भर्खरै

बारम्बारको पत्राचार पछि पनि विद्युत् पोल नसार्दा सडक निर्माणमा ढिलाइ, प्रधिकरणको वेवास्था

  • प्रकाशित मिति : शुक्र, असोज ३०, २०७७
  • - रासस
title

असोज ३० काठमाडौ, समयमै विद्युतको पोल व्यवस्थापन नहुँदा टीकापुरमा निर्माणाधीन छ लेन सडकको निर्माण ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइनमा रहेका विद्युत् पोल नसार्दा सडक निर्माणको काम प्रभावित बनेको हो । कैलालीको टीकापुर नगरपालिका–१ जमरापुलदेखि बसपार्कसम्मको निर्माणाधीन छ लेन सडक क्षेत्रभित्र ३३ केभीअन्तर्गतका १४ वटा पोल सार्नुपर्ने भएको छ । छ लेन सकड निर्माणाधीन क्षेत्रमा सातवटा टावर र सातवटा टिबलर पोल रहेका छन् ।
 
यी पोल झण्डै ३६ वर्षअघि निर्माण गरिएको बताइन्छ । तत्कालीन अवस्थामा फराकिलो सडक र बस्ती कम भएका कारण बजार क्षेत्रबाटै ३३ केभी प्रसारण लाइन लगिएको थियो । हाल बस्ती बढेसँगै ३३ केभी प्रसारण लाइन बजारको मध्यभागमा पर्न गएको स्थानीयवासी बताउँछन् । सडकमा भएका विद्युतका पोल समयमै व्यवस्थापन नहँुदा सडक निर्माणमा ढिलाइ भइरहेको निर्माण कम्पनीका इञ्जीनियर गगनजङ्ग शाहीले बताए ।
 
“एकातिर कोरोना भाइरस सङ्क्रमणको जोखिम बढेपछि कारण देशमा लकडाउन हुँदा कामदार घर फर्किए । त्यो समयमा काम निरन्तर गर्न सकिएन”, इञ्जीनियर शाहीले भने, “सकड निर्माणकार्य शुरु भएदेखि नै विद्युत् कार्यालयलाई पोल हटाइदिन आग्रह गरिरहेका छौँ । विद्युत् पोल नहटाएकै कारण काम प्रभावित भएको छ ।”
 
नेपाल सरकारको सघन शहरी विकास कार्यक्रमबाट कैलालीको टीकापुर नगरपालिकामा जमरापुलदेखि बसपार्कसम्म छ लेनको सडक निर्माण भइरहेको हो । सडक रमन के एस जेभी धनगढीले रु १३ करोड ८९ लाख १९ हजार ७८६ मा निर्माण गरिरहेको छ । निर्माण कम्पनीले अहिले सडकको नाली बनाउने, पर्खाल चिन्ने र कल्भर्ड निर्माण गर्ने काम गरिरहेको छ ।
 
दुई वर्षभित्र काम सक्ने गरी विसं २०७५ फागुन फागुन १५ गते निर्माण कम्पनीले ठेक्का लिई निर्माणको काम शुरु गरेको हो । आगामी २०७७ फागुन १५ भित्र काम सक्ने गरी सम्झौता भए पनि कोरोना महामारी र विद्युत्का पोल नहटेकै कारण समयमा काम सकिने अवस्था नरहेको ठेकेदार कम्पनीले जनाएको छ । सघन शहरी विकास कार्यक्रमअन्र्तगत लम्की–खक्रौला सडकखण्डको टीकापुर मुख्य बजारमा पर्ने टीकापुर नगरपालिका–१ जमरापुलदेखि बसपार्कसम्मको दुई दशमलव तीन किलोमिटरमा छ लेन सडक निर्माण भइरहेको हो ।
 
निर्माण पक्षले प्रसारण लाइनका कारण सडक निर्माणमा ढिलाइ भइरहेको बताएको छ । “बारम्बार पत्राचार गरेका छौँ, विद्युत् कार्यालयलाई प्रसारण लाइन हटाइदिन आग्रह गरिरहेका छौँ”, इञ्जीनियर शाहीले भने, “कयौँ पटक भेटेर पनि आग्रह ग¥यौँ तर पनि कार्यालयले वास्ता गरेको छैन, काम गर्न समस्या भएको छ ।”
 
सङ्घीय आयोजना कार्यान्वयन कार्यालय कैलालीले समेत विद्युत् कार्यालयलाई प्रसारण लाइन हटाउन निर्देशन दिइसकेको छ । विद्युत् लाइन नसारेकै कारण सडक निर्माणका क्रममा काम गर्नसमेत जोखिम रहेको बताइन्छ । विद्युत् कार्यालय टीकापुरका प्रमुख हिमांशुकुमार यादव पोल सार्ने बारेमा स्टिमेट गरेर शहरी विकास मन्त्रालयमा पठाइसकेको बताए । “स्टिमेट शहरी विकास मन्त्रालय पठाइसकेका छौँ, त्यहाँबाट ऊर्जा मन्त्रालयमा आउनुप¥यो”, कार्यालय प्रमुख यादव भन्छन्, “मन्त्रालयबाट प्राधिकरणको खातामा रकम जम्मा भएमा हामी बोलपत्र गरेर सार्ने काम गर्छौँ ।”
 
सङ्घीय सरकारको सहयोगमा टीकापुरमा अहिले छ लेनको सडक कालोपत्रसहित, ब्लक ‘ए’ का सबै सडक कालोपत्र र भ्यूटावरसहितको घण्टाघर निर्माण भइरहेका छन् । व्यवस्थित बसपार्क भने निर्माण सम्पन्न भई टीकापुर नगरपालिकालाई हस्तान्तरण गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माण गरिने

विराटनगर, १५ चैत । कोशी प्रदेशका मुख् 10 hours ago

शान्तिपूर्ण रूपमा देशभर एकैसाथ एसइई परीक्षा सुरु

भक्तपुर, १५ चैत । राष्ट्रिय परीक्षा ब 15 hours ago