इलेक्ट्रिसियनहरुको उचित पारिश्रमिक निर्धारण हुनुपर्दछ

  • प्रकाशित मिति : Wed-25-Dec-2019
  • - देवु प्रसाद चौलागाई ,अध्यक्ष, हेटौंडा इलेक्ट्रिसियन संघ
title

 
लामो समय देखि विद्युतीय क्षेत्रमा कार्य गर्दै इलेक्ट्रिसियनहरुको हकहितका लागि कार्य गर्दै  आउनु भएका  हेटौँडा इलेक्ट्रिसियन संघका अध्यक्ष एवं नेपाल विद्युतीय प्राविधिक महासंघका उपाध्यक्ष देवु प्रसाद चौलागाई सँग इलेक्ट्रिसियनहरुको हकहितका लागि संघले गर्दै आएका कार्य, नेपालमा इलेक्ट्रिसियनहरुको अवस्था, इलेक्ट्रिसियनहरुलाई सरकारले दिएको प्राथमिकता लगायत विषयमा विद्युत संसार साप्ताहिकका संवाददाता शिखर श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश :

 
 
इलेक्ट्रिसियनहरुका लागि संघ किन आवश्यक छ ? संघको आवश्यकता र यसको महत्व बारे बताइदिनु होस् न । 

विद्युत जस्तो सम्वेदनशिल क्षेत्रमा काम गर्ने इलेक्ट्रिसियनहरुको संख्या नेपालमा अहिले बढ्दै गएको छ । इलेक्ट्रिसियनहरुको संख्यामा वृद्धि भए पनि दक्ष इलेक्ट्रिसियनहरुको भने नेपालमा कमि रहेको छ । इलेक्ट्रिसियनहरुको दक्षतामा वृद्धि गर्न, इलेक्ट्रिसियनहरुलाई आनो कार्य प्रति मर्यादित बनाउन तथा इलेक्ट्रिसियनहरुको हकहितका लागि संघ आवश्यक छ । 
नेपालमा अहिले ठूला–ठूला संरचना बनिरहेको छ । अन्य क्षेत्रमा काम गर्ने श्रमिकहरुको उचित मूल्याङ्कन भईरहदा इलेक्ट्रिसियनहरुको भने उचित मूल्याङ्कन हुन सकेको छैन । विद्युतीय क्षेत्र संवेदनशील हुँदा हुँदै पनि इलेक्ट्रिसियनहरुको उचित मूल्याङ्कन हुन नसक्नु दुःखको विषय हो । इलेक्ट्रिसियनहरुको हक, अधिकार स्थापित गर्नका लागि, श्रमको उचित मूल्याङ्कनका लागि इलेक्ट्रिसियनहरुलाई एकिकृत बनाउन संघको स्थापना हुन जरुरी छ । 
 
हाल नेपाल विद्युतीय प्राविधिक महासंघ स्थापना भएको छ, महासंघ स्थापना गर्नुको उद्धेश्य  बारे बताइदिनुहोस् न । 

नेपाल विद्युतीय प्राविधिक महासंघ १५ जिल्ला संघको सक्रियतामा स्थापना भएको हो । इलेक्ट्रिसियनहरु देशभर रहेका छन् । देशभरका इलेक्ट्रिसियनहरुले गरेका कार्य, उनिहरुको पारिश्रमिक, इलेक्ट्रिसियनहरुले काम गर्दा प्रयोग गर्ने सामग्री एउटै गराउनका लागि  र इलेक्ट्रिसियनहरुलाई आनो कार्यमा दक्ष बनाउनका लागि हामीले महासंघको स्थापना गरेका हौ । इलेक्ट्रिसियनहरुलाई राज्यले समेत उपेक्षा गरिरहेको अहिलेको अवस्थामा इलेक्ट्रिसियनहरु पनि देश विकासको एउटा पाटो हो, इलेक्ट्रिसियनहरुलाई पनि राज्यले महत्वपूर्ण पक्षका रुपमा लिनुपर्छ भन्ने उद्धेश्यका साथ महासंघको स्थापना भएको छ । 
 
इलेक्ट्रिसियनहरुले उचित पारिश्रमिक पाएका छैनन् भन्ने सुनिन्छ , यसमा तपाई के भन्नु हुन्छ ?

पछिल्लो समय नेपालमा इलेक्ट्रिसियन पेशा उचित आय स्रोत भएको पेशाका रुपमा रहेको छ । यद्यपि इलेक्ट्रिसियन पेशा गर्नका लागि लजाउने गरेको पाइन्छ । विदेशमा गएर हरेक किसिमका काम गर्ने तर स्वदेशमा भने इलेक्ट्रिसियन पेशा गर्न हिचकिचाउने  गर्दछन् । श्रम प्रतिको धारणा कमजोर भएका कारण नेपाली युवाहरु विदेश पलायन भएका छन् । नेपालमा हरेक कामको सम्भावना रहेको छ । इलेक्ट्रिसियनहरुले उचित पारिश्रमिक पाएनन् भन्दा पनि अस्वस्थ प्रतिस्पर्धा बढी रहेको छ । इलेक्ट्रिसियनहरुको उचित पारिश्रमिक निर्धारणका लागि हामी लागि पर्दै आएका छौ । 
 
कतिपय इलेक्ट्रिसियनहरु संघमा आवद्ध नभई काम गर्ने गरेको पाइन्छ, संघमा आवद्ध नभई कार्य गर्दै आएका इलेक्ट्रिसियनहरुलाई तपाई के भन्नु हुन्छ ?

