तिहारमा विद्युतीय झिलिमिली बत्ती, परम्परालाई जोगाउदै कि मास्दै

  • प्रकाशित मिति : शुक्र, कार्तिक २८, २०७७
  • - रुद्रकुमारी श्रेष्ठ
title

झिलिमिली’को चाड भनेर चिनिने तिहार नजिकिएको छ । अबको केही दिनमै तिहारले छपक्क छोप्दै छ । तिहारमा सबैतिर झिलिमिली बत्ती बाल्ने गरिन्छ । परम्परागत दियो, दियालो र मैनबत्तीले घर आँगन सजाउने परम्परा भए पनि पछिल्लो समय बढ्दो आधुनिकतासँगै हाम्रो संस्कृतिमा समेत विद्युतीय झिलिमिलीले आफ्नो स्थान ओगटेको छ । 
अहिले तिहारमा परम्परागत दियो, दियालोभन्दा पनि आधुनिक बत्तीहरुको प्रयोग र माग उच्च हुन थालेको छ । यसले विद्युत खपतको माग समेत उच्च गराएको छ । तिहारलाई विद्युत खपत र लोडका हिसाबले विद्युत व्यवस्थापनको मुख्य चुनौतीको समय मानिन्छ ।
 
 
विद्युतीय झिलिमिलीको प्रयोग बढे सँगै परम्परागत दीयो, दियालो र मैनबत्तीले घर आँगन सजाउने परम्परा हराउने तर्क केहीले गरेपनि केहीले परम्परागत रुपमा बालिदै आएको दियो, दियालो र मैनबत्तीको स्थानमा आधुनिक विद्युतीय सामग्री आएकोलाई सामान्य रुपमा लिने नागरिकहरु पनि छन् । आधुनिक युग सँगै भित्रिएको विद्युतीय झिलिमिलीले तिहारको समयमा अत्याधिक प्रयोग हुने गर्दछ । जे होस् आधुनिकतालाई अंगाले पनि संस्कृति र परम्परालाई पनि जगेर्ना गर्नु आम नेपालीको दायित्व हो । 
सांस्कृतिक रुपमा पनि तिहारमा औंसीको निष्पट्ट रातमा लक्ष्मीको आराधना गर्दा उज्यालो बनाउनु पर्ने परम्परा हो । तर विस्तारै परम्परागत माटोका पाला तथा मैनबत्तीबाट मानिसहरु विद्युतीय बत्तीतिर पल्केका छन् ।
 तिहार नजिकिएसँगै विभिन्न किसिमका रंगिबिरंगी बत्तीको बिक्री वितरण बढ्दै गएको व्यवसायी बताउँछन् । यद्यपी कोरोना महामारीका कारण गतवर्षको तुलनामा यो वर्ष अत्याधिक कम व्यापार भएको बताउँदछन् । 
 
 
विद्युतीय झिलिमिलीका गत वर्षको तुलनामा यो वर्ष ५० प्रतिशत सम्म कम व्यापार हुने व्यवसायीको अनुमान छ । 
ग्राहकको मन लोभ्याउन कै लागि बजारमा माटोको पाला जस्तै देखिने विद्युतीय पालाका बिजुली बत्तीहरु आएका छन यसप्रति ग्राहकको आकर्षण बढेको छ । बजारमा सस्तोमा ४० रुपैयाँ तथा महंगोमा ३ हजार ५ सय रुपैयाँसम्मका विद्युतीय बत्ती पाइने गर्दछ । गुलाबको फूल, पाला, फलफूल स्टाइलका विभिन्न आकार प्रकारमा पाइने यस्ता बत्तीको माग बढी छ । 
व्यापारीले भारत र चीनबाट यस्ता बत्ती आयात गर्छन् तर चिनियाँ बत्ती बढी आकार प्रकारका तथा सस्तो पनि भएकाले चिनियाँ बत्तीको व्यापार भने बढी नै हुने गरेको छ । 
बढ्दो शहरीकरणले तथा सरसफाइ तथा सुन्दरताको दृष्टिकोणले पनि परम्परागत पाला र मैनबत्तीको प्रयोग घट्दै गएपछि विद्युतीय बत्तीको प्रयोग बढ्न गएको हो । 
विद्युतीय झिलिमिली बत्ती टिकाउ र प्रयोगमा सजिलो हुने भएकाले बजारमा यस्ता बत्तीको माग बढेको हो ।

प्रतिक्रिया