भर्खरै

पेट्रोलियम पाइप लाइनको काम तीव्र

  • प्रकाशित मिति : आईत, मंसिर २८, २०७७
  • - गोरखापत्र अनलाईन
title

काठमाडौँ, २८ मङ्सिर । झापा चारआली–सिलगुडी पेट्रोलियम पाइप लाइनको रुट पहिचान अन्तिम चरणमा पुगेको छ । सर्भे सम्पन्न गरी तीनवटा रुटमध्ये उपयुक्त रुटको पहिचान गर्ने क्रममा नेपाल आयल निगम रहेको छ । रुटको पहिचानपछि विस्तृत परियोजना प्रतिवेदन
(डीपीआर) निर्माणको प्रक्रियामा जाने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
चारआली—सिलगुडी पेट्रोलियम पाइप लाइन भारततर्फ ३५ र नेपालमा १५ किलोमिटर गरी करिब ५० किलोमिटर लम्बाइको हुनेछ । प्रवक्ता उपाध्यायले भने, “चारआली–सिलगुडी पेट्रोलियम पाइप लाइन अहिले सर्भे सम्पन्न गरी रुटको पहिचान गर्ने काममा छौँ । हामी प्रारम्भिक चरणमै छौँ र प्रारम्भिक चरणको काम नै भइरहेको छ । ”
पाइप लाइनबाट आएको पेट्रोलिमय पदार्थलाई चारआलीमा भण्डारण गरिने छ । भण्डारण क्षमता वृद्धि गरिने छ । पाइप लाइनसँगै चारआलीमा ४१ हजार किलोलिटरको भण्डारण क्षमता निर्माण हुनेछ । जसको लेआउट तयार गर्ने काम भइरहेको निगमले जनाएको छ ।
चारआलीमा मट्टीतेल, डिजेल, पेट्रोल र एपीएफको भण्डारणका लागि १५ वटा ट्याङ्की निर्माण हुने छन् जसमा तीनवटा अन्डरग्राउन्ड हुने छन् । चारआलीमा रहेको निगमको २३ बिघा जग्गामा भण्डारणका संरचना निर्माण हुने छन् । भण्डारण निर्माणका लागि प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सम्भाव्यता अध्ययन र जग्गा प्राप्तिका बारेमा काम भइरहेको निगमले जनाएको छ । गण्डकी प्रदेशमा भण्डारणको निर्माण कार्य सुरु भएको छ ।
 
अमलेखगञ्ज—लोथरको नक्साङ्कन हुँदै
अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन विस्तारको नक्साङ्कन भइरहेको छ । अमलेखगञ्ज–लोथर पेट्रोलियम पाइप लाइनको सम्भाव्यता अध्ययन सकिएर पहिलो चरणको काम भरहेको निगमले जनाएको छ । डीपीआर तयारीको काम भइरहेको छ । लोथरमा एक लाख केएल पट्रोलियम पदार्थ भण्डारण क्षमताको निर्माण गरिँदै छ ।
गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्भे सम्पन्न गरेको थियो भने अहिले जग्गाको सर्भे अन्तिम चरणमा पु¥याएको छ । निगमका अनुसार हाल पाइप लाइन तथा भण्डारण निर्माणको जग्गाको पूर्ण सर्भे भइरहेको छ । जग्गा सर्भेको नक्सा तयार भएपछि भारत र नेपालको सहसचिवस्तरीय संयुक्त कार्य समूहलाई बुझाइने निगमले जनाएको छ ।
भारतको मोतीहारीबाट अमलेखगञ्जसम्म सञ्चालित पेट्रोलियम पाइप लाइनलाई चिवतनको लोथरसम्म विस्तार गरिने हो । करिब ६५ किलोमिटर पाइप लाइन विस्तारका लागि सरकारले आर्थिक वर्ष २०७७÷७८ को वार्षिक बजेट विनियोजन गरेको छ । मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन सम्पन्न गरेपछि चितवनको लोथरसम्म विस्तार गर्न नेपाल र भारतबीच समझदारी भएको हो । सर्भे सकिएपछि संयुक्त कार्य समूहले डीपीआरलगायत आयोजनाको मोडालिटीका बारेमा काम गर्नेछ ।
पेट्रोलियम पदार्थको भण्डारण क्षमतालाई वृद्धि गरी ९० दिनसम्म पुग्ने भण्डारण बनाउन नेपाल आयल निगमले भण्डारण स्थलहरूको निर्माण प्रक्रिया अघि बढाएको छ । सात प्रदेशमा थप भण्डारण क्षमता बढाउने नीतिअनुसार निगमले काम गरिरहेको प्रवक्ता उपाध्यायले बताए । गण्डकी प्रदेशको पोखरामा पेट्रोलियम पदार्थको भण्डारण स्थल निर्माण सुरु भएको छ । अन्य प्रदेशमा जग्गा प्राप्ति र अध्ययन भइरहेको निगमले जनाएको छ ।  

प्रतिक्रिया