भर्खरै

प्राविधिक शिक्षाको महत्व विद्यार्थी र अविभावकले बुझ्नु भएको छ

  • प्रकाशित मिति : शुक्र, पौष ३, २०७७
  • - प्रकाश सापकोटा, शिक्षालय प्रमुख दमक प्राविधिक शिक्षालय
title

लकडाउनले प्राविधिक शिक्षाको क्षेत्रमा कस्तो असर परेको छ ?

विश्वमै अनपेक्षित महामारीको रुपमा देखापरेको कोभिड – १९ ले हाम्रो देशलाइ पनि गम्भिर रुपमा असर पारेको छ । हाम्रो देशको विभिन्न क्षेत्रहरु जस्तै शिक्षा क्षेत्र र प्राविधिक क्षेत्रमा गंभिर असर परेको छ । प्राविधिक शिक्षामा सैद्धान्तिक ज्ञानको साथै व्यवहारिक पक्ष जोडिने भएकाले प्रशिक्षक तथा प्रशिक्षार्थीको प्रत्यक्ष उपस्थितिमा सीप सिकाइ गुणात्मक रुपमा हुने गर्दछ ।
 
तथापि वैकल्पिक विधि मार्फत सैद्धान्तिक ज्ञानलाइ निरन्तरता प्रदान गरिएको भएतापनि इन्टरनेटको पहुँच तथा इलेक्ट्रोनिक सामानको अभावका कारणले अपेक्षित तथा परिणाममुखि कक्षा संचालन गर्न सकिएको छैन ।
 
अनलाइन विधिको प्रयोग मार्फत प्रयोगात्मक कक्षाका संचालनका प्रविधिहरुको बारेमा जानकार नहुनु तथा भौतिक उपस्थिति विनाको प्रयोगात्मक कक्षा फलदायी नहुने साथै कोभिडको असर त्यतिकै रहेकाले लकडाउनले प्राविधिक तथा व्यावसायिक शिक्षामा गम्भिर रुपमा असर पारेको छ ।
 
पछिल्लो समयमा प्राविधिक शिक्षाको महत्व बढ्दै गएको छ नि ? यसको कारण के होला ?

साधारण शिक्षाबाट मात्र उद्यमशील हुन नसकिने र रोजगारीले मात्र जिविकोपार्जनमा पनि प्रतिकुल अवस्थामा समस्या हुने भएकाले साथै नेपाल सरकारले नै  प्राविधिक तथा व्यावसायिक शिक्षालाई प्राथमिकतामा राखेकाले पछिल्लो समयमा  प्राविधिक तथा व्यावसायिक शिक्षाको महत्व बढ्दै गएको जस्तो मलाइ लाग्छ । तथापि अन्य कारणहरु पनि छन् ।
नेपाल सरकारले समृद्ध नेपाल सुखि नेपाली भन्ने नारा लिएर स्थानिय स्तर सम्म प्राविधिक शिक्षाको पहुँच पु¥याउन के कस्तो चुनौती देखिन्छ ।
 
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम नै नेपाल सरकारले तय गरेको समृद्द नेपाल सुखी नेपाली भन्ने नारालाई सार्थक बनाउँछ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम कार्यक्रमका लागी एकद्वार प्रणाली नहुनु तथा स्थानिय स्तरमा प्राविधिक शिक्षा कम प्राथमिकतामा पर्नु र तालीम पश्चात् आय आर्जनमा जोडिन नसक्नु नै चुनौती होला जस्तो देखिन्छ ।
 
दमक प्राविधिक शिक्षालयको दुई शब्दमा परिचय दिनुपर्दा के भन्नू हुन्छ ? विद्यार्थीका लागि दमक प्राविधिक शिक्षालय नै किन ? प्राविधिक शिक्षालयकाहरूको रोजगारको कस्ता अवसरहरू पाउँछन् ?

