प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य ! , कुलमानले पाएनन् पुन नियुक्ति

  • प्रकाशित मिति : आईत, कार्तिक २३, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, कात्तिक । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको रुपमा एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका हितेन्द्रदेव शाक्यलाई जिम्मेवारी दिने भएको छ ।
 
शाक्यलाई जिम्मेवारी दिने तयारी भएसँगै कुलमान घिसिङ पुन नियुक्ति नहुने भएका छन् । 
 
ऊर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुनले शाक्यलाई प्राधिकरणमा काज फिर्ता गराउन निर्देशन दिएसँगै उनले कार्यकारी निर्देशकको जिम्मेवारी पाउने चर्चा चुलिएको हो । 
 
गत शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उनलाई काज फिर्ता गर्ने निर्णय गरेको थियो । आजै आफुले काज फिर्ताको पत्र पाएको शाक्यले सञ्चार माध्यमहरुसँग बताए । उनले भने, ‘मैले पत्र त पाए, आजै बरबुझारत गरेर प्राधिकरण जान्छु ।’ 
शाक्यका अनुसार प्राधिकरणको कार्यकारी निर्देशक बन्नका लागि आफ्नो सबै योग्यता पुरा भएको बताउँदै भन्छन,‘बरिष्ठको आधारमा हुनुपर्ने त म नै हो तर उर्जा मन्त्रालयको सिफारिसमा मन्त्रिषरिदले टुङ्गो लगाउने भएकाले अहिले नै भन्न सक्ने अवस्था छैन । ’यद्यपि, सरकारले आफुलाई नै कार्यकारी निर्देशकको पनि जिम्मेवारी दिनेमा उनी विश्वस्त देखिन्छन् । 
 
प्राधिकरणमा रिक्त दरबन्दीमा सिनियरमध्येबाट नै जिम्मेवारी तोक्ने प्रावधान छ । तर प्राधिकरणबाट उनी बाहिर रहेकाले प्राधिकरणमै भएका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । अहिले उनले नै प्राधिकरण सम्हालिरहेका छन् । शाक्य फिर्ता भएपछि कोइराला भन्दा बरियतामा माथि रहेका शाक्यले निमित्त कार्यकारी निर्देशक पाउँने र पछि उनलाई नै कार्यकारी निर्देशक दिने गरी तयारी थालिएको मन्त्रालय स्रोतले बताएको छ । 
 
गत भदौ २९ गते कुलमान घिसिङको ४ वर्षे कार्यकाल पूरा भएर बाहिरिएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई तोकिएको थियो । कुलमानलाई नै दोहोर्याउँने आम नागरिकहरुको चाहना र मन्त्री पुनले दिएको अभिव्यक्तिले पनि अन्तमा मन्त्रिपरिषदमा यो विषयले ठाउँ पाउँन सकेन । 
यसअघि कार्यकारी निर्देशकमा विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंह, नेपाल पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवाली, प्राधिकरणका पूर्वसञ्चालक कृष्णप्रसाद दुलाल, प्राधिकरणका हितेन्द्र देव शाक्यको नाम चर्चामा थियो । यद्यपि कार्यकारी निर्देशक मन्त्रिपरिषदको निर्णयबाट हुने हो । मन्त्रिपरिषदले यी कुनै पनि नाम अनुमोदन गरेको छैन् ।  तर, अब शाक्यको सम्भावना अधिक रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया