भर्खरै

रायखोरमा बिजुली, गाउँ झिलीमिली भएपछि खुशी

  • प्रकाशित मिति : बिही, कार्तिक २७, २०७७
  • - रासस
title

कात्तिक २७ काठमाडौ ।  रघुगङ्गा गाउँपालिका–६ का तीनवटा बस्तीमा बिजुली बलेको छ । नेपाल विद्युत् प्राधिकरण, गाउँपालिका र स्थानीयवासीको साझेदारीमा रायखोर, उल्लेरी र मूलपानीका ९१ घरमा केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गरिएको हो । सडक र यसअघि विद्युत् सुविधा नभएको यी बस्ती भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्छन् ।
 
रायखोरका बासिन्दासमेत रहनुभएका वडा सदस्य लीलबहादुर पुनले विद्युत् सुविधा भएपछि उज्यालोका लागि टुकी र सोलार बाल्नुपर्ने बाध्यता हटेकामा स्थानीयमा खुशीयाली छाएको जानकारी दिनुभयो । उज्यालोका साथै उद्योग व्यवसाय सञ्चालन गर्न, मोबाइल चार्ज गर्न, टेलिभिजन हेर्न, कम्प्युटर, ल्यापटप चलाउन सहज भएको छ । विद्युत् सुविधा भएपछि ग्रामीण जीवनशैली सुधारमा सहयोग पुगेको छ । गाउँलेको दैनिकी सहज भएको छ । छरिएको र सडक सुविधा नभएको तीन बस्तीका बासिन्दा बिजुली बलेर गाउँ झिलीमिली भएपछि खुशी भएका छन् ।
 
यसअघि त्यहाँका बासिन्दा उज्यालोका लागि मट्टीतेलको टुकी र सोलारमा निर्भर थिए । लघुजलविद्युत्को सुविधा थिएन । बिजुली बाल्न स्थानीयवासीले काँधमा बोकेर पोल ढुवानी गरेका थिए । गाउँपालिकाले कात्तिक पहिलो हप्ता बेनीबाट ७५५ किलोग्राम तौल भएका दुईवटा १०० केभिए क्षमताको ट्रान्सफर्मर हेलिकोप्टरबाट रायखोर र मुलपानीमा ढुवानी गरेको थियो ।
 
सिम्रिक एयरको हेलिकोप्टरमा झुण्ड्याएर दुईवटा ट्रान्सफर्मर ढुवानी गर्दा रु दुई लाख ६१ हजार ७०० खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए । नेपाल विद्युत् प्राधिकरणले पाखापानीको कोटगाउँबाट रायखोर उल्लेरी हुँदै मुलपानीसम्म केन्द्रीय प्रसारण लाइनको पोल गाडेर तार तानेको थियो ।
 
यसअघि कात्तिक दोस्रो हप्ता रघुगङ्गा–६ मै पर्ने घण्टीवाङ, टेङ्गेरेङ, पेक्ना, पुतपुत र कालावाङका ५० घरमा विद्युतीकरण गरेर बिजुली बालिएको वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । उहाँका अनुसार सोही वडाको ठाडाखानीमा पनि केन्द्रीय लाइन विस्तारको काम भइरहेको छ ।

प्रतिक्रिया