भर्खरै

ललितपुरमा बल्न थाले स्मार्ट बत्ती

  • प्रकाशित मिति : सोम, भदौ २२, २०७७
  • - Admin
title

 
भदौं २२ ललितपुर । ललितपुर महानगरपालिकाका मुख्य सडकमा धमाधम ‘स्मार्ट’ बत्ती जडान भइरहेका छन् । महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान गर्न थालिएको हो ।
 
अहिले सातदोबाटोदेखि लगनखेल, लगनखेलदेखि कुमारीपाटी, कुमारीपाटीदेखि जावलाखेल, जावलाखेलदेखि  पुल्चोक र  पुल्चोकदेखि कुपण्डोलसम्म पोल राखेर बत्तीको लाइन राख्ने काम भइरहेको छ । ६ सय ६९ बत्ती राख्न आवश्यक रहेको महानगरले जनाएको छ । त्यसमध्ये तीन सय ३२ नयाँ पोलमध्ये एक सय आठ पोल गाडिसकिएको छ । यसअघि भएका पुराना पोलको प्रयोग गरिएको छ । जुन ठाँउमा बत्ती राख्नुपर्ने हो त्यो ठाँउमा पहिलेकै पोल भएमा त्यही पोल प्रयोग गरिएको छ ।
 
ठाँउ–ठाँउमा नाङ्गो तार पनि छन्, त्यो हटाएर एबीसी तार राख्ने काम भइरहेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार १९ सय पाँच मिटर तार राखिसकिएको छ ।  कुपण्डोलदेखि पुल्चोकसम्म र  सातदोबाटोदेखि लगनखेलसम्म स्मार्ट बत्ती बल्न थालिसकेको छ । लगनखेल, कुमारीपाटी र जावलाखेल क्षेत्रमा भने पोल गाड्ने काम भइरहेको छ ।
 
ललितपुर महानगरले पहिलो चरणमा तीन वटा रूटमा सडक बत्ती जडान गर्दैछ । पहिलो रूट कुपण्डोलको वाग्मती पुलबाट जावलाखेल, लगनखेल हुँदै सातदोबाटो पर्छ भने दोस्रो रूट हिमालयन होटल, पाटन ढोका, अशोक हल, मङ्गलबजार हुँदै लगनखेल पर्छ । त्यस्तै पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्कोसम्मको बाटोलाई तेस्रो रूट तोकिएको छ ।
 
पहिलो चरणको काम आधा सकिएको छ । त्यसपछि दोस्रो चरणको काम गर्न अध्ययन भइरहेको महानगरपालिकाले जनाएको छ । दोस्रो चरणमा एकान्तकुनाबाट बुङमती, खोकना र सातदोबाटोबाट सुनाकोठी हुँदै धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको छ ।
 
रातको समयमा सर्वसाधारणको आवत जावत सहज र सुरक्षित बनाउन स्मार्ट बत्ती जडान गर्न थालिएको प्रवक्ता महर्जनले बताउनुभयो । सडक बत्तीमा महानगरको खर्च घटाउन र वैज्ञानिक हिसाबले व्यवस्थापन गर्न स्मार्ट प्रणाली रोजिएको उहाँको भनाइ छ ।
 
यो बत्ती सोलार बत्तीभन्दा कम खर्चमा जडान हुने महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो बत्ती सोलार बत्तीभन्दा निकै किफायती र प्रभावकारी भएको एक अध्ययनले नै देखाएको छ ।’ यो परियोजनाको भ्याटसहित कुल लागत पाँच करोड बीस लाख रुपैयाँ रहेको महानगरले जनाएको छ । सडक बत्ती बालेबापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुने र मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी गर्ने महानगरले जनाएको छ ।
 
यो सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । त्यसैले पोलैपिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न बत्ती जडान भएको ठाउँमा जानुपर्दैन, सर्भर रुमबाट नै गर्न सकिन्छ । सर्भर रुम भने विद्युत् प्राधिकरणमै रहने छ । यो बत्ती साँझको समयमा बढी चहकिलो हुन्छ तर मध्यराति भने केही मधुरो बल्छ । गाडी वा बटुवाको चाप हेरेर बत्ती स्वतः चहकिलो र मधुरो हुँदै जान्छ । उज्यालो अनलाईन
 
 

प्रतिक्रिया