भर्खरै

सिंगटीको परीक्षण पूरा, प्रसारण लाइन नहुँदा प्रणलीमा जोड्न समस्या

  • प्रकाशित मिति : सोम, असार २९, २०७७
  • - Admin
title

काठमाडौं । २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको आन्तरिक परीक्षण पूरा भएको छ । दोलखाको सिंगटी खोलामा निर्माण सम्पन्न आयोजनाको गत असार १५ गतेबाट सुरु भएको परीक्षण पूरा भएको हो ।
 
आयोजनाको संरचनामा पानी भरेर परीक्षण गर्ने कार्य सकिएको प्रवद्र्धक सिंगटी हाइड्रो इनर्जी कम्पनीका सञ्चालक बटु लामिछानेले बताए । उनले परीक्षणका क्रममा आयोजनाको बाँध, सुरुङ, विद्युतगृह लगायत संरचना तथा जडित उपकरणमा कुनै समस्या नआएको बताए ।
 
नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले गर्ने परीक्षणका लागि पत्राचार गरिसकेको पनि उनले बताए । ‘हाम्रो तर्फबाट गर्नु पर्ने आन्तरिक परीक्षण सफलतापूर्वक पूरा भएको छ,’ उनले भने,‘प्राधिकरणले गर्ने परीक्षणका लागि पत्र पठाइसकेका छौं । प्राधिकरणबाट प्राविधिक टोली कहिले परीक्षणका लागि जान्छ भन्नेबारे खबर आएको छैन ।’
 
आन्तरिक परीक्षण पूरा भए पनि तत्काल आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जडान हुने अवस्था छैन । आयोजना जोडिने १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन तयार नहुँदा विद्युत खेर जाने भएको छ ।
 
विद्युत खेर जाँदा आयोजनाको विद्युत बिक्रीबाट हुने मासिक ६ करोड रुपैयाँ आम्दानी गुम्ने उनले दाबी गरे । प्रसारण लाइनको बाँकी काम सम्पन्न गर्न करिब २ महिना लाग्ने हुँदा यो अवधिमा करिब १२ करोड रुपैयाँ बराबरको आम्दानी गुम्ने उनले बताए । उनले आयोजनाको आम्दानी रोकिँदा बैंकको ब्याजको भारसमेत थपिने बताए ।
 
प्रसारण लाइन तयार हुन २ महिनाभन्दा बढी समय लागेमा आयोजनाको आर्थिक नोक्सानी अझै बढ्ने कम्पनीले जनाएको छ । प्राधिकरणले भर्खरै प्रसारण लाइन निर्माण अवरुद्ध भएका स्थानमा काम सुचारु गरेको छ । उच्च अदालत पाटनले प्रसारण लाइनको निर्माण रोक्न परेको मुद्दा खारेज गरेपछि सुरक्षाकर्मी लगाएर काम सुचारु गरिएको हो ।
 
प्रसारण लाइनको ८ वटा टावर निर्माणको काम अवरुद्ध छ । दोलखाको बोचमा ५ वटा र सिन्धुपाल्चोकमा ३ वटा टावर निर्माणको काम बाँकी छ । बोचमा स्थानीय तिलोतमा हिमाली फुड एण्ड रिसर्च सेन्टर नामक गैर सरकारी संस्थाले प्रसारण लाइनको रुटमा पर्ने जग्गा अधिग्रहण प्रक्रिया नमिलेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेपछि निर्माण अवरुद्ध थियो ।
 
सिन्धुपाल्चोकमा प्रसारण लाइनको टावरको खुट्टाको प्रकार फरक परेपछि निर्माण अवरुद्ध छ । कोरोना महामारीले आवश्यक उपकरण भारतबाट आयात हुन नसक्दा काम रोकिएको हो । प्रसारण लाइनको अवरोध खुलेर काम सुचारु भएकाले दशैंअघि सञ्चालन गर्न सकिने प्राधिकरणले जनाएको छ ।
 
आयोजना सम्पन्न हुँदा प्रतिमेगावाट लागत २१ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । सिंगटी सरकारले प्रतिस्पर्धाका आधारमा निजी क्षेत्रलाई निर्माण गर्न दिएको आयोजना हो । व्यापारिक उत्पादन सुरु भएपछि आयोजनाले विद्युत बिक्रीबाट वार्षिक ७० करोड रुपैयाँ आम्दानी गर्नेछ ।
–ऊर्जा खबर

प्रतिक्रिया