भर्खरै

प्राधिकरणले ‘गुणस्तरीय, भरपर्दो ऊर्जाका लागि स्मार्ट ग्रिडको अवधारणा’अघि बढायो

  • प्रकाशित मिति : शुक्र, मंसिर १२, २०७७
  • - विद्युत संसार संवाददाता
title

काठमाडौं, मंसिर । ग्राहक तथा उपभोक्ताहरुलाई सहज, सर्वसुलभ, भरपर्दो विद्युत आपूर्ति सहितको आधुनिक सेवा प्रदान गर्नका लागि नेपाल विद्युत प्राधिकरणले स्मार्ट ग्रिड प्रणालीको अवधारणालाई अगाडि बढाएको छ ।   
 
प्राधिकरणले डिजिटल विद्युत प्राधिकरणको अवधारणा अनुसार विद्युत उत्पादन, प्रशारणलाइन तथा वितरण प्रणालीलाई भरपर्दो, समय सान्दर्भिक तथा विद्युत सम्बन्धि विश्वव्यापी रुपमा अपनाइएका नवीनतम प्रविधी भित्र्याई नेपालको विद्युत क्षेत्रलाई आधुनिक बनाउनका लागि प्राधिकरणले स्मार्ट ग्रिड प्रणालीलाई अघि बढाएको हो ।
 
यस अवधारणा अनुसार पुरानो विद्युत वितरण प्रणालीलाई सुधार र स्तरोन्नती गरी नयाँ स्मार्ट ग्रिड विस्तारका लागि अगाडि बढेको प्राधिकरणले जनाएको छ ।  
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बिहिबार आयोजना गरेको वेविनारमा प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गुणस्तरीय, भरपर्दो र किफायती ऊर्जाका लागि स्मार्ट ग्रिडको अवधारणा अघि बढाएर काम सुरु गरिसकेको बताए ।
 
कार्यकारी निर्देशक शाक्यका अनुसार प्राधिकरणले आफ्नो बन्ने संरचना तथा सेवाहरुलाई डिजिटलाइज गर्दै अघि बढेको उनको भनाई छ । 
उनले भने ‘स्मार्ट ग्रिड सिस्टममा प्राधिकरणलाई जति चाँडो लैजान सकिन्छ त्यति नै चाँडो हामी गुणस्तरीय विद्युत उपभोक्तालाई दिन सक्छौं र विद्युत प्राधिकरणको प्रणाली पनि शसक्त हुन्छ, हामीले विद्युत उत्पादन देखि प्रशारण लाइन, वितरण, र भारप्रेषण केन्द्रलाई आधुनिक बनाउँदै छौ ।’ ‘जसमा विद्युत उत्पादनदेखि उपभोक्ताको घरसम्म पुग्ने विद्युतको समग्र प्रणालीलाई एउटा विस्तृत फ्रेमवर्क भित्र अटाउन सकिन्छ । संरचना निर्माणमा आधुनिक प्रविधिलाई जोड दिएका छौ, सर्वसाधारणको घरसम्मपुग्ने स्मार्ट मिटर लगायतका काम तीव्र गतिमा अघि बढेको छ ।
 
सरकारले दुई वर्ष अगाडि डिजिटल नेपाल फ्रेमवर्क ल्याएको थियो सरकार तथा प्राधिकरणको सोही मास्टर प्लान अनुसार हाम्रा सबै निर्देशनालय तथा कार्यालयलाई अत्याधुनिक प्रविधिमैत्री बनाउनका लागि काम गरिरहेको उनले बताए । 
कार्यक्रमा एसियाली विकास बैंक (एडिबी) नेपाल कन्ट्रि मिसन प्रमुख मुख्तर खामुदखानोभले संसारका धेरै देशहरुले विद्युतको क्षेत्रमा उत्पादन, प्रशारण तथा वितरण प्रणालीलाई स्तरोन्नति गरिरहेको बताए । उनले नेपालले पनि बर्षौं पुराना विद्युतका संरचनाहरुलाई समयसापेक्ष रुपमा स्तरोन्नति गरी विद्युत उपभोक्तालाई समय सापेक्ष अनुसारको सेवा तथा सुविधा दिनुपर्ने देखिने बताए । एडिवी यो कार्यका लागि सरकारसँग निरन्तर सहकार्यमा अगाडि बढिरहेको उनको भनाइ छ ।
 
