भर्खरै

देश गरिब बनाउन लुट्नु र लुटाउनु पर्दैन, ऊर्जामा गरिब बनाए पुग्छ

  • प्रकाशित मिति : बुध, मंसिर १७, २०७७
  • - प्रदिप श्रेष्ठ
title

नेपालमा विद्युतको युग विक्रम संवत् १९६८ बाट शुरु भएको थियो । तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराको पालामा निर्माण भएको फर्पिङ जलविद्युत आयोजना नेपालको पहिलो र दक्षिण एसियाको दोस्रो जलविद्युत आयोजना  हो । नेपालमा विद्युत उत्पादन भएको करिव १०९ वर्ष भयो तर पनि हाल सम्म माग अनुसारको विद्युत उत्पादन गर्न सकिरहेको छैन । तर अब भने केही वर्षभित्रै नै नेपालमा विद्युत् छ्यालब्याल हुने आकलन गरिएको छ । 
 
हामी प्राकृतिक स्रोतमा धनी छौं तर त्यसलाई परिचालन गर्ने इच्छाशक्तिलाई जीवन्तता दिने साधन छैन । पानी छ, बिजुली छैन, खानी छ, कोइला छैन, वन छ, काठ सस्तो छैन । आयातित सामानको लत लागिसकेको छ । अस्पातल छ, स्वास्थ्य छैन । विद्यालय छ, शिक्षा र नैतिकता दुवै छैन । यस्तै कमजोरीहरुका कारण नेपाल युगयुग सम्म गरिब नै रहिरहने संकेत प्रष्ट छ । यो कमजोरी नेपाल युगयुगसम्म गरिब रहिरहोस् भन्ने दुष्टहरूलाई राम्रोसँग थाहा छ र हामी दिनानुदिन गरिबीको दलदलमा फस्दै गइरहेका छौं । गुणस्तरीय शिक्षा, गरिबी र अभाव मुलुकको शत्रु हो । यी तीन ऋणात्मक तत्वले राष्ट्र र नागरिक कसैको टाउको उठ्न दिएको छैन । सकारात्मक सोचको विकास हुन दिएको छैन ।
 
अहिले नेपालको ऊर्जा क्षेत्रमा विद्युत खेर जाने व्यापक सवालहरु उठिरहेको छ । स्वदेशमा उत्पादन भएको विद्युत खेर जाने भो कसले  किनिदेलान् नेपालको विद्युत भन्ने सवाल अहिले ऊर्जा क्षेत्रको पहिलो विषय बनेको छ । प्राधिकरण उत्पादन हुने विद्युतको बजार खोजीरहेको छ । म भन्छु, पहिले नेपालको गरिबी हटाउनसकोस् विद्युत कत्तिपनि खेर जाँदैन । 
पहिले गरिबी हटे नेपालको उत्पादित विद्युत स्वदेशभित्रनै खपत गर्न सकिन्छ । स्वदेशभित्रनै खपत गर्न  विभिन्न किसिमका उद्योग करकारखानाहरु सञ्चालनमा ल्याउन जरुरी हुन्छ । उद्योग कलकारखानाहरु सञ्चालन गर्न सके लाखौंलाई रोजगारी दिन सकिन्छ । रोजगारी पाए गरिबी न्यूनिकरण हुन्छ । 
 
त्यस्तै नेपालको कृषि क्षेत्रमा डिजल र पेट्रोलबाट चल्ने मेशिन प्रयोग गर्नुपर्ने आवश्यकता र बाध्यता दुवै छ । त्यो घाटा पूर्तिको विकल्प विद्युतीय उत्पादन नै हो । कुनै पनि देश गरिब बनाउन लुट्नु र लुटाउनु पर्दैन । त्यो देशलाई ऊर्जामा गरिब बनाए पुग्छ । ऊर्जा छैन ः उद्योग छैन । उद्योग छैन ः रोजगार छैन । रोजगार छैन . आम्दानी छैन । आम्दानी छैन ः गरिब । ऊर्जा भन्नाले हामीले दैनिक जीवनमा प्रत्यक्ष सरोकार राख्र्ने डिजल, मट्टितेल, पेट्रोल, ग्यास, बिजुली, कोइला, दाउरा आदि हुन् । डिजेलको भाउ बढ्दा, बस भाडा, ढुवानी भाडा बढ्छ ।भाडा बढ्दा वस्तु तथा सेवाका मूल्य बढ्दछन् । मूल्य बढ्नु भनेको नै महँगी बढ्नु हो र महँगीले नै गरिबी ल्याउँछ । चाहे भारत, चाहे खाडी, चाहे युरोप, चाहे अमेरिका, जहा गएर पैसा कमाऊनोस् । महँगीको ओखती भेटिनेवाला छैन । स्वाभिमान र आर्थिक स्वतन्त्रता ऊर्जा आत्मनिर्भरतामा मात्र छ । त्यसैले पहिले गरिबीको अन्त्य गर्न जरुरी छ । 
 
नेपालका कयौं युवाहरु विदेशमा छन् । विदेशमा नै रहेर कमाइ गरी पठाएको रेमिट्यान्सको वित्तीय सेवा प्रवाह गर्ने संस्था प्रभु मनी ट्रान्सफर र आईएमई राष्ट्रकै बलियो वित्तीय संस्था र कर्पोरेट बनिसकेका छन् ।
बैंक खाता खोल्दा राखिने न्युनतम ब्यालेन्सले मात्रै करौडौ रुपैयाँ मौज्दात हुने गर्दछ । त्यही जनताको आर्थिक स्थिती बढ्दा, क्रयशक्ति बढ्दा नेपालको अर्थतन्त्र बढ्ने हो । कोभिड(१९ ले सबैको दिमागमा थुप्रै सवालहरू पैदा गरिदिएको छ । अहिले पर्यटन क्षेत्र करिब करिब शून्य नै छ । जनता धनी भएको खण्डमा आन्तरिक पर्यटनले पनि केही योगदान गर्दथ्यो ।
त्यस्तै हाम्रो मुलुकमा कृषि उपज व्यावसायिकस्तरमा नहुँदा खाद्यपदार्थ लगायत दैनिक उपभोग्य वस्तुहरू आयातमा नै निर्भर छ । 
 
उद्योगको बजार एकदम मै सीमित छ । निर्यातस्तरमा औंलामा गन्न सकिने उद्योगका उत्पादन मात्र छन् । कृषि उपज प्रमाणीकरण गराउदै व्यावसायिक स्तरमा लैजानु पर्दछ । बहुर्राष्ट्रिय निगमहरूलाई नेपाल भित्र्याएर उद्योगहरु अब असेम्ब्लिङ प्लान्टमा रूपान्तरित हुनुपर्छ । उद्योगहरु असेम्ब्लिङ प्लान्टमा रूपान्तरित भए तबमात्र देश गरिबीमुक्त रहन सकिएला । हरेक वस्तुमा रहेको महङ्गी नियन्त्रण गरी जनतालाई धनी बनाउने तर्फ  सरकार लागिपरे नेपालको विद्युत नेपालमा नै खपत गर्न सकिन्छ । 

प्रतिक्रिया