भर्खरै

लडकडाउनबीच १२ सय आयोजनामा प्रगति

  • प्रकाशित मिति : मंगल, जेठ २७, २०७७
  • - जीवन बस्नेत
title

 
विद्युत संसार,जेठ,काठमाण्डौ । कोभिडको त्रास र जनशक्तिको अभावबीच सबैजसो राष्ट्रिय गौरवका आयोजनाको काम सञ्चालनमा आएको छ । सडक, पुल र रेलसँग सम्बन्धित करिब एक हजार सात सय ५० आयोजना भएकोमा सात सयको हाराहारीमा पुनः सञ्चालनमा आएको सडक विभागको भनाइ । सिँचाइ, खानेपानी, जलविद्युत् र विमानस्थलका परियोजना पनि अघि बढे । 
 
लकडाउनका कारण मुलुकभर पूर्वाधारका तीन हजारभन्दा धेरै आयोजना ठप्प भएका थिए, त्यसमध्ये ४० प्रतिशत पुनः सुरु भएका छन्, राष्ट्रिय गौरवका अधिकांश आयोजना सुचारु भए, विमानस्थल र जलविद्युत् आयोजनाको काम पनि थालियो, तर जनशक्ति ३० प्रतिशत मात्र उपलब्ध, निर्माण सामग्रीसमेत अभाव ।
 
 
सिँचाइका ४५ आयोजनामध्ये ९० प्रतिशत अर्थात् ४१ मा लकडाउनको अवधिमा पनि काम भइरहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले बताए । 
 
करिब तीन हजार मेगावाटका जलविद्युत् आयोजना निर्माण भइरहेकामा ३० प्रतिशत हाराहारी आयोजनामा आंशिक काम भइरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागाईंको भनाइ ।
 
पूर्व–पश्चिम रेलमार्ग
कोभिडको त्रास र जनशक्तिको अभावबीच विकास आयोजनाको काम अघि बढेको छ । मन्त्रालयहरूले आयोजनालाई र आयोजनाले ठेकेदारहरूलाई काम अघि बढाउन निर्देशन दिएपछि औसतमा ३० प्रतिशत मजदुर काममा फर्किएका छन् । लकडाउन खुकुलो हुँदै जाँदा आयोजनाले गति लिने सरकारी अधिकारीहरूको भनाइ छ । 
 
लकडाउनले रोकिएको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण पुनः सुचारु गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाको सूचीमा रहेको नौ सय ४६ किलोमिटर लामो यस आयोजनाको बर्दिबास–निजगढ ९७० किमि० खण्डमा पुनर्निर्माण थालिएको रेल विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिए । अहिले यस खण्डमा पर्ने पुल निर्माणलाई प्राथमिकतामा राखिएको छ । ‘धेरै मेसिनको प्रयोग हुने र थोरै जनशक्तिबाट पनि काम हुने भएकाले यस खण्डमा पर्ने १६ वटा पुल निर्माण पनि तीव्र गतिमा भइरहेको छ,’ उनले भने ।
तर, दैनिक दुई हजारभन्दा बढी कामदारले काम गरिरहेको यो आयोजनामा अहिले पाँच सयको हाराहारीमा मात्र रहेको मिश्रले जानकारी दिए । बर्दिबास–निजगढ खण्डको लालबन्दीदेखि निजगढसम्म ४० किलोमिटरमा काम सुरु गरिएको छ । 
हुलाकी राजमार्ग 
राष्ट्रिय गौरवको हुलाकी राजमार्गमा पनि ठाउँठाउँमा काम भइरहेको आयोजनाका निर्देशक रोहितकुमार बिसुरालले जानकारी दिए । उनका अनुसार लकडाउन सुरु हुनुअघि करिब दुई हजार मजदुर कार्यरत थिए । तर, अहिले पूर्वदेखि पश्चिमसम्म करिब पाँच सयजना मात्र काममा छन् । ‘लकडाउनको यो वेला सामान्य अवस्थामा हुने कामको ३० प्रतिशत मात्र भइरहेको छ,’ बिसुरालले भने । 
मध्यपहाडी राजमार्ग आयोजना
लकडाउनअघि यस आयोजनाको एक सय ३८ ठेक्कामा काम भइरहेको थियो । प्रत्येक ठेक्कामा ७० देखि ८० जना कामदार कार्यरत थिए । अहिले त्यो संख्या आधा मात्र छ । केही निर्माण कम्पनीले कामदारलाई लकडाउनलगत्तै घर पठाएकाले पनि कामदारको अभाव छ । काम पूर्ण क्षमतामा हुन सकेको छैन । ‘सानोतिनो काम त भइरहेको छ,’ प्रमुख दीपक केसीले भने, ‘ठूलो स्केलमा गर्न सकिएको छैन ।’ जलविद्युत् वा विमानस्थलको जस्तो एकै ठाउँमा रहेर काम गर्न नसकिने भएकाले सडकमा काम गर्न कठिन भएको केसीको बुझाइ छ । 
मेलम्ची खानेपानी आयोजना 
 
