भर्खरै

विद्युतीय तार भूमिगत कार्य सुस्त

  • प्रकाशित मिति : बिही, असार २५, २०७७
  • - गोपालचन्द्र सुवेदी
title

 
विद्युत संसार २५ असार,काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत फागुनदेखि सुरु गरेको विद्युतीय तार भूमिगत गर्ने कार्यले तीव्रता पाउन सकेको छैन । काम सुरु गरेको करिब एक महिनामै कोरोना विषाणु सङ्क्रमण जोखिमका कारण नेपाल र भारतमा भएको बन्दाबन्दीका कारण यो कार्य जारी भए पनि अपेक्षाकृत तीव्रता पाउन नसकेको प्राधिकरणले जनाएको छ ।
 
प्राधिकरणले काठमाडौँको रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका वितरण लाइन भूमिगत गर्न थालेको हो । बन्दाबन्दीका कारण घर फर्किएका प्राविधिक तथा कामदार आउन नपाउँदा र आवश्यक सामग्री परीक्षण गरी नेपाल ल्याउन समस्या भएकाले काम सुुस्त भएको हो । यद्यपि बन्दाबन्दीका समयमा पनि चाबहिललगायत केही स्थानमा काम जारी राखिएको थियो ।
 
भारतीय निर्माण कम्पनी एईआई इन्डस्ट्रिजसँग रत्नपार्क र महाराजगञ्ज क्षेत्रको सम्पूर्ण विद्युत् वितरण लाइन भूमिगत गराउने गरी २०७५ चैतमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार यी दुई क्षेत्रमा ११ केभी प्रसारण लाइन करिब चार सय किलोमिटर र चार सय भोल्टेज क्षमताको ३५० किलोमिटर तार भूमिगत हुने छ ।
 
एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋणमा हुन लागेको यो कार्यका लागि करिब सात अर्ब रुपियाँ लाग्ने अनुुमान छ । प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालका अनुसार अहिले कामदार अभाव प्रमुख समस्या बनेको छ । “बन्दाबन्दीका कारण भारतीय कामदार आउन सकेका छैनन्, उनले भने, “यहीँ उपलब्ध कामदारकै भरमा काम गर्दा ठेकेदारले तीव्र गतिमा काम गर्न सकेको छैन । अब अवस्था सहज भएमा निर्धारित समयमै काम सकिन्छ । ” रत्नपार्क र महाराजगञ्ज वितरण प्रणाली भूमिगत गर्ने काम साढे दुई वर्षमा सम्पन्न गर्ने गरी फागुनबाट काम थालिएको थियो ।
 
सामान आपूर्तिमा पनि समस्या भएको उनको भनाइ छ । “अप्टिकल फाइबरलगायत अन्य उपकरण परीक्षण गरेर मात्रै ल्याउनुपर्ने हुन्छ,” उनले भने, “इिनिस्पेक्सन गर्ने कार्य हुन नसक्दा सामान ल्याउन समस्या भएको हो । ” सहरी क्षेत्रलाई तारमुक्त बनाउने नीतिअनुरूप विद्युत्का अतिरिक्त टेलिफोन, इन्टरनेट, केबल टेलिभिजनका तार पनि भूमिगत गर्ने गरी प्राधिकरणले ४८ फाइबरयुक्त अप्टिकल फाइबर पनि भूमिगत गरिरहेको छ ।
काठमाडाँै, ललितपुर र भक्तपुरका विद्युत् वितरण लाइन पनि ग्राहकको घरसम्मै भूमिगत गराउने गरी नेपाल विद्युत् प्राधिकरणले तीन चरणमा काम गरिरहेको छ । यसपछि उपत्यका बाहिर पनि यो कार्यक्रम विस्तार गर्ने बताइएको छ ।
 
सहरी क्षेत्रमा भूमिगत तार विस्तार गर्ने क्रममा सडक तथा फुटपाथलाई सकेसम्म कम असर गर्ने गरी जमिन खन्ने गरिएको छ । सीधा दूरीमा करिब दुई सय मिटरसम्म जमिनमुनिबाटै टनेल खन्ने होरिजेन्टल ड्रिलिङ मेसिन प्रयोग गरिएको छ ।
 
एक स्थानमा आठ क्युबिक मिटर खाडल खनेर यो मेसिन जोड्दा दुई सय मिटर सीधा दूरीमा जमिनमुनिबाटै यसले भित्रभित्रै प्वाल खन्छ । तार राख्नुपर्ने क्षेत्रमा खानेपानी, ढल दूरसञ्चारलगायतका पूर्वाधार भए नभएको पहिचान गर्न ग्राउन्ड पेनिट्रेटिङ राडार उपयोग हुन्छ ।
आजको गोरखापत्रमा प्रकासित समाचार 

प्रतिक्रिया