‘विश्वमा विद्युत क्षेत्रमा प्रयोग भएका नवीनतम प्रविधि तथा सञ्चारको विकास भइरहेको तथा धेरे देशहरुले त्यसलाई आत्मसाथ गरिसकेको अवस्थामा नेपालले पनि स्मार्ट ग्रिड लगायतमा विभिन्न प्रविधिहरु भित्र्याउनका लागी नीतिगत सुधार समते गर्नुपर्नेहुन्छ । ‘तर बास्तवमा अन्य देशहरुले यो क्षेत्रमा भएका नवीनतम विकासहरुलाई आत्मासाथ गरिसकेका कारण नेपालको समग्र ग्रिड मोर्डननाइजेसन गर्न प्रविधिले साथ दिने छ’ उनले भने ‘यो काम धेरै चाँडो गर्न सकिने देखिन्छ जुन प्राधिकरणले सहज रुपमा गर्न सक्छ ।’
एडिवीका दक्षिण एसिया विभाग हेर्ने मुख्य उर्जा विशेषज्ञ जीवन आचार्यले अपर्याप्त उर्जा उत्पादन, कमजोर वितरण प्रणाली र प्रसारण पूर्वाधारका कारण नेपालको विद्युत क्षेत्रले धेरै महत्वपूर्ण चुनौतिहरूको सामना गरिरहेको बताए । उनले वर्षौंको लगानी र विद्युत क्षेत्र सुधारमा ढिलाइ भएका कारण नेपालले यो समस्या भोग्नुपरेको बताए । 
हाल विश्वमा विद्युतको ल्याण्डस्केप नै परिवर्तन भइरहेकाले विद्युत वितरण, यसमा प्रयोग हुने प्रविधि, सेवा, प्रविधिको उच्चतम प्रयोग, नियामक निकाय लाईसमेत सहयोग हुने भएकाले स्मार्ट ग्रिडको प्रयोगले विद्युत वितरणमा सहजता, सुविधा तथा सुुरक्षा पनि हुन्छ ।
 
हामीले बेलैमा हाम्रा संरचनाहरुलाई आधुनिक बनाउनुको विकल्प छैन र जतिसक्दो चाँडो मार्ट ग्रिड सिस्टममा जानुपर्ने हुन्छ जसले बिजुलीमा जनताको पहुँच, आपूर्ति व्यवस्था सहज, गुणस्तरीय विद्युत तथा विश्वसनियता वृद्धि गर्न सहयोग गर्छ ।
 
एडीबीले नेपालमा पावर ट्रान्समिसन एण्ड डिष्ट्रिब्यूसन इफिसेन्सी परियोजना अन्र्तगत स्मार्ट मिटरको मार्गचित्र बनाएर सहायता समेत गरिरहेको बताउँदै उनले यसबाट विद्युत प्राधिकरणको चुहावट कम, पिकलोड व्यवस्थापन, सस्तोमा बिजुली, सम्पत्ति व्यवस्थापन, ठूलो मात्रामा स्मार्ट मिटरले खर्च कटौती लगायतका सहयता पुग्ने बताए  । 
कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालले स्मार्ट ग्रिड प्रणालीको अवधारणा अनुरुपहाल काठमाडौ उपत्यकामा स्मार्ट मिटर जडान तथा विद्युतको तार भूमिगतको काम भईरहेको जानकारी दिए ।
 
रत्नपार्क र महाराजगंज वितरण केन्द्रहरु अन्तर्गत रहेका ग्राहकहरुको सर्वे कार्य संम्पन्न गरी मिटर जडान कार्य समेत शुरु गरिसकेको र हालसम्म करिब १५ हजार थान स्मार्ट मिटर जडान समेत भइृसकेको सिलवालले जानकारी दिए ।
 
एडिवीको सहयोगमा प्राधिकरणले हाल काठमाडौंको रत्नपार्क तथा महाराजगंज विद्युत वितरण केन्द्र मार्फत विद्युत उपभोक्ताहरुलाई ‘एनइए डिजिटल क्याम्पेन’अन्तर्गत स्मार्ट मिटरको जडान तथा वितरणको कामलाई तिव्रता दिइरहेको छ ।
एडिवीको सहुलियतपूर्ण ऋणमा प्राधिकरणले काठमाडौं उपत्यकाका करिव ४० लाख पुराना मिटर परिवर्तन गरी नयाँ जडान गर्ने काम अघि बढाइरहेको छ ।
 
कार्यक्रममा एडिवीका उर्जा सम्बन्धि वरिष्ठ परियोजना अधिकृत पुष्कर मानन्धरले एडिवीको उर्जा सम्बन्धी कार्यविधि तथा नेपाल सरकारको उर्जा तथा जलस्रोत नीतिमा रहेर नेपालको विद्युत क्षेत्रलाई कसरी भरपर्दो, सुधार, क्षमता अभिवृद्धि र दिगो पार्न सकिन्छ भनेर एडिवीले प्राधिकरणसँग सहकार्य गरी नेपालको विद्युतको क्षेत्रमा धेरै सहयोग तथा सुधारको कामहरु गरेको बताए ।
मानन्धरले स्मार्ट ग्रिडको सुरुवातका रुपमा नेपालमा स्मार्ट मिटरको जडान, विद्युतको ठूलो डेटा विश्लेषण तथा सञ्चार, विद्युतीय सवारीको प्रमोसन, नीतिगत सुधारका पहल तथा अन्य धेरै विषयहरुमा नेपाल सरकार तथा प्राधिकरणसँग सहकार्य अगाडि बढाइसकेको बताए ।
 
कार्यक्रममा अष्ट एण्ड योङका निर्देशक भिनित मिश्रले विश्वका धेरै देशहरु स्मार्ट ग्रिडमा गईसकेको जानकारी दिँदै यसबाट नेपालले ठूलो फाइदालिन सक्ने बताए । उनका अनुसार, स्मार्ट ग्रिडको कार्यान्वयनले ऊर्जाको प्रणालीलाई सञ्चालनलाई भरपर्दो र प्रभावकारी मात्र बनाउँदैन, यसले हरेक ग्राहकलाई बिजुलीको विल तिर्न र सम्पूर्ण सुचना पाउन सहजता हुन्छ ।

प्रतिक्रिया