भर्खरै

लकडाउन अवधिमा खटिने कमर्चारीलाई ५० प्रतिशतसम्म अतिरिक्त भत्ता

  • प्रकाशित मिति : बिही, जेठ २२, २०७७
  • - धना ढकाल
title

विद्युत संसार,जेठ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लकडाउन अवधिमा विभिन्न भूमिकामा खटिने कर्मचारीलाई खाइपाई आएको तलब भत्ताबाहेक अतिरिक्त भत्ता दिने भएको छ । जेठ ५ गते बसेको प्राधिकरण सञ्चालक समितिको ८३२औं बैठकको निर्णय अनुसार कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमण रोक्न गरिएको लकडाउन अवधिमा खटिने कर्मचारीलाई अतिरिक्त भत्ता दिन लागिएको हो ।
 
कार्यकारी निर्देशक कुलमान घिसिङले सञ्चालक समितिबाट भएको निर्णय कार्यान्वयन गराउन वितरण तथा ग्राहक सेवा निर्देशनालयलाई निर्देशन दिएका छन् । उनले बिहीबार निर्देशनालयलाई निर्णय कार्यान्वयन गर्न लिखित निर्देशन दिएका हुन् ।
 
सञ्चालक समितिको निर्णय अनुसार चैत १० देखि जेठ मसान्तसम्म नो लाइट, मिटर सिकायत र मर्मत सम्भारमा खटिने सबै कर्मचारीले ५० प्रतिशत भत्ता पाउने भएका छन् । उनीहरूलाई खाइपाई आएको तलब भत्ताका अतिरिक्त सुरु तलबको ५० प्रतिशत भत्ता दिने निर्णय भएको प्राधिकरणले जनाएको छ ।
 
यो सुविधा दैनिक ज्यालादारी तथा सेवा करारका कामदारले पनि पाउने छन् । उनीहरूलाई खाइपाइ आएको पारिश्रमिकका अतिरिक्त १३ हजार ४ सय ५० रुपैयाँको ५० प्रतिशत हुन आउने थप भत्ता दिइने भएको छ ।
 
चैत १० गतेदेखि जेठ मसान्तसम्म ग्रिड सबस्टेसनको काममा खटिने मर्मत सम्भार टोलीका स्थायी कर्मचारीलाई पनि खाइपाई आएको तलब भत्ताका अतिरिक्त सुरु तलबको ३० प्रतिशत र दैनिक ज्लादारीलाई न्युनतम पारिश्रमिकको ३० प्रतिशत हुन आउने भत्ता दिइने छ ।
 
यसैगरी, बैशाख र जेठ महिनामा मिटर रिडिङ गर्न तथा विद्युत महसुल संकलन गर्न काउन्टरमा खटिएका स्थायी कर्मचारीलाई अहिले खाइपाई आएको तलब भत्ताका अतिरिक्त अधिकतम सुरु तलबको ३० प्रतिशत र दैनिक ज्यालादारी, गोटा गन्तिमा मिटर रिरिङमा खटिने कर्मचारीलाई सरकारले तोकेको तलबको ३० प्रतिशत अतिरिक्त भक्ता दिने निर्णय कार्यान्वयन गर्न भनिएको छ ।
 
यही अवधिमा प्रसारण तथा वितरण लाइन आयोजना, प्रणाली सञ्चालन विभाग, ग्रिड सबस्टेसन, वितरण सबस्टेसन, जलविद्युत केन्द्रको मर्मत तथा सिफ्ट अनुसार काम गर्ने कर्मचारीले खाइपाइ आएको तलब भत्ताको २० प्रतिशत अतिरिक्त भक्ता पाउने भएका छन् ।
 
लकडाउनले काम नगरी घरमै बसेका दैनिक ज्यालादारी, गोटा गन्तिमा मिटर रिडिङ गर्ने तथा सेवा करारमा लिइएका कर्मचारीलाई चैतदेखि जेठ महिनासम्म न्युनतम मासिक १३ हजार ४ सय ५० रुपैयाँका दरले पारिश्रमिक दिने निर्णय भएको प्राधिकरणले जनाएको छ । लकडाउन अवधिमा अन्य कर्मचारीले नियमित तलब पाउँदा आफुहरूलाई नदिएको दैनिक ज्यालादारी, गोटा गन्तिमा मिटर रिडिङ गर्ने कर्मचारीले गुनासो गर्दै आएका थिए ।
 
लकडाउनमा कार्यालय प्रमुखकको निर्देशन अनुसार उपस्थित भई कार्यसम्पादन गर्ने कामदारको हकमा उनीहरूले गरेको कामको विवरणसहितको व्यहोरा उप–कार्यकारी निर्देशक÷विभागिय प्रमुखले प्रमाणित गरेपछिमात्र प्रोत्साहन भत्ता, थप भत्ता तथा ओभर टाइम भुक्तानी दिने निर्णय भएको छ । प्रमाणित नगरी भुक्तानी दिएमा कार्यालय प्रमुख र लेखा प्रमुख जिम्मेवार हुने प्राधिकरणले जनाएको छ ।
 
यस्तै, लकडाउनका कारण कार्यालयमा उपस्थित हुन नसकेका स्थायी कर्मचारीको हकमा खाइपाई आएको तलब भत्ता ९प्रोत्साहन भत्ताबाहेक० पाउने गरी सार्वजनिक विदा कायम गर्न निर्देशन दिइएको छ । विद्युत अत्यावश्क सेवा भएकाले जोखिम मोलेर काममा खटिने कर्मचारीलाई अतिरिक्त भत्ता दिनुपर्ने तथा कोरोना बीमा गर्नुपर्ने प्राधिकरणमा क्रियाशिल ट्रेड युनियनहरूले आवाज उठाउँदै आएका थिए ।ऊर्जा खबर

प्रतिक्रिया