हामीले विभिन्न सञ्चारमाध्यमबाट इलेक्ट्रिसियनहरुलाई आफुले काम गरिरहेको जिल्ला संघमा आवद्ध हुनका लागि आग्रह गर्दै आएका छौ । इलेक्ट्रिसियनहरु संघमा आवद्ध हुँदा इलेक्ट्रिसियनहरुलाई समस्या परेको बेलामा संघमार्फत सहयोग प्रदान गर्दै आएका छौ । नेपालभरका जुनसुकै स्थानमा गएर काम गर्ने नेपाली इलेक्ट्रिसियनहरु जुनसुकै जिल्ला संघबाट सदस्यता लिन पाउछन् । तसर्थ आपूmलाई जुन जिल्ला संघबाट सदस्यता लिन सहज हुन्छ सो जिल्ला संघमा सदस्यता लिन इलेक्ट्रिसियनहरुलाई आग्रह गर्दछु । 
 
इलेक्ट्रिसियनहरु बीच अस्वस्थ प्रतिस्पर्धा छ भन्ने सुनिन्छ नि यसमा के भन्नु हुन्छ ?

काम गर्ने क्रममा इलेक्ट्रिसियनहरु बीच अस्वस्थ प्रतिस्पर्धा  हुने गरेको छ । विशेष गरी छिमेकी मुलुकका इलेक्ट्रिसियनहरुले सस्तो मूल्यमा कामको जिम्मेवारी लिने र यदि काम गर्न नसक्ने देखियो भने काम नै छोडेर जाने प्रवृति देखिएको छ । यस्ता समस्या भोग्ने घरबेटीहरुले भने इलेक्ट्रिसियन संघ छ या छैन भन्ने विषयमा चासो देखाउने र संघमा आवद्ध भएका इलेक्ट्रिसियनहरुबाट नै काम गराउने गरेको छन् । 
संघमा आवद्ध नभएका इलेक्ट्रिसियनहरुले नै बजारमा अस्वस्थ प्रतिस्पर्धा निम्त्याउने गरेका छन् । यसका लागि घर धनी पनि सचेत हुन जरुरी छ । संघमा आवद्ध इलेक्ट्रिसियनहरुबाट मात्र काम गराउन घर धनीहरुलाई आग्रह गर्दछु । 
हामीले संघमा आवद्ध इलेक्ट्रिसियनहरुको क्षमता अभिवृद्धिका लागि समय समयमा तालिम तथा प्रशिक्षण पनि गराउने गरेका छौ । 
 
सेफ्टी फस्ट अवधारणालाई इलेक्ट्रिसियनहरुले कार्यान्वयन गरेको पाइदैन यसका लागि संघ तथा महासंघले कस्तो पहल गर्दै आएको छ ?

इलेक्ट्रिसियनहरुको सुरक्षाका लागि सेफ्टी फस्ट अवधारणा आएको हो । कुनै संघ संस्थाले भने इलेक्ट्रिसियनहरुलाई काम लगाउँदा सुरक्षाका सामग्री लगाएर मात्रै काम लगाउने गरेको पाइन्छ भने धेरै जसो ठाउँमा भने सुरक्षाका सामग्री प्रयोग नगरी काम गर्ने गरेका छन् । काम गर्ने क्रममा हेलमेट,बुट जस्ता सुरक्षाका सामग्री लगाई काम गर्दा अप्ठ्यारो हुने गरेकाले इलेक्ट्रिसियनहरुले सेफ्टी  फस्ट अवधारणा नअपनाउने गरेको पाइएको छ । यद्यपि हामीले सेटी फस्ट अवधारणा इलेक्ट्रिसियनहरुले अपनाउनु पर्छ भन्ने विषयमा आवाज उठाउँदै आएका छौ ।
 
महासंघले आगामी दिनमा कस्ता कार्य गर्नु पर्दछ ?

नेपाल विद्युतीय प्राविधिक महासंघले इलेक्ट्रिसियनहरुको हकहितका लागि विशेष गरी सेटी फस्ट अवधारणालाई कार्यान्वयनमा ल्याउनका लागि पहल गर्नुपर्दछ । इलेक्ट्रिसियनहरुको पारिश्रमिक निर्धारण गर्नुपर्दछ । त्यस्तै विद्युतीय सामग्रीको गुणस्तरका विषयमा पनि विशेष ध्यान दिनुपर्दछ । 

प्रतिक्रिया