भर्खरै

ढोलाहिटी–सुनाकोठी सडक कात्तिकसम्ममा कालोपत्र गरिने

  • प्रकाशित मिति : सोम, भदौ २९, २०७७
  • - रासस
title

बिस्तारको क्रममा रहेको ढोलाहिटि–सुनाकोठी सडक आगामी कात्तिकसम्ममा कालोपत्र गरिने भएको छ । तीन किलोमिटर लम्बाईको यो सडकमा अहिले काम भइरहेको काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले जनाएको छ । सो खण्डको निर्माणको जिम्मेवारी पाएको शैलुङ निर्माण कम्पनीले काम गरिरहेकाले कात्तिकसम्म सकिने देखिएको आयोजना प्रमुख गुरु अधिकारीले बताउनुभयो । सो सडकमा कालोपत्र चाँडो गर्नुपर्ने माग गर्दै गत असारमा स्थानीयवासीले सडक अवरुद्ध गरेका थिए ।
 
आयोजनाले चाहेर पनि पहिले तोकिएको मापदण्ड २० मिटर चौडाईमा निर्माण गर्न खोज्दा ढिलाई भएको उहाँले बताउनुभयो । मन्त्रीपरिषद्को बैठकले यो लगायत उपत्यकामा बिस्तारका क्रममा रहेका सबै सडकमा उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेकाले सोहीअनुसार गर्न लागिएको हो । उहाँले भन्नुभयो, “कुनै पनि संरचना नभत्काई भएकै चौडाइमा कालोपत्र भइरहेको छ ।”
 
ढोलाहिटी–लेले सडक बिस्तार चार वर्ष पहिले शुरु भएको थियो । अहिले पनि टाखेल–लेलेलगायतका चौडाई उपलब्ध भएका स्थानमा मापदण्डानुसार नै बिस्तार भइरहेको छ ।
 
आयोजनाले गत वर्ष नै ठेचोबाट टाखेलसम्मको सडक निर्माण गरेको थियो । उपत्यकामा बिस्तारका क्रममा रहेका सडक छेउमा घर भएका स्थानीयवासीले घरलगायतका संरचना भत्काउन नमानेपछि लामो समयसम्म सडक निर्माण अवरुद्ध बनेको थियो । जति चौडाई उपलब्ध छ त्यसैमा निर्माण गर्ने सरकारको निर्णय पछि भने आयोजनाले सबै सडकको निर्माण अघि बढाएको छ । आगामी पुससम्ममा सबै सडक सम्पन्न गर्ने आयोजनाको योजना छ । 

प्रतिक्रिया