भर्खरै

कोरोना सङ्क्रमित ३० हजार नाघे : आज ८३८ थप

  • प्रकाशित मिति : शुक्र, भदौ ५, २०७७
  • - रासस
title

काठमाडौँ, ५ भदौ । नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । देशभर आज ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ ।  
 
देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो । आज थपिएकामा ५४६ पुरुष र २४२ महिला छन् । हालसम्म १८ हजार २१४ जना कोरोनाबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा २५० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । 
 
देशभर हाल १३३ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने १५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताउनुभयो । हाल देशभर १२ हजार १३२ जना सक्रिय सङक्रमित रहेका छन् । यस्तै १२ हजार २३४ क्वारेन्टिनमा तथा १२ हजार १३२ जना आइसोलेसनमा रहेका प्रवक्ता गौतमले बताउनुभयो । 
 
पछिल्लो २४ घण्टामा ५० जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश नं १ को सात जिल्लामा ८९, प्रदेश नं २ को ७ जिल्लामा १७९, बागमती प्रदेशको १० जिल्लामा २५०, गण्डकी प्रदेशको ६ जिल्लामा २७, प्रदेश नं ५ को १० जिल्लामा ५९, कर्णाली प्रदेशको ४ जिल्लामा ५८ तथा सुदूरपश्चिमको ६ जिल्लामा १७६ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । 
 
काठमाडौं उपत्यकामा थपिए १८२

पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा १८२ जना कोरोना सङ्क्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । थपिएका मध्ये काठमाडौँका १४२, ललितपुरका २५ र भक्तपुरका १५ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । बिहीबार उपत्यकामा १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।  
 
एकै दिन ११ को मृत्यु  

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २३ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । एकै दिनमा मृत्यु हुनेको सङ्ख्या यो हालसम्मकै बढी हो । मृत्यु हुनेमा काठमाडौँ, ललितपुर, चितवन, बारा, पर्सा, मोरङ, सप्तरी, सर्लाही र मकवानपुरका एक एक पुरुष तथा दोलखाकी एक महिला रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १३७ पुगेको छ ।  
 
पीसीआर परीक्षणमा तीन अर्ब १९ करोड
 
सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि हालसम्म रु तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च गरेको छ । प्रवक्ता गौतमका अनुसार देशभर ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरिएको छ । एक जना कोरोना पोजेटिभ पत्ता लगाउन रु एक लाख चार हजार खर्च हुने गरेको उहाँले बताउनुभयो । एक जना सङ्क्रमितलाई अति सघन कक्षमा राखि उपचार गर्नुपरेमा ३० दिनमा चार लाख ५० हजार खर्च हुने गरेको छ ।  

प्रतिक्रिया