विस्थापन हुँदै खरका छाना, स्थानिय भन्छन्ःबर्खायाममा ढुक्कले निदाए

  • प्रकाशित मिति : मंगल, कार्तिक १८, २०७७
  • - रासस
title

कात्तिक १८ काठमाडौ । गुल्मीका १२ स्थानीय तहका आठ हजार विपन्न घरका छानामा टिन (जस्ता) लगाइएको छ । स्थानीय तहको सहयोग प्राप्त भएपछि यहाँका सर्वसाधारणले खरका छाना विस्थापन गर्न सकेका हुन् । खरका छाना विस्थापित भएसँगै उनीहरु पानी चुहिने समस्याबाट मुक्त भएका छन् । 
 
मदाने गाउँपालिका–६ पुर्कोट दहका प्रेमबहादुर विश्वकर्मा विगत दुई वर्षका बर्खायाममा ढुक्कले निदाए । खरको छाना हुँदा चुहिने घरमा अहिले जस्तापाता लगाएपछि उनलाई मिठो निद्रा पर्न थालेको हो । विसं २०७५ माघमा मदाने गाउँपालिकाले निःशुल्क जस्तापाता उपलब्ध गराएपछि उनी बर्खायाममा पानी चुहिने समस्याबाट मुक्त हुनुभएको छ । “पहिले–पहिले पानी चुहिएर रातमा निदाउनै पाइने थिएन”, उनले भने, “यो वर्ष ढुक्कले निदायौँ ।” सोही ठाउँकी सुन्तली विकको घर पनि खरले छाएको थियो । पानी परे चुहिने डर, खडेरी पर्दा आगलागीको डर । त्यही डरलाई दृष्टिगत गर्दै गाउँपालिकाले जस्तापाता दिएपछि उनको डर हराएको छ । 
 
“घरका बालबच्चासँग डरैडरमा बाँचेकी थिए”, उनले भने, “घरमा टिनका छाना लगाउँछौ भन्ने सोचेकी पनि थिइनँ ।” विक परिवारमात्र होइन, अहिले जिल्लाका धेरै परिवारका छाना जस्ताले छाएको छ । खरका छाना भएका गाउँ टिनले टल्कन थालेका छन् । स्थानीय तहको निर्वाचन भइसकेपछि खरका छाना विस्थापन गरी टिनका छाना लगाउने कार्यले तीव्र गति पाएको छ । कतिपय स्थानीय तहमा सबै घरमा खरका छाना विस्थापन गरिएको भने कतिपयमा अन्तिम चरणमा पुगेको छ । खरका छाना विस्थापन भई जस्तापाता लगाएसँगै नागरिक पनि खुसी भएका छन् ।
 
धुर्कोट गाउँपालिकाले शुरु गरेको खरका छाना विस्थापन गरी जस्तापाता लगाउने अभियान अहिले देशव्यापी चलेको छ । सोही कार्यक्रमअन्तर्गत केही स्थानीय तहले आफ्नो स्थानीय तह भित्रका सबै खरका छाना विस्थापन गरिसकेका छन् । जिल्लाको क्षेत्र नं २ का स्थानीय तहले मात्रै टिनका छानामा रु २० करोड खर्चिएका र चार हजार घरलाई खरका छानामुक्त बनाएका छन् । कोरोनाको कारण खरका छानामुक्त गाउँपालिका घोषणा गर्नमात्र बाँकी रहेको गाउँपालिकाका सूचना अधिकारी ऋषि पोखरेलले जानकारी दिए । 
 
धुर्कोट गाउँपालिकामा अहिलेसम्म ५५० भन्दा बढी घरमा टिनका छाना लगाइएको छ । सो जस्तापाताका लागि रु दुई करोड बजेट खर्च भएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । “स्थानीय तहको निर्वाचनमा निःशुल्क जस्तापाता दिने आश्वासन दिएका थियौँ”, उनले भने, “अहिले त्यसैलाई सार्थकता दिँदैछौ ।” मुसिकोट नगरपालिकामा खरका छाना विस्थापित गरी टिनका छाना पाउने कूल लाभग्राही सङ्ख्या ९९३ हुन् । जसमध्ये सबै परिवारले टिन पाएको नगरप्रमुख सोमनाथ सापकोटाले बताए । 
 
जस्तापाता वितरणका लागि अहिलेसम्म कूल रु चार करोड खर्च भएको सापकोटा बताए । कोभिडका कारणले खरका छानामुक्त नगरपालिका घोषणा गर्न नसकिएको उनको भनाइ छ । मालिका गाउँपालिकाका कूल लाभग्राही एक हजार ४७ परिवार हुन् । जसमध्ये ९२८ घरधुरी खरका छानामुक्त भइसकेका छन् । बाँकी ११९ परिवारलाई चालू आर्थिक वर्षमा जस्ता उपलब्ध गराइने गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले जानकारी दिए । गाउँपालिकाले टिनका छाना खरिदमा अहिलेसम्म रु तीन करोड ९० लाख खर्च गरेको छ । 

प्रतिक्रिया