बाढीले बगाएर तौलिहवा वितरण केन्द्रका दुई कर्मचारीको निधन

  • प्रकाशित मिति : बुध, असोज ७, २०७७
  • - ऊर्जा खबर
title

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण तौलिहवा वितरण केन्द्रमा कार्यरत दुई कर्मचारीको आज ९असोज ७ गते बुधबार० साँझ गाडी सहित बाढीले बगाउँदा निधन भएको छ । काम गरेर फर्किँदै गर्दा वाडगंगा खोलामा आएको बाढीले गाडीसहित बगाएको प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले जानकारी दिइन् ।
 
अर्यालका अनुसार मृत्यु हुने सुपरभाइजर कृष्ण पौडेल र सवारी चालक माधव पाण्डे छन् । साथै, गाडीमा सवार एक जना उपभोक्ताको पनि मृत्यु भएको उनले जानकारी दिइन् । गाडीमा दुई ज्यालादारी कर्मचारी र अर्का एक जना उपभोक्ता भने खोलामा हाम फालेर पौडेर बाच्न सफल भएका छन् ।
 
मृतक पाण्डेको शव भेटिएको तर पौडेल र अर्का उपभोक्ताको समाचार तयार गर्दासम्म पत्ता लाग्न सकेको छैन । खोलाबाट गाडी समेत निकाल्न नसकेको जनाइएको छ । मृतक पौडेल र पाण्डे अर्घाखाँची र गुल्मी निवासी रहेको प्राधिकरणले जानकारी दिएको छ ।
 
विगत केही दिनदेखि अविरल वर्षा भइरहे पनि प्राधिकरणका कर्मचारी निरन्तर काममा खटिएकै छन् । वर्षा, हावाहुरी र प्राविधिक कारणले विद्युत् आपूर्तिमा आउने समस्या समाधानमा खटिँदा धेरै कर्मचारीले ज्यान गुमाउने गरेका छन् । वर्षा र प्राविधिक कारणले केही समय वा घन्टा सेवा अवरुद्ध हुँदा केही अराजक व्यक्ति तथा समूहले लोडसेडिङ सुरु भएको हौवा फैलाइरहेका छन् ।ऊर्जा खबर  

प्रतिक्रिया