भर्खरै

निजी क्षेत्रको विद्युत उत्पादन ७ सय मेगावाट पुग्यो

  • प्रकाशित मिति : मंगल, असार २३, २०७७
  • - विद्युत संसार संवाददाता
title

विद्युत संसार २३ असार,काठमाडौं । निजी क्षेत्रले विद्युत उत्पादन करिब ७ सय मेगावाट पुर्याएको छ । पछिल्लो पटक ९.६ मेगावाटको सुपर माई ‘ए’ र ३ मेगावाटको सुपर माई क्यासकेडको १२.६ मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएपछि निजी लगानीका आयोजनाको कूल उत्पादन पनि बढेको हो ।
 
अहिले निजी लगानीका ९८ आयोजनाले ६ सय ९५ मेगावाट विद्युत उत्पादन गरिरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । निजी क्षेत्रले गरिरहेको उत्पादन प्राधिकरणको भन्दा ५८.३१ मेगावाट बढी हो ।
 
निजी क्षेत्रले चालू आर्थिक वर्षमा १५ जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थपेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । उनका अनुसार आवको साउनदेखि असार मध्यसम्ममा निजी लगानीका आयोजनाबाट १३१.७ मेगावाट विद्युत केन्द्रीय प्रणालीमा थपिएको छ ।
 
निजी क्षेत्रले २८ वर्षमा यो उपलब्धी हासिल गरेको हो । सन् ९० को दशकमा जलविद्युतमा लगानी सुरु गरेको निजी क्षेत्रले २०७४ मंसिरदेखि विद्युत उत्पादनमा सरकारलाई पछि पारेको हो ।
 
सरकार (प्राधिकरण) ले १ सय ९ वर्षमा ६३६.६९ मेगावाट उत्पादन गरेको छ । जसमा ५ सय ८२ मेगावाट जलविद्युत, ५३.४१ मेगावाट थर्मल (मल्टिफ्युल र डिजेल प्लान्ट) र १.३५ मेगावाट सौर्य विद्युत छ ।
 
प्राधिकरणले उत्पादन गरेको ४.५३६ मेगावाट जलविद्युत ग्रिडमा जोडिएको छैन । ग्रिडमा नजोडिएका साना आयोजना प्राधिकरणले भाडामा सञ्चालन गर्न दिएको छ ।
 
प्राधिकरणले चालू आवमा १४ मेगावाटको कुलेखानी तेस्रो र १.२५ मेगावाटको सौर्य विद्युत आयोजनाबाट उत्पादन सुरु गरेको छ । कुलेखानी तेस्रो निर्माण सुरु भएको १२ वर्षपछि केन्द्रीय प्रणालीमा जोडिएको हो भने नुवाकोटमा निर्माणाधीन २५ मेगावाटको सौर्य विद्युत आयोजना मध्येबाट पहिलो चरणमा १.२५ मेगावाट सौर्य विद्युत उत्पादन गरिएको हो । लोडसेडिङ अन्त्यपछि हेटौंडा र दुहबीस्थित थर्मल प्लान्ट बन्द छन् ।
 
अहिले निजी लगानीमा २८ सय मेगावाटका आयोजना निर्माणाधीन छन् । यी मध्ये केही आयोजना चालू आवमा नै सम्पन्न हुने तालिका थियो । केही आयोजना प्रसारण लाइन समस्याले सुरु हुन सकेनन् । केही कोरोना महामारीको असरले धकेलिएका छन् । यी आयोजनाले आगामी आवमा उत्पादन सुरु गर्ने प्राधिकरणले जनाएको छ ।ऊर्जा खबर

प्रतिक्रिया