भर्खरै

प्राकृतिक विपद्बाटः दुई करोड क्षति

  • प्रकाशित मिति : शनि, भदौ १३, २०७७
  • - रासस
title

दाङमा चार महिनाका अवधिमा प्राकृतिक विपद्बाट करिब रु दुई करोडको क्षति भएको छ । जिल्लाका १० पालिकाका विभिन्न स्थानमा आगलागी, पहिरो, करेन्टलगायतका घटनाका कारण साउन महिनाको अन्त्यसम्म करिब रु दुई करोडको क्षति भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।
 
गत वैशाखदेखि साउन महिनासम्मको अवधिमा प्राकृतिक विपद्का कारण रु एक करोड ८० लाख ९१ हजार ४४० बराबरको क्षति भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रका सूचनाकर्ता अजेन्द्र केसीले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार चार महिनाको अवधिमा सबैभन्दा धेरै क्षति साउन महिना भएको छ । साउनमा मात्रै रु एक करोड चार लाख ५४ हजार १५० बराबरको क्षति भएको छ । अन्य महिनाको तुलनामा साउनमा बाढीपहिरो, सर्पदंशलगायतका प्राकृतिक विपद्का घटना धेरै हुने भएकाले पनि क्षति बढेको केन्द्रले जनाएको छ । 
 
साउनमामा पहिरो, वर्षात्का कारण घर भत्किएका, करेन्ट, आगलागी, सर्पदंशसहित ६३ घटना भएका छन् । केन्द्रका अनुसार साउनमा भारी वर्षातका कारण घरगोठमा भएको क्षतिसम्बन्धी ३३ घटना भएका छन् । यसैगरी सर्पदंशका १५, पानीमा डुबेर मृत्यु भएका नौ, करेन्ट लागेका तीन र आगलागीका एक  घटना भएका छन् । यसैगरी असारमा १९ विपद्का घटनामा परेर रु ४५ लाख ८७ हजार २९० बराबरको क्षति भएको केन्द्रका सूचनाकर्ता केसीले जानकारी दिनुभयो ।
 
यसैगरी प्राकृतिक विपद्का कारण जेठमा रु १३ लाख ५० हजार र वैशाखमा रु आठ लाख बराबरको क्षति भएको केन्द्रले जानकारी दिएको छ । जेठमा प्राकृतिक विपद्का आठ र वैशाख महिनामा छ घटना भएका छन् । 

प्रतिक्रिया