भर्खरै

उद्योगमा लगानी बढ्दै

  • प्रकाशित मिति : बिही, भदौ ४, २०७७
  • - रासस
title

मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गएको छ ।  
 
सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पूरा गर्नका लागि पछिल्लो समय उद्योग क्षेत्रमा लगानी बढेको हो । तीन तहको स्थायी सरकार बनेपछि मुलुकमा लगानीको वातावरण सिर्जना भएको हो । तनहुँ जिल्लामा दर्ता भएका उद्योगमा करीब रु दुई अर्ब लगानी भएको छ । 
घरेलु तथा साना उद्योग विकास समिति तनहुँमा दर्ता भएका उद्योगमा रु एक अर्ब ८९ करोड ५२ लाख ६० हजार छ सय ५९ लगानी भएको हो । तीमध्ये उद्योगतर्फ रु ७० करोड २८ लाख ९६ हजार सात सय ५९ तथा वाणिज्यतर्फ रु एक अर्ब १९ करोड २३ लाख ६३ हजार नौ सय लगानी भएको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिनुभयो । 
 
उहाँका अनुसार उत्पादनमूलक उद्योगतर्फ रु ९ करोड १६ लाख, कृषि तथा वनजन्यतर्फ रु २७ करोड ७७ लाख ७३ हजार ८ सय ५८, पर्यटन उद्योगतर्फ रु चार करोड ३४ लाख, सेवामूलकतर्फ रु २० करोड ८१ लाख २२ हजार ९ सय एक र सूचना प्रशारण तथा सञ्चार प्रविधितर्फ रु आठ करोड २० लाख लगानी भएको छ ।
 
जिल्लामा विगत एक वर्षको अवधिमा तीन हजार पाँच सय १५ नयाँ उद्योग थपिएको छ । आर्थिक वर्ष २०७६÷७७ मा उद्योगतर्फ एक हजार सात सय एक र वाणिज्यतर्फ एक हजार आठ सय १४ उद्योग दर्ता भएको समितिले जनाएको छ । नयाँ उद्योगमध्ये उत्पादनमूलकतर्फ एक सय ६८, कृषि तथा वनजन्यतर्फ छ सय, पर्यटनतर्फ चार सय ७१, सेवामूलकतर्फ तीन सय ४२, सूचना प्रशारण तथा प्रविधितर्फ एक सय २० रहेको कार्यालयका प्रमुख ढकालले जानकारी दिनुभयो ।
 
जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्यतर्फ उद्योग दर्ता भएको छ । कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषि सम्बन्धी उद्योग दर्तामा वृद्धि भएको प्रमुख ढकालले बताउनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यमी बन्ने युवाको सङ्ख्या वृद्धि भएपछि कृषि तथा वनजन्य उद्योग दर्ता बढेको हो । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।
 
गत आर्थिक वर्ष २०७५÷०७६ मा उद्योगतर्फ एक हजार एक सय ३५ उद्योग दर्ता भएको थियो । गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा पाँच सय ६६ उद्योग बढी दर्ता भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा उत्पादनमूलकतर्फ १ सय ४३, कृषि तथा वनजन्य तर्फ ४ सय ९९, सेवामूलकतर्फ २ सय ९५, पर्यटनमूलकतर्फ १ सय ९२, निर्माणतर्फ ६ उद्योग दर्ता भएका थिए ।
 
८० लाख राजश्व सङ्कलन
 
उद्योग नवीकरणबाट कार्यालयले उक्त अवधिमा रु ८० लाख ११ हजार ६ सय १ राजश्व सङ्कलन गरेका छ । तीमध्ये उद्योगतर्फ रु २६ लाख दुई हजार तीन सय ४० र वाणिज्यतर्फ रु ५४ लाख नौ हजार दुई सय ७५ रहेको छ । 
 
रु एक लाखसम्म पुँजी भएको उद्योगले रु एक हजार एक सय, रु तीन लाखसम्म पुँजी भएको उद्योगले रु तीन हजार एक सय, रु पाँच लाखसम्म पुँजी भएको उद्योगले रु छ हजार एक सय, रु ५० लाखसम्म पुँजी भएको उद्योगले रु १२ हजार एक सय, रु एक करोडसम्म पुँजी भएको उद्योगले रु २० हजार एक सय, रु ५ करोडसम्म पुँजी भएको उद्योगले रु ३० हजार एक सय तथा रु पाँच करोडभन्दा माथि पुँजी भएको उद्योगले रु ५० हजार एक सय १० दर्ता शुल्क बुझाउनुर्पे प्रावधान छ ।
 
