भर्खरै

शतप्रतिशत नवीकरणीय ऊर्जाको उपयोगमा जोड

  • प्रकाशित मिति : आईत, भदौ १४, २०७७
  • - रासस
title

भदौ १४ काठमाडौ, नेपालमा नवीकरणीय ऊर्जा प्रविधि (सौर्य, वायोमास र वायु) को प्रशस्त सम्भावना रहेकाले विदेशबाट आयातित जैविक इन्धनलाई प्रतिस्थापन गरी हरित गृह ग्यास उत्सर्जनमा निर्भरता कम गर्न सकिने विज्ञहरुले बताएका छन् । राष्ट्रिय प्रशारण वा अन्य नवीकरणीय ऊर्जाबाट एकीकृत स्मार्ट ग्रिड वा ऊर्जा भण्डारणको प्रविधिमार्फत माग र आपूर्तिलाई सन्तुलित गरी भरपर्दो ऊर्जा प्रणालीको विकास गर्न सकिएमा ऊर्जा सुरक्षा र आत्मनिर्भर हुन सकिने आज यहाँ आयोजित वेबिनारमा विज्ञहरुको धारणा रहेको थियो । 
 
काठमाडौँ विश्वविद्यालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र नेपाल नवीकरणीय ऊर्जा परिसङ्घको संयुक्त आयोजनामा भएको कार्यक्रममा नेपालमा हाल १३ सय मेगावाट विद्युत् उत्पादन भएको र तीन वर्षभित्र झण्डै तीन हजार मेगावाट उत्पादन हुन गइरहेको, सौर्य तथा वायु ऊर्जाका ठूला आयोजनाहरु पनि सञ्चालन हुन गइरहेका तथा संस्थागत र व्यापारिक प्रयोजनका ठूला क्षमताका वायोग्यास प्लान्टहरु पनि धमाधम निर्माण भइरहेकाले विस्तारै नेपालले नवीकरणीय ऊर्जाबाटै ऊर्जाको समपूर्ण आवश्यकता परिपूर्ति गर्नसक्ने बताइएको छ ।
 
विद्युत्लाई बत्ती बाल्न मात्र नभई अन्य आर्थिक क्रियाकलापहरुमा पनि उपयोग गर्दा आयातित इन्धनको खपतलाई घटाउन सकिने र यसले राष्ट्रिय अर्थतन्त्रमा पनि योगदान पुग्ने भएकाले सरकार, विकास साझेदार र निजी क्षेत्रको सामूहिक प्रयासको खाँचो रहेको उहाँहरुको भनाइ छ । 
 
सो अवसरमा  राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले १५औं पञ्चवर्षीय योजनामा नेपालमा विकास गर्न नवीकरणीय ऊर्जासम्बन्धी विभिन्न लक्ष्यहरु राखिएको र त्यसको कार्यान्वयनबाट मुलुक पूर्णरुपमा विद्युत्मा आत्मनिर्भर बन्नसक्ने र छिमेकी मुलुकमा पनि बिजुली निर्यात गर्न सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।  उहाँले खाना पकाउन आयातित एलपी ग्यास र परम्परागत दाउरा, गुइँठाको खपत कम गर्न बिजुली, वायोग्यास र सुधारिएको चुलोको प्रयोगमा जोड दिइएको बताउनुभयो । 
 
पूर्वमन्त्री  गणेश साहले नवीकरणीय ऊर्जा स्रोतको उपयोग वृद्धि गरी कृषि उत्पादनदेखि भण्डारण र बजारीकरण गर्न सकिएमा खाद्यान्नमा पनि आत्मनिर्भर हुन सकिने धारणा राख्नुभयो । अष्ट्रेलियाली नेशनल युनिभर्सिटीका वैज्ञानिक प्रा एन्ड्रयू ब्लाकरले विश्वका अधिकांश देशहरु अहिले नवीकरणीय ऊर्जाको विकास र विस्तारमा लागिरहेकाले नेपालले पनि जैविक तथा परम्परागत इन्धनको निर्भरताको अन्त्य गरी यहाँ उपलब्ध सौर्य, वायु तथा वायोमासजस्ता नवीकरणीय ऊर्जा प्रविधिहरुको प्रवद्र्धनमा लाग्न सुझाव दिनुभयो । 
 
ऊर्जाविद् प्राडा जगन्नाथ श्रेष्ठले नवीकरणीय ऊर्जा स्वच्छ र दिगो ऊर्जा स्रोत भएकाले वातावरण र जनस्वास्थ्यको साथै लागतको हिसाबले पनि अन्य ऊर्जा स्रोतभन्दा निकै सस्तो पर्ने भएकाले यसको विकासमा जोड दिनु आवश्यक रहेको बताउनुभयो । केन्द्रका पूर्व कार्यकारी निर्देशक डा नारायण चौलागाईंले नवीकरणीय ऊर्जा प्रविधिको उपयोगका लागि सरकार र विकास साझेदारहरू मिलेर काम गरिरहेको उललेख गर्नुभयो ।  
 
सो अवसरमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्राडा सुवोध शर्मा र प्राडा सुनील लोहानी, केन्द्रका डा लक्ष्मणप्रसाद घिमिरे र  नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका पूर्व अध्यक्ष नवीन भुजेलले नेपालमा नवीकरणीय ऊर्जाको क्षेत्रमा भइरहेको प्रगति र समस्याहरुका बारेमा प्रकाश पार्नुभएको थियो ।
 
परिसङ्घका अध्यक्ष गुणराज ढकालले सबैको लागि आधुनिक ऊर्जामा पहुँच विस्तार गरी दिगो विकास लक्ष्य हासिल गर्न सरकारले निजी क्षेत्र र दातृ संस्थाहरुसँग सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रतिक्रिया