दमक नगरपालिकाले यस क्षेत्रका लाभान्वित वर्गलाइ लक्षित गरी इन्जिनियरिङं तथा विभिन्न कार्यक्रमहरु महत्वका साथ अगाडि बढाइ रहेको छ । सिटिइभिटिको आंगिक शिक्षालय यस दमक बहुप्राविधिक शिक्षालयलाई जग्गा उपलब्ध गराउँदै र गुरुयोजना अनुरुपको भवन तयार नहुन्जेल बेलडांगि २ दमकमा शैक्षिक संचालन गर्न भवन उपलव्ध गराएको छ । गत शैक्षिक वर्षबाट सिभिल कार्यक्रम संचालनमा आएको र यस शैक्षिक वर्षबाट थप अटोमोवाइल कार्यक्रम संचालनका लागी भर्ना अभियान सुरु गरिएको छ ।
 
शान्त वातावरण सक्षम तथा अनुभवि प्रशिक्षक अनि दमकको प्रमुख शहरमा अवस्थित नै यस शिक्षालयको विशेषता हो । उद्यम तथा रोजगारका प्रवल सम्भावना भएका कार्यक्रम अर्को रोजाइको आधार हो ।
सुलभ लगानी निम्न वर्गिय समुदायका लागी यो शिक्षालय रोजाइको प्राथमिकतामा पर्न सक्छ ।
 
 छोटो अवधिका तालिम मार्फत कस्तो प्रकारका जनशक्तिहरू उत्पादन भईरहेका छन् प्रष्ट पारिदिनुहोस न् ?

वर्तमान समयमा छोटो अवधिका तालीम संचालन गर्न सकिएको छैन तर अनुकुल समयमा स्थानिय निकाय तथा समुदायसंग समन्वय गरी बजारको माग बमोजिम अपेक्षित आय आर्जन हुने खालका व्यवसायमा जनशक्ति उत्पादन गर्ने योजना रहेको छ ।
 
तपाईको जीवनको प्राविधिक तथा शिक्षालयको यात्रा सम्बन्धी अनुभव सुनाईदिनुस न ?

मेरो जीवनको लामो समय सिटिइभिटिको आंगिक शिक्षालय बालाजु स्कुल अफ इन्जिनियरिंङमा बिताएकाले मैले धेरैकुराहरु सिक्ने मौका पाए र फलस्वरुप आज दमक बहुप्राविधिक शिक्षालय दमकमा त्यस अनुभवलाइ  प्रयोग गरिरहेको छु ।
 
अन्तमा मिडिया मार्फत के भन्न चाहानुहुन्छ ?

नेपालको पुर्वाञ्चलमा इन्जिनियरिंग शैक्षिक कार्यक्रमको हव बनाई सिटिइभिटिको लक्ष्य उत्पादनमुखि प्राविधिक शिक्षालाइ सार्थक पार्दै दमक नगरपालिकाको सहयोगमा ३ वर्षे डिप्लोमा का अटोमोवाइल र सिभिलका कार्यक्रमहरु यस शैक्षिक सत्रमा संचालन हुन गइरहेको छ । यी दुवै कार्यक्रमहरुले प्रशिक्षार्थीहरुलाइ स्वरोजगार बनाउँछ भन्ने विश्वास लिएको छु ।
मनोवृति सीप तथा ज्ञान लाई सिकाइका चरणहरुको रुपमा लिदै प्रशिक्षक कर्मचारी तथा प्रशिक्षार्थीहरु संग समन्वयकारी भूमिका मार्फत शिक्षालयलाई अगाडि बढाउने प्रयास रहने छ । यस क्षेत्रका अग्रज व्यक्तित्व तथा शिक्षालयका शुभचिन्तकहरु बाट पनि सोहि अनुसारको अपेक्षा राखेको छु साथै यस शैक्षिक सत्रको भर्ना अभियानमा साथ सहयोग गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।-सहकार्य मिडिया

प्रतिक्रिया