सबैभन्दा बढी आयकर तिर्ने संस्थामा सूर्य नेपाल

  • प्रकाशित मिति : सोम, मंसिर ८, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, मंसिर । आर्थिक वर्ष २०७६/०७७ मा सबै भन्दा बढी आयकर तिर्ने संस्थाहरुमा सूर्य नेपाल प्रा.लि रहेको छ भने व्यक्तिगततर्फ मदिरा व्यवसायी विजय कुमार शाह  रहेको छ । आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा सार्वजनिक गरेको सबैभन्दा बढी कर तिर्ने १५ करदाताको सूचीमा सूर्य नेपाल र व्यवसायीमा मदिरा व्यवसायी विजय कुमार शाह परेका हुन् । संस्थातर्फ बढी कर तिर्ने बहुराष्ट्रिय कम्पनी सूर्य नेपाल प्रा.लि रहेको छ । सूर्य नेपाल प्रालिले चुरोट लगायत वस्तु उत्पादन गर्छ । त्यस्तै व्यवसायी शाहको लगानीमा जावलाखेल डिस्टिलरी, हिमालयन डिस्टिलरी, राज ब्रुअरी, एसियन डिस्टिलरी र विजय डिस्टिलरी सञ्चालनमा छन् । 
 
सहकारी तथा लघुवित्तमध्ये सबैभन्दा बढी कर तिर्ने करदाता छिमेक लघुवित्त परेको छ । छिमेकले आर्थिक वर्ष २०७६÷०७७ मा लघुवित्ततर्फबाट सबैभन्दा बढी आयकर तिरेको आन्तरिक राजस्व विभागले जनाएको छ । यता बैंक तथा वित्तिय संस्थामा सबैभन्दा बढी आयकर नबिल बैंकले तिरेको छ भने बिमामा नेपाल पुर्नबिमा कम्पनीले सबैभन्दा बढी आयकर तिरेको छ । 
 
पर्यटन व्यवसायमा तारागाउँ रिजेन्सी होटलले बढी कर तिरेको छ भने शिक्षा सेवामा सबैभन्दा बढी आयकर तिर्ने करदाता मनिपाल एजुकेश एण्ड मेडिकल ग्रुप प्रालि रहेको छ । व्यापार व्यवसाय गर्नेमा सबैभन्दा बढी आयकर तिर्नेमा अग्नि इन्कपोैरेट पलि रहेको छ । कृषि एवम पशुपंक्षीजन्य उद्योगमा अन्नपूर्ण एग्रो इन्डष्ट्रिी रहेको छ । निर्यातकर्तामा डावर नेपाल, विशेष उद्योगमा हिमाल पावर लिमिटेड रहेको छ । यसैगरी  मध्यमस्तरीय करदाता कार्यालयको कार्यक्षेत्रभित्र पर्ने करदाताहरुमध्ये सबैभन्दा बढी आयकर तिर्ने करदातामा कामना सेवा विकास बैंक परेका छन् ।
 
आन्तरिक राजस्व कार्यालयहरुको कार्य क्षेत्रभित्रबाट सबैभन्दा बढी आयकर तिर्ने करदातामा भिएफ सर्भिसेज प्रालि र  मूल्य अभिवृद्धि कर तिर्ने करदातामा घोराई सिमेन्ट इन्डष्ट्री प्रा.लि रहेका छन् । 

प्रतिक्रिया