असारभित्रै सम्पन्न गर्ने गरी मेलम्ची खानेपानी आयोजनामा पनि काम भइरहेको छ । आयोजनाका प्रमुख तिरेसप्रसाद खत्रीका अनुसार लकडाउनअघि चार सयजनाले काम गरिरहेका थिए । अहिले सयजना मात्र छन् । ‘भौतिक निर्माणका काम सकिने अवस्थामा भए पनि सिमेन्टको अभाव छ,’ उनले भने, ‘अर्कोतर्फ घर फर्केका अधिकांश कामदार नफर्केसम्म आयोजनाको काम पूर्ण क्षमतामा हुने सम्भावना छैन ।’
 
भारत र स्पेनबाट पनि विज्ञटोलीहरू आउनुपर्ने थियो । तर, लकडाउनले आउन सकेका छैनन् । तर, आगामी आर्थिक वर्षको पहिलो चौमासिकमा पानी परीक्षण सकेर वितरणको कामलाई अघि बढाइने खत्रीले जानकारी दिए । 
उत्तर–दक्षिण जोड्ने कोसी, कालीगण्डकी र कर्णाली करिडोर
 
छिमेकी देश चीन र भारत जोड्ने तीनमध्ये दुई आयोजनामा पनि काम भइरहेको छ, तर कामदार र निर्माण सामग्री अभावले पूर्ण क्षमतामा काम गर्न सकिएको छैन । उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयका निर्देशक शिवप्रसाद नेपालका अनुसार कालीगण्डकी र कोसी करिडोरमा सानो स्केलमा काम भइरहेको छ । कर्णाली करिडोरमा भने काम ठप्प छ । ‘कर्णाली करिडोरमा तत्काल काम थालनी गर्न सकिने अवस्था पनि छैन,’ उनले भने ।
 
यी करिडोर निर्माणको काम अत्यन्तै विकट क्षेत्रमा छ । कालीगण्डकी करिडोरमा सामान्य अवस्थामा चार सय कामदारले काम गरेकामा अहिले लगभग सयजना मात्र छन् । नेपालका अनुसार कहिले कामदार, कहिले निर्माण सामग्री अभाव र कुनै ठाउँमा प्रशासन एवं स्थानीयको अवरोधले पनि काम गर्न कठिनाइ भइरहेको छ । 
 
मदन भण्डारी राजमार्ग 
 
मदन भण्डारी राजमार्गअन्तर्गत धरान–चतरा–गाईघाट–कटारी–सिन्धुलीमाडी हुँदै हेटौँडा खण्डको तीन सय १८ किलोमिटर कालोपत्रे गर्नुपर्नेछ । त्यसमध्ये दुई सय ५० किलोमिटर खण्डमा कालोपत्रे गर्ने काम भइरहेको छ । कामदारको अभावले सानो स्केलमा मात्र काम भइरहेको आयोजना कार्यालयले जानकारी दिएको छ । साथै, राजमार्गमा ७६ पुल निर्माण गर्नुपर्नेछ । त्यसमध्ये केही पुल सम्पन्न हुने अवस्थामा छन् । कामदार अभावले काम सुस्त रहेको सडक विभागका इन्जिनियर केशव ओझाले जानकारी दिए । 
 
