भर्खरै

‘होम डेलिभरी’ सञ्चालनमा मापदण्ड बनाइने

  • प्रकाशित मिति : आईत, भदौ १४, २०७७
  • - रासस
title

भदौ १४ काठमाडौ, कोभिड–१९ सङ्क्रमण जोखिम रोक्न उपत्यकामा जारी गरिएको निषेधाज्ञा विपरित सञ्चालन भएको ‘होम डेलिभरी’ सेवालाई व्यवस्थित गर्न मापदण्ड बनाइने भएको छ । 
 
विना सावधानी उक्त सेवा दिँदा मानिसको घरघरमा कोभिड–१९ को सङ्क्रमण हुनसक्ने जनाउँदै स्थानीय प्रशासनले उक्त सेवा रोकेपछि आज भएको बैठकले मापदण्ड बनाएर मात्रै सञ्चालन गर्न दिने निर्णय गरेको हो । सेवा दिँदा अपनाउनु पर्ने मापदण्ड तयार गर्न आजको बैठकले एक समिति गठन गरेको काठमाडौँका प्रमखु जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिनुभयो ।
 
सहायक प्रमुख जिल्ला अधिकारी जनकराज भट्टको नेतृत्वमा गठन गरिएको उक्त समितिमा बाणिज्य विभाग, स्वास्थ्य कार्यालय र प्रहरी अधिकृत प्रतिनिधि रहेका छन् । प्रहरीले बिहिबारदेखि डेलिभरी सेवा रोकेपछि नेपाल इ–कमर्स तथा अनलाइन डेलिभरी सेवा सञ्चालकको साझा फोरमले सुरक्षा सावधानी अपनाएर सामान डेलिभरी गर्न पाउनुपर्ने माग राख्दै प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो । 
 
समितिले इकमर्स कम्पनीसँग समेत सुझाव लिएर निर्णय गर्ने समितिका संयोजक भट्टले जानकारी दिनुभयो । डेलिभरी सेवा प्रदायक कम्पनीको साझा फोरमका संयोजक सागरदेव भट्टले होम डेलिभरीलाई बिहान ०५ देखि बेलुकी ९ बजेसम्म निर्वाधरुपमा सञ्चालन गर्न दिन तथा सेवामा खटिएका कर्मचारीलाई घर र कार्यालय आवातजावतमा गर्न दिन स्थानीय प्रशासनसँग माग गर्नुभयो । 
 
उहाँले डेलिभरी सेवाका कारण मानिस जोखिम मोलेर घरबाट बाहिर निस्किनुपर्ने बाध्यताको अन्त्य हुने बताउनुभयो । स्वास्थ्य सुरक्षा सावधानी अपनाएर गरिने होम डेलिभरी सबैभन्दा सुरक्षित रहेको उनीहरुको तर्कछ । 

प्रतिक्रिया