भर्खरै

ललितपुरमा ऊर्जा बचत अभियान शुरु

  • प्रकाशित मिति : बिही, भदौ ४, २०७७
  • - रासस
title

भदौं ०४, ललितपुुर । दक्षिण ललितपुर भेगका जनतालाई ध्यानमा राखी सञ्चालन गरिएको  ‘दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेड’ ले आफ्ना उपभोक्ता र शेयर सदस्यका लागि ऊर्जा बचत अभियान शुरु गरेको छ ।  संस्थाले विद्युत् महसुल भुक्तानीमा सहजीकरणका लागि उक्त अभियान सञ्चालन गरेको हो । 
 
यसले ऊर्जाको अधिकतम उपयोगद्वारा प्रविधियुक्त उद्यम व्यवसायको प्रवद्र्धन गर्दै उपभोक्ताको आर्थिक विकासमा टेवा पु¥याउन सहयोग गर्ने संस्थाका अध्यक्ष गोविन्द बजगाईँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस संस्थाले मुलुकमै पहिलो पटक सहकारीको नमूना बनी सामुदायिक विद्युतीकरण अभियान चलाएर ललितपुरका विकट बस्तीहरुमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवाको पहुँच पु¥याएको छ ।” 
 
विसं २०५४ देखि संस्था विद्युतीय अभियान शुरु गरी २०५७ सालमा विधिवत् रुपमा दर्ता भएर २०६१ साल भदौ २ गते साविकको देवीचौर गाविसमा केन्द्रीय प्रसारण लाइनको बिजुली बाल्न सफल भएको बजगाईँले जानकारी गराउनुभयो । सो संस्थाले समाजमा उद्यमशीलताको विकास गर्दै ग्रामीण क्षेत्रमा रोजगारीको अवसर सिर्जना, विद्युत् महसुल भुक्तानीका लागि अग्रिम बचत गराउन सहयोग, न्यून आयस्तर भएका र  ऊर्जामा आधारित उद्यम व्यवसाय सञ्चालन तथा विस्तार गर्न चाहने उपभोक्तालाई ऋण सहयोगका साथै विद्युतीय प्रविधि खरीदका लागि बचत रकमको उपयोग गराउन मद्दत गर्छ । 
 
उक्त संस्थाले दक्षिण ललितपुरका करीब छ हजार ५०० घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा पु¥याएकामा अब लगभग एक हजार घरधुरीमा मिटर जडान गर्न बाँकी छ । संस्थाले हालसम्म ललितपुरका तीन गाउँपालिका र गोदावरी नगरपालिकाको देवीचौरमा एक सयभन्दा बढी ट्रान्सफर्मर, १७८ किलोमिटर एचटी र करीब ४६० किलोमिटरमा एलटी लाइन जडानसमेत गरेको छ । 
 
 लगनखेलस्थित सबस्टेशनदेखि चापागाउँ फिडर हुँदै दक्षिण ललितपुरका सबै क्षेत्रमा लाइन गएकाले चापागाउँ फिडर जीर्ण र लोड बढी भएर लाइन ट्रपिङको समस्या बढी हुने गरेको छ । यसैगरी कान्ति राजमार्गमा समयसमयमा पहिरो जाँदा सडकका साथै विद्युत् आपूर्तिमा पटकपटक बाधा पुगेको बजगाईँले जानकारी दिनुभयो । 
 
संस्थाले समय समयमा विद्युतीय समस्या अन्त्य गरेर दीर्घकालीन समाधानका लागि उन्यूचौरमा सबस्टेशन निर्माणको काम अघि बढाउने भएको छ । उक्त स्टेशनले काम गर्न थालेपछि दक्षिण भेगको विद्युत् आपूर्तिमा थप सहजता र गुणस्तरीयता कायम हुनाका साथै उद्योगधन्दा सञ्चालनमा समेत उपयोगी हुने बताइएको छ । 
उक्त संस्थाले सञ्चालनमा ल्याएको प्रविधिमा आधारित अनलाईन पेमेन्ट र मोबाइल एप्सको प्रयोग पनि सफल भइरहेको संस्थाका सचिव लोकबहादुर पुलामीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले विभिन्न संस्थाको सहकार्यमा महिला उद्यमशीलता विकासका लागि सीपमूलक तालीमका साथै व्यवसाय सञ्चालनमा सहजीकरण र व्यवस्थापनको कामसमेत गर्दै आएका छाँै ।” गत वर्ष ६४ भन्दा बढी महिलालाई उद्यमशीलता विकासको तालिम दिएर आत्मनिर्भर  हुन सिकाएको पुलामीले बताउनुभयो । 
 
संस्थाले न्यून आय भएका कमजोर उपभोक्ता तथा शेयर सदस्यका घरमा सरल कर्जामार्फत विद्युत् सेवाको पहुँच विस्तारसमेत गरेको कोषाध्यक्ष गोविन्दप्रसाद घिमिरेले बताउनुभयो  । 

प्रतिक्रिया