भर्खरै

८ सय २३ वटा सडक बत्ती जडान भएपछि नगरवासी खुसी

  • प्रकाशित मिति : आईत, असोज १८, २०७७
  • -
title

नवलपरासी, असोज ।  नवलपरासी बर्दघाट सुस्ता पश्चिमस्थित बर्दघाट नगरपालिकाले नगर उज्यालो कार्यक्रम अन्र्तगत नगर क्षेत्रभित्र सार्वजनिक सडक बत्ती जडान गरेको छ ।
 
नगरले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बर्दघाट शाखाको समन्वयमा टोलटोलका विद्युत पोलमा ८ सय २३ वटा सार्वजनिक सडक बत्ती जडान गरेको हो ।
 
कार्यक्रम अन्र्तगत ८ सय २३ वटा विद्युतका पोलमा स्वचालित बत्ती जडान गरिएको नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिए । ‘कार्यक्रम अन्र्तगत सडक बत्ती जडान गरेका छौ, नगरवासीको माग अनुसार थप गर्दै जाने छौ,’ उनले भने । विद्युत प्राधिकरणसँगको सहकार्य  र टोल विकास संस्थाहरुले ती सडक बत्तीको संरक्षण गर्ने गरी सडक बत्ती जडान गरिएको हो ।
नगर उज्यालो कार्यक्रम अन्र्तगतको सडक बत्ती जडान कार्यले समाजमा चोरी तथा अन्य अपराधिक क्रियाकलापहरु समेत न्युनिकरण हुने नगर प्रमुख बस्यालको विश्वास छ । बर्दघाट नगरपालिका गण्डकी प्रदेशबाट प्रदेश ५ जोडने प्रवेशद्वार समेत मानिन्छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याका अनुसार विद्युत प्राधिकरणसँग विद्युतको पोल प्रयोग गर्ने सम्झौता गरेर प्रति बत्ती मासिक एक सय ५५ रुपैया उपभोक्ताले तिर्ने गरी बत्ती जडान गरिएको हो ।
नगरमा क्रियाशिल टोल विकास संस्थासंँगको समन्वयमा ८ सय २३ वटा स्वचालित सडक बत्ती जडान गरिएको पाध्याले बताए । नगरले तीन महिनाको बत्तीको महसुल समेत भुक्तानी गरेको छ ।
तीन महिनाको विद्युत शुल्क समेत नगरले विद्युतलाई भुक्तानी गरेको छ ,मर्मत खर्च समेत नगरले बेहोर्छ – प्रमुख प्रशासकीय अधिकृत पाध्याले भने, ‘सडक बत्तीको रेखदेख सम्बन्धित वडा कार्यालय मार्फत टोल विकास संस्थाले गर्नेछ ।’
 
त्यस्तै नगरले ५० वाट क्षमताको अध्यारो भएपछि आफै बल्ने र उज्यालो हुँदा आफै निभ्ने सडक बत्ती निशुल्क जोडेपछि वडा वडाका टोलहरु झिलिमिलि भएको स्थानीयले बताएका छन् ।
दिव्यनगर टोल विकास संस्थाका अध्यक्ष लक्ष्मणनाथ योगीले टोलमा २९ वटा सडक बत्ती जडान भएपछि टोल नै झिलिमिली भएको जानकारी दिए । शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष सोविर पुनले सडक बत्तीले टोल झिलिमिली भएको बताए । 

प्रतिक्रिया