मिर्गौला पीडितलाई साढे दुई लाख सहयोग
 
तनहुँको म्याग्दे गाउँपालिका दभुङ घर भई हाल व्यास नगरपालिका–४ बस्ने दुवै मिर्गौला पीडित रामलाल श्रेष्ठको उपचारका लागि विदेशबाट साढे दुई लाख सहयोग जुटेको छ ।
 
दभुङ घर भई हाल रोजगारीका क्रममा विदेशमा रहेका नेपालीबाट मिर्गौला पीडित श्रेष्ठको उपचारका लागि रु दुई लाख ५० हजार दुई सय एक सङ्कलन भएको हो । मिर्गौला पीडित श्रेष्ठको उपचारमा सहयोग पु¥याउन हालैमात्रै गठन भएको म्याग्दे दमौली सम्पर्क समाजको पहलमा सङ्कलित उक्त रकम पीडित श्रेष्ठलाई हस्तान्तरण गरिएको छ । उक्त रकम समाजका संयोजक भाग्यशाली ढुङ्गाना, उपसंयोजक मनिराज थापा, सचिव पदम कुमार श्रेष्ठ, सन्तकुमार श्रेष्ठ, सुमन श्रेष्ठ लगायतले हस्तान्तरण गर्नुभएको छ । 
 
दभुङ घर भई कतारमा रहेकाबाट रु ५४ हजार ८ सय ८६, मलेसियामा रहेकाबाट रु ४९ हजार ८ सय ३६, दुवईमा रहेकाबाट रु २५ हजार चार सय, साउदीमा रहेकाबाट रु २१ हजार चार सय, कुवेतमा रहेकाबाट रु १२ हजार सात सय २७, बहराइन र ब्रुनाईमा रहेकाबाट रु १४ हजार २५ गरी रु एक लाख ७८ हजार ८९ सङ्कलन भएको थियो ।
 
त्यस्तै मलेसियामा कार्यरत महेन्द्रकुमार श्रेष्ठ, रामचन्द्र श्रेष्ठ, गणेश कुमार श्रेष्ठ लगायतको पहलमा कम्पनीमा कार्यरत नेपालीहरुबाट रु ३३ हजार सात सय ५४, मलेसियामै कार्यरत प्रताप श्रेष्ठ र धननारायण श्रेष्ठको पहलमा रु २४ हजार दुई सय ३८ र कतारमा कार्यरत अविनाश श्रेष्ठको पहलमा रु १४ हजार एक सय २९ गरी रु ७२ हजार एक सय २२ सङ्कलन भएको थियो ।
 
ब्रुनाई स्थित गोरखा रिजर्भ युनिटमा कार्यरत रेशम श्रेष्ठले दुवै मिर्गौला फेल भएको खबरले सबै दभुङका दाजुभाईहरु चिन्तित भएको हुँदा उहाँको उपचारको लागि सहयोग जुटाउन विदेशमा समन्वय गरिने बताउनुभयो । 
 
यसैगरी मिर्गौला फेल भएर बाबु गुमाएका तनहुँको व्यास नगरपालिका–५ रानीटारीका एक दाजुबहिनीले मिर्गौला पीडितलाई आर्थिक सहयोग गर्नुभएको हो । रोजगारीको क्रममा हाल कोरियामा रहनुभएका मोहन बराली र दमौलीमा रहनुभएका करिश्मा बरालीले व्यास नगरपालिका–४ का मिर्गौला पीडित रामलाल श्रेष्ठलाई रु १० हजार एक सय पाँच सहयोग गर्नुभएको हो ।
 
कुशेऔंशीको अवसर पारेर उहाँहरुले मिर्गौला पीडित श्रेष्ठलाई उक्त रकम सहयोग गर्नुभएको हो । उक्त रकम करिश्मा बरालीले बुधबार मिर्गौला पीडित श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । उहाँहरुको बाबुको मिर्गौला फेल भएपछि पाँच वर्ष अघि मृत्यु भएको थियो । “बुबाको सम्झनामा बुबा सरहको व्यक्तिलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ,” मोहनले भन्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 22 minutes ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 5 hours ago