विद्युतीय बस सञ्चालन गर्न मार्ग तयार

  • प्रकाशित मिति : सोम, मंसिर २२, २०७७
  • - रासस
title

काठमाडौं, मंसिर । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयले इन्धनबाट सञ्चालित सवारीलाई विस्थापित गरी विद्युतीय बस सञ्चालन गर्न सातवटा मार्ग तयार गरेको छ ।
मन्त्रालयका अनुसार प्रदेशका मुख्य शहर हेटौँडा, भरतपुर, सिन्धुलीमाढी, विदुर, धुलिखेल, काठमाडौँ उपत्यका र धादिङबेंसीमा विद्युतीय सवारीसाधन सञ्चालनका लागि रुट तयार भइसकेको छ । 
 
यसका लागि मन्त्रालयले  निजी क्षेत्रका व्यवसायीलाई बस सञ्चालन गर्न आग्रह गरिसकेको भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले जानकारी दिए । 
उनले चार्जिङ स्टेशन निर्माणका लागि ११९  स्थानीय तहलाई सूचना आह्वान गरिसकिएको बताए । उनका अनुसार यसका लागि भरतपुर महानगरपालिका, हेटौँडा उपमहानगरपालिका, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिका, गल्छी गाउँपालिकालगायत आठ  स्थानीय तहले चार्जिङ स्टेशनका लागि जग्गा उपलब्ध गराउने आशयपत्र मन्त्रालयमा पठाइसकेका छन् । चार्जिङ स्टेशनको निर्माण गर्न नेपाल विद्युत् प्राधिकरण, नगर विकास कोष, सम्बन्धित स्थानीय तह र प्रदेश सरकारले संयुक्तरुपमा गृहकार्य  गरिरहेका छन् । 
 
मन्त्री फुयाँलले यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक र उपकार्यकारी निदेशक पदपूर्तिका लागि सूचना प्रकाशन भइसकेको जानकारी दिँदै योग्यता र क्षमताका आधारमा नियुक्ति गरिने बताए । प्रदेश सरकारको पहिलो नीति कार्यक्रममा प्रदेशभित्र आगामी २०८५ साल वैशाखसम्ममा इन्धनबाट चल्ले सवारी साधनलाई विस्थापन गर्ने र विद्युतीय सवारी साधनलाई वैकल्पिकरुपमा उल्लेख छ  ।

प्रतिक्रिया