भर्खरै

प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

  • प्रकाशित मिति : सोम, कार्तिक २४, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, कात्तिक । नेपाल विद्युत प्राधिकरणको रिक्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त गरिएको छ ।  
 
अर्को व्यवस्था नभइन्जेलसम्मका लागि भन्दै ऊर्जा मन्त्रालयले वरिष्ठताको आधारमा हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुिक्त गरेको हो ।
 
उनले सोमबार नै पदबाहाली गरेका छन् । उनी प्रधानमन्त्री केपी शर्मा ओलीका नातामा साला रहेको बताइएको छ ।  
 
उपकार्यकारी निर्देशक शाक्यलाई ‘एनईए इन्जिनियरिङ कम्पनी’बाट काज फिर्ता गरेर नियुक्ति दिइएको छ । ऊर्जामन्त्री वर्षमान पुन अनन्तले शुक्रबार प्राधिकरण सञ्चालक समिति बैठकमा शाक्यलाई कार्ज फिर्ता गराउन निर्देशन दिएका थिए ।
शाक्यलाई यसअघिका निमित्त कार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणको केन्द्रीय कार्यालयमा हाजिर हुन आइतबार निर्देशन दिएका थिए ।
अघिका निमित्त कार्यकारी निर्देशक रहेका कोइराला शाक्यभन्दा कनिष्ठ उपकार्यकारी निर्देशक थिए । शाक्य र कोइरालाको एउटै ब्याचमा १२औं तहका लागि बढुवा भएपनि ११ औं तहमा शाक्यको बढुवा कोइरालाको भन्दा छिटो भएको थियो । त्यसैले बरिष्ठतामा शाक्य कोइरालाभन्दा माथि छन् ।  यसअघि ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङको कार्यकाल सकिएपछि प्राधिकरण हाजिर गरिरहेका उपकार्यकारीमध्येबाट कोइरालालाई बरिष्ठताका आधारमा निमित्तको जिम्मेवारी दिएका थिए ।
 
तर, घिसिङको पुर्ननियुक्त गर्न असहमत भएका प्रधानमन्त्री केपी शर्मा ओलीले प्राधिकरणको बरिष्ठ अधिकारीलाई पन्छाएर कनिष्ठलाई निमित्तको जिम्मा दिएको भन्दै मन्त्री पुनसँग असन्तुष्टि पोखेका थिए ।
 
शाक्यले हाल नेतृत्व गरिरहेको एनईए इन्जिनियरिङ प्राधिकरणको सहायक कम्पनी हो । परामर्श एवम् इन्जिनियरिङ सेवामा विदेशिने रकम जोगाउन भन्दै २०७३ मा स्थापित कम्पनीको प्रवन्ध निर्देशकका रुपमा काम गर्न कुलमान घिसिङले नै शाक्यलाई पठाएका थिए ।
शाक्य प्रसारणलाइनका जानकार मानिन्छन् । उनी २०७३ अघि अमेरिकी सहयोग कार्यक्रम मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तरगत तयारी चरणको  परियोजनामा पनि खटिएका थिए । प्राधिकरणबाट घिसिङ बाहिरएपछि शाक्यले प्राधिकरणको कार्यकारी निर्देशकमा आफ्नो दावेदारी रहेको बताएका थिए ।
 
कुलमान घिसिङको कार्यकाल नथप्नुको मुख्य कारण यी नै हितेन्द्रदेव शाक्य लाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने तयारी रहेको चर्चा पहिले पनि चलेको थियो ।  अब अर्को व्यवस्था नहुन्जेल शाक्यले नै प्राधिकरणको नेतृत्व सम्हाल्ने छन् ।

प्रतिक्रिया