गौशाला–चाबहिल सडक कालोपत्रे 

लामो समयदेखि धुलो र हिलोको पर्याय बनेको चुच्चेपाटी–चाबहिल–गौशाला सडकमा आउने सातादेखि कालोपत्रे सुरु हुँदै छ । हिउँदमा धुलो र बर्खामा हिलोले दैनिक रूपमा आजित भएका आमनागरिकले सडक कालोपत्रे नगरेको भनेर सरकार, सडक विभाग तथा मातहतका कार्यालयको आलोचना गर्दै आएका थिए । काठमाडौं उपत्यकाका विभिन्न स्थानका सडक कालोपत्रे र मार्किङ गरेर चिटिक्क बन्दा पनि चुच्चेपाटी–चाबहिल–गौशाला सडकमा ध्यान नपुगेको भनेर आलोचना हुँदै आएको थियो ।
 
‘पहिलो चरणमा जयबागेश्वरीदेखि मित्रपार्कसम्म नयाँ पिचको तयारी भइरहेको छ,’ सडक डिभिजन काठमाडांैका प्रमुख कुवेर नेपालीले भने । तर, मित्रपार्कदेखि चाबहिल–चुच्चेपाटीसम्म समस्या परिरहेको छ । त्यस क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले अन्डरग्राउन्ड विद्युतीय तार बिछ्याउने काम गरिरहेकाले पनि अहिले कामलाई तीव्रता दिन कठिन भइरहेको डिभिजन प्रमुख नेपालीले जानकारी दिए । 
टोखा–छहरे सडक 
 
काठमाडौं उपत्यकाबाट बाहिरिने महत्वपूर्ण नाकामध्येको एक टोखा–छहरे सडकमा ढलान गर्ने काम भइरहेको छ । चार सय मिटर मात्र ढलान गर्न बाँकी छ । चालू वर्षका लागि तोकिएको काम सम्पन्न हुन लागेको डिभिजन प्रमुख नेपालीले जानकारी दिए । 
 
माथिल्लो तामाकोसी 
 
राष्ट्रिय गौरवको यस आयोजनामा अहिले ६ सय जनशक्ति काममा छन् । लकडाउनअघि करिब एक हजार काममा थिए । पछिल्लो समय दाङ, बर्दियाका करिब तीन सय कामदार घर गएका छन् । त्यस्तै, चीनबाट आउने भनिएका इन्जिनियर अझै आउन सकेका छैनन् । ‘बन्दाबन्दीले कामको गतिलाई न्यून बनाएको छ,’ आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेले भने ।
 
अहिले आयोजनाको पाइप जडान गर्ने काम भइरहेको छ । त्यस्तै, हाइड्रो मेकानिकल कामका लागि कोलकातादेखि आउनुपर्ने सामान पनि बन्दाबन्दीले उतै रोकिएको छ । चालू आर्थिक वर्षभित्रै माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि अब आगामी आर्थिक वर्ष ०७७(७८ भित्र मात्र पूरा हुने देखिएको छ । 
 
सिँचाइका ९० प्रतिशत आयोजना सञ्चालनमा 
 
मुलुकभर सिँचाइका ४५ आयोजना रहेका छन् । तीमध्ये ९० प्रतिशत ९४१० आयोजना बन्दाबन्दीमा पनि निर्माणाधीन रहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले जानकारी दिए । ‘सामान्य अवस्थामा शतप्रतिशत हुने काम अहिले ३० प्रतिशत मात्र भइरहेको छ,’ उनले भने । अहिले राष्ट्रिय गौरवका सिँचाइ आयोजना र नदी नियन्त्रणसँग सम्बन्धित आयोजनाका कामलाई विशेष प्राथमिकतामा राखिएको छ । ‘पूर्ण क्षमतामा होइन, सानो स्केलमा भए पनि काम भने रोकिएको छैन,’ राजभण्डारीले भने । स्वास्थ्य सुरक्षा अपनाएर स्थानीय कामदारमार्फत काम भइरहेको छ । ‘यति नै कामदार छन् भन्ने हिसाब राखेको छैन,’ उनले भने । 
 
भेरी–बबई सिँचाइ डाइभर्सन

यस आयोजनामा सयजनाले काम गरिरहेका छन् । आयोजनामा नै क्याम्प बनाएर काम भइरहेको आयोजनाका सूचना अधिकारी कृष्णप्रसाद उपाध्यायले जानकारी दिए । सामान्य अवस्थामा चार सय ५० जनाले काम गर्थे । अहिले आयोजनाको हेड वक्र्स, कफर ड्याम र स्लोपलगायतको काम भइरहेको छ ।
बबई सिँचाइ आयोजना

कृषि बालीका लागि नहर खोल्नुपर्ने भएकाले माघदेखि जेठसम्म मात्र काम हुने बबई सिँचाइ आयोजनामा बन्दाबन्दीपछि सामान्य लाइनिङको मात्र काम भएको छ । कुल ४५ ठेक्कामा बन्दाबन्दीअघि कामले गति लिएको थियो । अहिले बन्द छ । २० जेठदेखि नहर खोलिएपछि झन् समस्या परेको छ । चालू आर्थिक वर्षमा अब काम हुन नसक्ने आयोजनाका सूचना अधिकारी रामकृष्ण घोरासैनीले जानकारी दिए । 
 
संघीय संसद् भवन निर्माण 
 
संघीय संसद्का लागि भवन निर्माणको काम पनि चलिरहेको छ । बन्दाबन्दीअघि चार सयजना कामदार निर्माणमा खटिएका थिए भने अहिले करिब ४० जना मात्र काममा छन् । ‘बन्दाबन्दीपछि घर गएका कामदार फर्किएका छैनन्,’ सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक पदमकुमार मैनालीले जानकारी दिए, ‘निर्माण सामग्रीको पनि सहज उपलब्धता छैन ।’ 
 
आयोजनाको यकिन तथ्यांक छैन, सहरी विकास मन्त्रालयसँग 
 
सहरी विकास मन्त्रालयअन्तर्गत करिब साना–ठूला गरेर चार हजार पाँच सय आयोजना छन् । त्यसमध्ये कति आयोजनामा काम भइरहेको छ भन्ने यकिन तथ्यांक नभएको उपमहानिर्देशक मैनालीले जानकारी दिए । त्यसमध्ये २७ ठूला आयोजना छन् । मन्त्रालयअन्तर्गत धेरै आयोजना उपभोक्ता समितिबाट हुने किसिमका छन्, तीमध्ये अधिकांश अहिले पनि चालू छन् ।
 
यसबाहेक बन्चरेडाँडामा ल्यान्डफिल साइट निर्माण, मध्यपहाडी राजमार्गमा १० नयाँ सहर निर्माणलगायतका काम पनि सुस्त गतिमा भइरहेको मैनालीले जानकारी दिए । 
 
जलविद्युत् आयोजनामा सवा लाख जनशक्तिमध्ये १५ हजार मात्रै काममा 

मुलुकभर तीन हजार मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणाधीन छन् । ती आयोजनामा करिब एक लाख २५ हजार जनशक्ति काममा थिए । तर, अहिले सबै आयोजनामा गरी १५ हजार कामदार मात्र कार्यरत रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इपान०का अध्यक्ष शैलेन्द्र गुरागार्इंले जानकारी दिए । 
 
त्यस्तै, चालू आर्थिक वर्षमा एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन सरकारी योजना पनि बन्दाबन्दीले बिथोलिएको छ । अर्कोतिर, सरकारले विद्युत् आयोजना निर्माण सुरु गर्न निर्देशन र निर्णय गरे पनि स्थानीय सरकारले रोकेको गुरागाईंको भनाइ छ ।
 
वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य ३२, पूरा जम्मा १३ मात्र 
 
चालू आर्थिक वर्ष ९आव० ०७६/७७ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राखेका वार्षिक उपलब्धि (माइलस्टोन) प्रभावित भएका छन् । चालू आवमा एक सय नौवटा लक्ष्यमध्ये वैशाखसम्म ३२ लक्ष्य पूरा गर्नुपर्नेमा १३ वटा मात्र सम्पन्न भएका छन् ।
 
