भर्खरै

प्राधिकरणको मासिक आम्दानी ७ अर्ब पुग्यो

  • प्रकाशित मिति : बिही, असार २५, २०७७
  • - विद्युत संसार संवाददाता
title

 
विद्युत संसार असार २५,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत बिक्रीबाट हुने मासिक आम्दानी ७ अर्ब रुपैयाँ पुर्याएको छ । लकडाउन खुकुलो भई विद्युत खपत बढ्न थालेपछि प्राधिकरणको आम्दानी पनि बढेको हो ।
 
अहिले मासिक आम्दानी बढेर लकडाउन अघिको अवस्थामा पुगेको प्राधिकरण अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले बताए । ‘लकडाउनले विद्युत माग ह्वात्तै घट्दा आम्दानी खुम्चिएको थियो,’ उनले  भने,‘लकडाउन खुकुलो भएयता उद्योग, कलकारखाना, व्यापार व्यावसाय, कार्यालय सबै खुलेपछि माग बढ्दा आम्दानी पुरानै अवस्थामा फर्किएको छ ।’
 
उनले लकडाउन अवधिमा उपभोक्ताबाट विद्युत महसुल नउठेकाले पनि प्राधिकरणको आम्दानी खुम्चिएको बताए । अहिले ३ महिनादेखिको विद्युत महसुल उठिरहेको उनले बताए ।
सरकारले कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमण रोक्न गत चैत ११ गतेदेखि गरेको लकडाउनले विद्युत खपत घट्न गई प्राधिकरणको ३० प्रतिशत आम्दानी घटेको थियो ।
 
विद्युतको माग नहुँदा प्राधिकरणका जलविद्युतगृहको विद्युत खेर जाने गरेको थियो । कोभिड–१९ को प्रत्यक्ष असरले उद्योगको विद्युत माग कम हुँदा यसको प्रत्यक्ष असर प्राधिकरणको आम्दानीमा परेको थियो ।
 
प्राधिकरणलाई आफ्ना जलविद्युतगृह, सहायक कम्पनी, निजी क्षेत्र र भारतबाट खरिद गरिने विद्युत उपभोक्तालाई बिक्री गरेर हुने आम्दानीमा गिरावट आएको थियो । लकडाउन अवधिमा प्राधिकरले मासिक २ अर्ब आम्दानी गुमाएको थियो । अरबौं रुपैयाँ आम्दानी गुम्दा प्राधिकरणलाई दैनिकी चलाउन समस्या परेको थियो ।
 
दैनिक आम्दानी तथा खर्च प्रभावित हुँदा प्राधिकरणले निजी ऊर्जा उत्पादकलाई विद्युत खरिद गरेबापतको रकम भुक्तानी गर्न सकेको थिएन । प्राधिकरणले सूचना जारी गरेर प्रवर्द्धकको रकम भुक्तानीमा ढिलाई हुने जानकारी गराएको थियो । लकडाउन अवधिमा प्रवर्द्धकलाई २ किस्तामा विद्युत खरिदको रकम भुक्तानी गरिएको थियो ।
 
लकडाउन सहज भई विद्युत माग बढेपछि विद्युतगृह पूर्ण क्षमतामा चल्ने थालिसकेका छन् । कोइरालाले आम्दानी बढेपछि प्राधिकरणलाई मासिक खर्च धान्न समस्या नभएको दाबी गरे । उनले निजी ऊर्जा प्रवर्द्धकलाई विद्युत खरिदको रकम नियमित भुक्तानी गरिरहेको बताए ।
 
प्राधिकरणले ब्याज, सहायक कम्पनीबाट पाउने मुनाफा बाहेक ४० लाख ग्राहकलाई विद्युत बिक्री गरेर वार्षिक ६० देखि ६५ अर्ब रुपैयाँ आम्दानी गर्छ ।ऊर्जा खबर
 

प्रतिक्रिया