भर्खरै

युनाईटेड इदी–मर्दीले दोश्रो चरणमा ८ लाख ७३ हजार आईपीओ जारी गर्ने

  • प्रकाशित मिति : शुक्र, कार्तिक २१, २०७७
  • - प्रदिप श्रेष्ठ
title

कार्तिक, काठमाडौं । युनाईटेड इदी–मर्दी एण्ड आरवि हाईड्रोपावरले दोश्रो चरणमा ८ लाख ७३ हजार ९१० कित्ता शेयर जारी गर्ने भएको छ ।
कम्पनीले यहि कार्तिक २७ गतेदेखि प्राथमिक शेयर (आईपीओ) जारी गर्ने भएको हो । 
 
हालैमात्र कास्की जिल्लाका स्थानीय बासिन्दालाई पहिलो चरणमा निष्काशन गरी बाँडफाँड गरिसकेको कम्पनीले पुन दोस्रो पटक आईपिओ निष्काशन गर्न लागेको छ  ।  
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुको लागि चुक्ता पुँजीको १० प्रतिशतले हुने ४ लाख २० हजार कित्ता शेयर छुट्याएको थियो । जसमध्ये एक लाख ७६ हजार ९० कित्ता शेयर बाँडफाँड गर्दा २ लाख ४६ हजार ९१० कित्ता शेयर बाँकी रहेको छ । 
 
त्यसैले सर्वसाधारणको लागि छुट्याएको ६ लाख ३० हजार कित्ता शेयरमा उक्त बिक्री नभएको २ लाख ४६ हजार ९१० कित्ता शेयर गरी कूल ८ लाख ७३ हजार ९१० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार इच्छुकले न्युनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता शेयरको लागि आवेदन दिन सक्नेछन् ।
 
 
सामूहिक लगानी कोषमा ४३ हजार ६९६ कित्ता शेयर बाँडफाँड गरेपश्चात ८ लाख १२ हजार ७३६ कित्ता शेयर बाँकी रहेको छ । र, कर्मचारीहरुको लागि १७ हजार ४७८ कित्ता शेयर सुरक्षित गरिएको कम्पनीले जनाएको छ ।
 
यदि सो अवधिसम्ममा कम्पनीको माग अनुसारको बिक्री नभए शेयरधनीले ढिलोमा मंसिर ११ गतेसम्म आवेदन दिन सक्ने शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी गराएको छ । 
उक्त शेयर निष्काशनको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । यससँगै इच्छुक शेयरधनीले आगामी कार्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म उक्त सेयरमा आवेदन दिन सक्नेछन् । 
 
 
कम्पनीको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०७६/२०७७ मा कम्पनीको प्रतिशेयर खुद सम्पत्ति ८५.८२ रुपैयाँ र प्रतिशेयर आम्दानी (१२.९७) रुपैयाँ अर्थात ऋणात्मक रहेको छ । त्यसैगरी, गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १२.९७ रुपैयाँ ऋणात्मक रहेको छ भने चालु आवमा ८.३३ रुपैयाँ धनात्मक हुने प्रक्षेपण गरेको छ ।

प्रतिक्रिया