यो वैशाखसम्म पूरा गर्नुपर्ने लक्ष्यको ४० दशमलव ६२ प्रतिशत हो भने वार्षिक लक्ष्यको ११ दशमलव ९२ प्रतिशत हो । ‘तोकिएका उपलब्धि पूरा नहुनुमा लकडाउन मुख्य कारक बन्यो,’ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले भने । माइलस्टोन भन्नाले कुनै काम सम्पन्न भएपछि मात्र उल्लेख गरिन्छ । प्रगति भनेको काम सम्पन्न नभए पनि कति प्रतिशत सकियो भनेर उल्लेख गरिन्छ । 
 
मन्त्रालयले वैशाखसम्म सबै माइलस्टोन थालनी गर्नुपर्नेमा एक सय पाँचवटा मात्र सुरु गरेको छ । बाँकी चारवटा कामलाई भने सुरु गर्न नसकिएको सचिव देवेन्द्र कार्कीले बताए । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–कोहलपुर खण्डको डिजाइन गर्ने काम सुरु हुन सकेको छैन । 
 
सामग्री अभावले पोखरा र भैरहवा विमानस्थलको काम पनि सुस्त 
 
नौ वर्षदेखि सम्पन्न हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग निर्माणको काम यही लकडाउनकै अवधिमा सकियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग विस्तारको कामका लागि सन् २०११ मै स्पेनी कम्पनी सानहोसेले ठेक्का पाएको थियो । तर, काम गर्न नसकेपछि सन् २०१६ डिसेम्बरमा ठेक्का तोडियो ।
 
नेपाली निर्माण कम्पनी कालिका–तुँदीले गत वर्ष सोही कामको ठेक्का पाए पनि विमानस्थल चालू रहँदा द्रुत गतिमा कार्य हुन सकेको थिएन । लकडाउनमा उडानमा लागेको प्रतिबन्धको फाइदा उठाउँदै निर्माण कम्पनीले युद्धस्तरमा काम अघि बढाएर ५४ दिनमै सम्पन्न गरेको छ । अब त्रिभुवन विमानस्थलमा बोइङ ७७७ र एयरबस ३३० सिरिजका सबैखाले जहाज उडान–अवतरण गर्न सक्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । 
 
भैरहवा र पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलको काम भने सामग्री अभावमा सुस्त भएको छ । भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम केही सातायता सुस्त भएको त्यहाँका आयोजना प्रमुखले बताएका छन् ।
 
लकडाउनका कारण स्वदेशमै पाइने निर्माण सामग्रीसमेत अभाव भएको छ । विदेशबाट आउनुपर्ने सामान पनि ल्याउन नसक्दा कामले तीव्रता पाउन नसकेको पोखरा विमानस्थलका आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । 
 
आयोजनामा अहिले डेकोरेसन, पार्टेसन, सिसाको काम, टायल, इलेक्ट्रिकल, स्ट्रक्चर निर्माण, ढल, बाहिरी नाली, माटो फिलिङलगायत काम भए पनि विदेशबाट आउनुपर्ने सामान रोकिँदा समस्या आएको छ । 
 
भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अहिले ठप्प छ । प्राविधिक काम बाँकी भएकाले सामान नआउँदा काम हुन नसक्ने आयोजनाले जनाएको छ । ‘विदेशबाट सामान ल्याउन सकिएको छैन,’ नागरिक उड्डयन प्राधिकरणका आयोजना निर्देशक प्रदीप अधिकारीले भने ।
 
तीन हजार मिटर लामो र ४५ मिटर चौडाइ रहेको धावनमार्गको कालोपत्रेको काम सम्पन्न भइसकेको छ । टर्मिनल भवनसमेत निर्माणको अन्तिम चरणमा पुगेको छ । अन्य कन्भेयर बेल्ट, इक्युपमेन्ट रेडार, बत्तीलगायत सामग्री नेपाल ल्याउन नसक्दा काम रोकिएको हो । आजको नयाँपत्रिकामा प्रकाशित  समाचार

प्रतिक्रिया