाना पकाउँदा भन्सामा प्रयोग गरिने दाउरा, गुईठाले हावा प्रदुषित गराई विभिन्न रोगको शिकार हुने गरेका छन् । यसबाट विशेष गरी महिला र बालबालिकाहरु बढी प्रभावित छन् । यस बाहेक यस बाट खैरो बादलहरुको उत्सर्ज भइरहेको छ र यो  वातावरणको लागि राम्रो कुरा होइन  ।
 
केही वर्षअघि सम्म हामीले १८ घण्टा सम्मको लोडसेडिङ्ग सामना गर्नुप¥यो । विभिन्न कारणले कुनै समयमा LPG ग्यास समेत बजारमा पाइएको थिएन । खासगरी शहरी क्षेत्र जस्तै काठमाण्डौ महानगरपालिकामा खाना पकाउन धेरै जसोलाई धौ धौ परेको थियो । 
आज स्थिति  बदलेको छ । लोडसेडिङ्गको अन्त्य भएको छ । LPG ग्यास बजारमा पाइन्छ । केही वर्ष अगाडि सम्म नेपाल सरकार अर्थ मन्त्रालयले प्रकाशित गरेको आर्थिक सर्वेक्षण अनुसार नेपालमा एक दिनमा ७२ हजार LPG सिलिण्डरको खपत हुने गरेको थियो । एक LPG सिलिण्डरको रु १४ सय मूल्य पर्दा दैनिक हामीले रु. १० करोड पनि बढी ग्यासमा खर्च गरिरहेका छौ । नेपालको निर्यात बाट कमाइने रकम भन्दा ३७ प्रतिशत बढी रकम केबुल पेट्रोलियम पदार्थ आयतमा खर्च हुने कहाली लाग्दो कुरा समाजमा जानकारी गराउँन अति जरुरी छ ।
एलपी ग्यास आयातमा मात्र करिव रु ४२ अर्बको खर्च हुन्छ, यसले नेपालको व्यापार घाटामा ठूलो असर पारिरहेको छ । व्यापार घाटालाई घटाउन नेपालमा उपलब्ध ऊर्जाको स्रोतहरु प्रयोग गर्नमा जोड दिनुपर्दछ  । उदाहरणको लागि नेपाल विद्युत प्राधिरकणले उत्पादन गरेको बिजुली खाना पकाउनमा प्रयोग गर्न उपयुक्त देखिन्छ  तर यसका लागि केही  विषयहरुको ख्याल गर्नु पर्दछ । 
 
अब एलपिजि र बिजुलीको प्रयोग गरी इन्डक्सन कुकरमा खाना पकाउँदा कुन सस्तो होला भन्ने पनि सबैमा जिज्ञासा हुनु स्वभाविक हो । साधारणतय इन्डक्सन कुकरमा खाना पकाउँदा  एलपिजिमा खाना पकाउँदा  भन्दा सस्तो पर्दछ तर कति सस्तो हुन्छ, कुन अवस्थामा सस्तो हुन्छ भन्ने कुरा वास्तविक अनुभवको आधारमा गरेर देखाउनु आवश्यक  छ । 
 
 
एलपिजिमा भन्दा  इन्डक्सन कुकरमा खाना पकाउँदा सस्तो पर्दछ भन्ने विषयको अध्ययन भएको छ । ऊर्जा अध्ययन केन्द्र, इन्जिनियरिङ्ग अध्ययन केन्द्र त्रि.वि पुल्चोकमा भएको अध्ययन अनुरुप आधा केजी चामल इन्डक्सन फ्रेन्डली कुकर LPG मा पकाउँदा  र इन्डक्सन कुकरमा पकाउँदा निम्न फरक पाइयो ।
 
 
LPG प्रयोग गरी पकाउँदा ११ मिनेट लाग्यो र LPG ग्यास जम्मा २५ ग्राम खपत भयो । रु १४०० मा १४.२ केजी ग्यासको हिसावले २५ ग्राम LPG को मोल जम्मा २ रुपैयाँ ४६ पैसा पर्न आयो । त्यस्तै इन्डक्सन चुहेमा आधा केजी चामल पकाउँदा करिव ७ मिनेटमा पाक्यो । भने विद्युतीय ऊर्जा १४२ वाट आवर मात्र भएको पाइयो  । रु.१० प्रतियूनिटका हिसावले १४२ वाट आवरको मूलय जम्मा एक रुपैयाँ ४२ पैसा मात्र खर्च भएको पाइयो । यसबाट इन्डक्सन कुकरमा पकाउँदा ४२ प्रतिशत सस्तो हुने पाइयो । यसर्थ LPG भन्दा इन्डक्सन सस्तो पर्न जान्छ । LPG लाई विस्थापन गर्दै इन्डक्सन कुकर प्रयोग गरी देशमा नै उत्पादन  भईरहेको विद्युतीय ऊर्जा प्रयोग गर्न आवश्यक देखिन्छ । यसो गर्दा मूल्यमा मात्र नभई वातावरण समेत सुधार हुनुको साथै अनेक फाइदाहरु पनि हुने देखिन्छन् ।
 
 
 
इन्डक्सन कुकर नेपाली समाजमा प्रचुर मात्रामा प्रयोग गर्नका लागि निम्न कुराहरु हुनु पर्ने देखिन्छ :-
१. इन्डक्सन कुकर भन्सामा प्रयोग गर्नका लागि शिक्षा मूलक कार्यक्रमहरु संचालन गर्नुपर्दछ । 
२. नेपाल विद्युत प्राधिकरणले दिने विद्युतीय ऊर्जा गुणस्तरीय हुनु पर्ने अर्थात्  डिस्ट्रिव्यूसन टान्सर्फमर देखि ग्राहकको घर सम्म २२० भोल्ट प्रयोग हुनु पर्दछ । (१४० भोल्ट भयो भने इन्डक्सन कुकरले काम नर्गन सक्छ ।)
३.प्राधिकरणले विद्युत सप्लाई निरन्तर गर्नु पर्दछ अर्थात् लोडसेडिङ्ग हुनु हुँदैन । 
४. टोल टोलमा भएको डिस्ट्रिव्यूसन ट्रान्सर्फमको क्षमता चाहेको मात्रामा हुनु पर्दछ ।
५. सप्लाई लाइन केही गरी बिग्रिएमा शीघ्र मर्मतको व्यवस्था हुनुपर्दछ । 
६. प्राधिकरणका अधिकांश ग्राहकहरुको घरमा ५ एम्पिएरको सप्लाई जडान भएकोलाई १५ एम्पिएरमा परिर्वतन  पर्दछ ।
७. घरायसी विद्युतीय ऊर्जा अहिलेको प्रचलित मूल्यमा अरु १० प्रतिशत घटाउनु पर्ने, जुन एलपिजिमा दिइने सरकारी अनुदान घटाएर मिलान गर्न सकिन्छ ।
८. अहिले बजारमा पाइने एक मुखे इन्डक्सन कुकर सट्टा गुणस्तरीय दुई मुखे इन्डक्सन कुकर विद्युतीय व्यापारमा लागेका  व्यवसायीहरुले उचित मूल्यमा उपलब्ध गराउनु पर्दछ । 
विद्युतीय खपत बढाउन अब हामी कुरा मात्र नगरौ, गर्न सक्ने काम अविलम्ब गरौँ ।  

प्रतिक्रिया