भर्खरै

एउटै खोलाको बिजुलीले ६ सय घर झिलिमिली

  • प्रकाशित मिति : बुध, मंसिर ३, २०७७
  • - Admin
title
३ मंसिर, बागलुङ । एउटै खोलाका चार ठाउँमा सञ्चालित लघु जलविद्युत् आयोजनाले तमानखोला गाउँपालिकाका दुई वडामा विद्युतीकरण गरिएको छ । सदरमुकामदेखि १ सय ३० किमि पश्चिमको तमानखोलाको बिजुलीले ३ र ४ वडाका ६ सय घर झिलिमिली छन् । एक दशकदेखि स्थानीयले गरेको श्रमदानबाट आयोजना बनाइएका हुन् ।
 
सानो तमान लघु जलविद्युत् आयोजनाको १८, माथिल्लो तमानको १०, तल्लो तमानको २० र दोस्रो तमानखोला लघु जलविद्युतको ४० किलोवाट क्षमताको बिजुलीले सबै घरमा बिजुली बाल्न पुगेको उपभोक्ता अगुवा झंकबहादुर पुनले जानकारी दिए । तमानवासीले बिजुलीबाहेक स्वास्थ्य चौकीका उपकरण राख्ने कोल्डचेन स्टोर, विद्यालयका सूचना केन्द्र, कुटानीपिसानी मिलसमेत चलाउन पाएका हुन् । ‘राष्ट्रिय प्रसारणको लाइन कहिले आउँछ, थाहा छैन । तर लघु जलविद्युत्बाट बिजुली बाल्न पाएका छौं,’ स्थानीय मनकुमारी बुढाथोकीले भनिन्, ‘छोराछोरीले साँझबिहान पढ्नलेख्न पाएका छन् ।’
स्थानीयले कुखुरापालन, ग्रिल उद्योग, फर्निचर र पाउरोटी उद्योगसमेत गाउँमै खुलाएका छन् । विद्युत् सेवा पुगेकाले टोलटोलमा कुटानीपिसानी मिलसमेत बनेको बुढाथोकीले बताइन् । ‘पिठ्युँमा बोकेर टाढासम्म जानुपर्ने बाध्यता हटेको छ,’ उनले भनिन्, ‘घरेलु तानमा कपडा बुन्नेले पनि बिजुलीबाट चल्ने बनाएका छन् ।’ यहाँका महिलाले ढाका बुनाइ गर्छन् । गाउँपालिकाले सबै विद्यालयमा कम्प्युटर शिक्षा थालेको छ । हरेक विद्यालयमा पाँच वटाका दरले कम्प्युटर र एकएक जना प्राविधिक शिक्षकको व्यवस्थापन गरेपछि कम्प्युटर कक्षा चलेको गाउँपालिका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए । ‘बिजुली नभएको भए यो व्यवस्था काम लाग्ने थिएन,’ उनले भने, ‘राष्ट्रिय प्रसारण ल्याउन पनि पहल भएको छ । त्यसपछि पनि मिनी ग्रिडमार्फत यहाँको उत्पादन जोड्ने चाहना छ ।’
 
गाउँपालिकाकै अगुवाइमा यहाँका ६ वटै वडामा फलामे पोल विस्तार गरिएको छ । काठे पोल कुहिएर जोखिम बढ्ने भएपछि सुरुवातमा गाडिएका हटाएर फलामे गाडिएको हो । ‘फलामे पोल भएकाले राष्ट्रिय बिजुली आए पनि सहजै विद्युतीकरण गर्न सकिन्छ,’ पुनले भने, ‘पूर्वाधार तयार पारेका छौं, विद्युतीकरण भयो भने मझौला प्रकारका उद्योग सञ्चालनमा पनि पहल गर्छौं ।’ लामो समयदेखि रोकिएका हाते कागज उद्योग चलाउने योजना रहेको उनले सुनाए ।
 
तमान हुँदै सोलेडाँडादेखि म्याग्दीको दरबाङ जाने रणनीतिक सडक निर्माणाधीन रहेकाले मोटर ग्यारेजसमेत खोज्ने योजनामा स्थानीय छन् । विद्युतीकरणले व्यवसायीलाई सहयोग पुगेको छ । विद्युत् सेवाको विस्तारले गाउँ फर्केका युवालाई रोजगारी दिनसमेत सहयोग पुग्ने वडा नम्बर ४ का अध्यक्ष उदिमबहादुर छन्त्यालले बताए ।
 
‘कृषि, पशुपालन र घरेलु उद्योगमार्फत रोजगारी बढाउने योजनामा बिजुली सहयोगी भएको छ,’ उनले भने, ‘होमस्टेलगायत पर्यटन प्रवर्द्धनका गतिविधिलाई पनि विद्युत सेवाले साथ दिएको छ ।’ २ हजार ६ सय मिटरको सोले डाँडामा पनि विद्युतीकरण भइसकेको उनले जानकारी दिए । गाउँपालिकाले जडीबुटी संकलन र प्रशोधन उद्योग सञ्चालन गर्न सकिने गरी नीति बनाएको छ । ‘एक–दुई वटा उद्योग सञ्चालनमा आए भने १५ सयसम्म युवा रोजगार बन्न सक्छन्,’ बुढाले भने, ‘दुधजन्य उद्योग चलाउन पनि विद्युतीकरण आवश्यक छ ।’ स्रोत ः कान्तिपुर दैनिक

प्रतिक्रिया

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

8काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

अन्तर्राष्ट्रिय स्तरको १२औँ फिन इलेक्ट्रो–टेक २०२६आयोजना हुने

काठमाडौँ । नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा 1 week ago

खानेपानी उपभोक्ता समितिहरुको तीन दिने क्षमता विकास तालिम सुरु

नेपाल सरकार खानेपानी मन्त्रालय अन्तर्गतको राष्ट्रिय खानेपानी तथा सरसफाइ, अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्र 1 month ago

हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि

काठमाडौँ, जेठ । नेपालका तार उत्पादन गर्ने कम्पनीहरुको साझा संस्था निमाद्धरा हाउस वायरीङ्ग केबलको मूल्यवृद्धि 1 year ago