सेती नदी जलविद्युतका लागि ३ अर्ब ५० करोड लगानी सम्झौता

  • प्रकाशित मिति : सोम, कार्तिक १७, २०७७
  • - विद्युत संसार संवाददाता
title

बुटवल, कात्तिक । २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाका लागि ३ अर्ब ५० करोड ऋण लगानी सम्झौता भएको छ । 
पाँच अर्ब रुपैयाँको लागत अनुमान गरिएको उक्त जलविद्युत आयोजनाको निर्माण कार्यका लागि एनएमबि बैँकको नेतृत्वमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ऋण लगानी गर्ने भएका हुन् ।
भिजन लुम्बिनी उर्जा प्रवद्र्धन कम्पनीद्वारा कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सो आयोजनाको सिभिल तर्फको काम १० प्रतिशत सम्पन्न भएको भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए । सो आयोजनाको लागि एनएमबि बैँकमार्फत २२० करोड, कर्मचारी सञ्चय कोषमार्फत ८० करोड र कृषि विकास बैंक लि.मार्फत ५० करोड गरी जम्मा ३५० करोड ऋण लगानी हुने सम्झौता भएको पोखरेलले बताएका छन् ।
 
आयोजनाका लागि बैंकहरुको तर्फवाट कुल लागत ५०० करोडको ७० प्रतिशतले हुने रकम ३५० करोड ऋण लगानी हुनेछ । त्यस्तै काठमाडौं, पोखरा, चितवन, तनहुँ (विशेषगरी बुटवलवासी र माछापुच्छ्रे गाँउपलिकाका स्थानीयहरु समेत) शेयरधनी भई प्रवद्र्धकहरुको तर्फवाट ३० प्रतिशतले हुन आउने १५० करोड रकम लगानी हुने सम्झौतामा उल्लेख गरिएको छ । आयोजनाले विद्युत उत्पादनपछि आइपिओ मार्फत स्थानीय र सर्वसाधारणको लागि शेयर जारी गर्ने कम्पनीले जनाएका छन् । 
 
 
 
विगत ९ महिनादेखि निर्माणको काम भईरहेको आयोजना आगामी १८ देखि २० महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य रहेको भिजन लुम्बिनीका संचालक ज्ञानेन्द्र कसजुले बताए । 
पोखरेलले नमूना जलविद्युत परियोजनाको रूपमा स्थापित हुने गरी समयमा नै आयोजना सम्पन्न गरिने प्रतिबद्वता जनाए । आयोजनाको सुपरिवेक्षणको काम हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडले गर्दै आएको छ । आयोजनाबाट उत्पादित विद्युत कास्कीको लाहाचोकमा रहेको प्राधिकरणको सब–स्टेशनमा जोडिने अर्का सञ्चालक विनोद ज्ञवालीले बताए । 
आयोजनाका लागि नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, उद्योग विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय तथा वातावरण मन्त्रालयवाट लिनुपर्ने अनुमति तथा इजाजतपत्रहरु लिने कार्य सम्पन्न भइसकेको छ । आयोजनाको डिटेल प्रोजेक्ट रिपोर्टको काम हाइड्रो कन्सल्ट एण्ड विडिए जेभीले सम्पन्न गरिसकेको छ ।
 
कम्पनीले आयोजनाको लागि पहुँचमार्ग निर्माणको काम र जग्गा खरिदको काम पनि सम्पन्न गरिसकेको छ भने सिभिल निर्माणको कार्य रसुवा लुना जेभीले गरिरहेको छ । 

प्रतिक्रिया