भर्खरै

विद्युत् जडित क्षमता १४ सय मेगावाट पुग्यो

  • प्रकाशित मिति : मंगल, जेठ ६, २०७७
  • - विद्युत संसार संवाददाता
title

विद्युत संसार,जेठ,काठमाडौं । देशमा विद्युत् उत्पादन तथा कूल जडित क्षमता करिब १ हजार ४ सय मेगावाट पुगेको छ । सरकार (नेपाल विद्युत प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र) र निजी क्षेत्रको लगानीमा उक्त परिमाण उत्पादन भएको हो ।
 
कूल जडित क्षमतामध्ये १२ सय ६३ मेगावाट जलविद्युत उत्पादन छ । जसमा १२५८.५२२ मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । ४.५३६ मेगावाट ग्रिडमा नजोडिएका साना तथा लघुजलविद्युत् आयोजना छन् । केन्द्रमार्फत निर्माण भएका झन्डै ३० मेगावाटका लघुजलविद्युत् आयोजना पनि सञ्चालनमा छन्, जुन ग्रिडमा जोडिएका छैनन् ।
 
जडित क्षमतामा आधाभन्दा बढी हिस्सा निजी क्षेत्रको छ । जलविद्युत् विकासमा निजी क्षेत्रलाई आह्वान गरेको करिब २८ वर्षमा ६८२.७८६ मेगावाट ९३१.६ मेगावाट परीक्षण उत्पादन सहित उत्पादन भएको छ । अहिले निजी क्षेत्रका करिब २८ सय मेगावाट बढीका आयोजना निर्माणाधीन छन् ।
 
सरकार (प्राधिकरण) ले करिब १ सय ८ वर्षमा ६३५.४४ मेगावाट उत्पादन गरेको छ । यसमध्ये ५ सय ८२ मेगावाट जलविद्युत, ५३.४१ मेगावाट थर्मल (मल्टिफ्युल र डिजेल प्लान्ट) र सय किलोवाट सौर्य विद्युत उत्पादन भएको छ । जलविद्युत् मध्ये पनि ४.५३६ मेगावाट ग्रिड बाहिर छ ।
 
अहिलेसम्म केन्द्रीय प्रसारण प्रणालीमा प्राधिकरणको योगदान करिब ६३० मेगावाट पुगेको छ । लोडसेडिङ अन्त्यपछि प्राधिकरणका हेटौंडा र दुहबीस्थित २ थर्मल प्लान्ट बन्द छन् । दुर्गम क्षेत्रमा निर्माण भएका साना आयोजना प्राधिकरणले निजी क्षेत्रलाई भाडामा सञ्चालन गर्न दिएको छ ।
 
यसैगरी, नवीकरणीय ऊर्जाका स्रोत (सौर्य, वायु, लघुजलविद्युत) बाट ५६.७४ मेगावाट विद्युत् उत्पादन भएको छ । जसमा करिब ५५ मेगावाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छैन । केन्द्रको आर्थिक अनुदान कार्यक्रमअन्तर्गत २३ वर्षमा सौर्य, वायु, लघुजलविद्युत् तथा जैविक ऊर्जाका स्रोतबाट विद्युत् उत्पादन गरी दुर्गम गाउँमा विद्युतीकरण गरिएको छ ।
 
सरकारले भर्खरै जारी गरेको नीति तथा कार्यक्रममा पनि हाल जडित क्षमता १३ सय ८६ मेगावाट पुगेको उल्लेख छ । यो आगामी आवमा ३ हजार मेगावाट पुर्याउने लक्ष्य राखिएको छ । चालू आवमा १ हजार ५ मेगावाट थप्ने लक्ष्य थियो । कोरोनाका कारण लकडाउन भएपछि लक्ष्य अधुरै हुने भएको छ । यो वर्ष साढे ३ सय मेगावाटमात्र ग्रिडमा जोडिने भएको छ ।
ऊर्जा खबर
 

प्रतिक्रिया