११ हजार मेगावाटको आयोजना बनाउँदै कंगो, ५ हजार मेगावाट दक्षिण अफ्रिका निर्यात हुने

  • प्रकाशित मिति : मंगल, भदौ ९, २०७७
  • - धना ढकाल
title

काठमाडौं । अफ्रिकी राष्ट्र कंगोले ११ हजार ५० मेगावाटको इंगा–३ जलविद्युत आयोजना निर्माण गरिरहेको छ । प्रस्तावित ४० हजार मेगावाटको ग्राण्ड इंगा जलविद्युत परियोजना अन्तर्गत इंगा–३ आयोजना निर्माण भइरहेको हो ।
 
कंगो नदीको इंगा झरना नजिक बाँध रहने गरी संरचनाको निर्माण भइरहेको छ । डिजाइन अनुसार बाँधको सुरुवाती भाग होचो हुनेछ भने पछाडिको भाग क्रमशः बढ्दै जानेछ । बाँधभन्दा ३० किलोमिटर तल आयोजनाको विद्युतगृह रहनेछ ।
 
आयोजना सम्पन्न भएपछि दक्षिण अफ्रिकाले ५ हजार मेगावाट खरिद गर्नेछ । दक्षिण अफ्रिकाले ५ हजार किलोमिटर लामो प्रसारण लाइन निर्माण गरेर आयोजनाको विद्युत खरिद गर्ने प्रतिवद्धता जनाएको छ ।
 
कंगोदेखि जाम्बिया, नामिबिया हुँदै दक्षिण अफ्रिकासम्मको रुटमा अन्तरदेशीय प्रसारण लाइन निर्माण हुनेछ । यो प्रसारण लाइन निर्माण गर्न मात्रै ४ अर्ब अमेरिकी डलर खर्च हुने अनुमान छ । दक्षिण अफ्रिकासँगै अन्य अफ्रिकन देशमा पनि यो आयोजनाको विद्युत पहुँच पुग्नेछ ।
 
इंगा–३ आयोजना सार्वजनिक निजी साझेदारी ९पिपिपी० मोडलमा अघि बढेको हो । इंगा झरनाको पानी उपयोग हुने गरी यसअघि ३ सय ५१ मेगावाटको इंगा–१ र १४ सय २४ मेगावाटको इंगा–२ आयोजना निर्माण भई सञ्चालनमा छन् । तत्कालिन मोबुतु सरकारले सन् १९७२ मा इंगा–१ र सन् १९८२ मा इंगा–२ को निर्माण गरेको थियो । दुवै आयोजनाले जडित क्षमताको ४० प्रतिशतमात्रै विद्युत उत्पादन गरिरहेका छन् ।
 
इंगा–३ आयोजना निर्माण गर्ने चर्चा सन् १९५० देखि नै चलेको थियो । सुरुवाती चरणमा यो आयोजनामा फ्रान्स, बेल्जियम, चीन, ब्राजिल तथा दक्षिण अफ्रिकाले लगानीका लागि इच्छा देखाएका थिए । यसबिचमा कंगोमा गृहयुद्ध चर्कियो र आयोजनाको चर्चा पनि सेलायो ।
 
सन् २००३ मा गृहयुद्ध सकिएर शान्ति प्रक्रियामा गएपछि इंगा–३ आयोजना निर्माणको चर्चा पुनः सुरु भयो । सन् २००४ मा कंगोले वेष्टर्न पावर कोरिडोर ९वेष्टकोर०, अंगोला, वोट्स्वाना, नामिबिया, दक्षिण अफ्रिकाबीच आयोजना अघि बढाउन समझदारी गर्यो।
 
सन् २००९ मा कंगो वेष्टकोरबाट पछि हट्यो र आयोजना एक्लै अघि बढाउने निर्णयमा पुग्यो । आयोजना अघि बढाउन पहिलो चरणमा ठेक्का आह्वान गरी निजी कम्पनीसँग आवेदन मागियो । आवेदन दिनेमध्ये इन्टरनेशनल माइनिङ कर्पोरेशन बिएचपि कम्पनी छनोटमा पर्यो । तर, सन् २०१२ मा यो कम्पनीले आयोजनाबाट हात झिक्यो ।
 
सन् २०१३ मा विश्व बैंक तथा अन्य वित्तीय संस्थाले आयोजनामा लगानी गर्ने इच्छा देखाए । दक्षिण अफ्रिकाले यो आयोजनाले उत्पादन गर्ने विद्युत खरिद गर्ने प्रतिवद्धता जनायो । ऋण लगानी गर्ने वित्तीय संस्था र विद्युत खरिदकर्ता आएपछि पुनः अफ्रिकन विकास बैंकको सहयोगमा आयोजनाको अध्ययन सुरु गरियो ।
 
अध्ययनका क्रममा कंगो नदीको प्रवाह प्रभावित नहुने गरी आयोजनाको बाँधको नयाँ डिजाइन तयार गरियो । अध्ययनका क्रममा सुरुमा ४ हजार ५ सय मेगावाट पहिचान भएको आयोजनाको जडित क्षमता पनि बढेर ११ हजार ५० मेगावाट पुग्यो ।
 
प्रस्तावित ग्राण्ड इंगा परियोजना ७ चरणमा निर्माण सम्पन्न गर्ने योजना छ । इंगा–३ ग्राण्ड इंगा अन्तर्गत पहिलो चरणमा सम्पन्न गरिनेछ । १ खर्ब अमेरिकी डलर लागत अनुमान गरिएको ग्राण्ड इंगा सम्पन्न भएमा विश्वकै ठूलो परियोजना हुनेछ भने अफ्रिका भरमा विद्युत माग धान्ने छ ।
 
कंगोका १५ प्रतिशत जनतामा मात्रै विद्युत पहुँच पुगेको छ । ८५ प्रतिशत जनता परम्परागत ऊर्जाका स्रोतमा निर्भर छन् ।
 
उर्जा खबर को सहयोगमा अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुबाट अनुवाद ।

प्रतिक्रिया