अबको दुई सातामा माथिल्लो चाकु ‘ए’ को २२ मेगावाट प्रणालीमा जोडिँदै

  • प्रकाशित मिति : बिही, पौष ९, २०७७
  • - Admin
title

काठमाडौं, पुस । २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाले अबको २ सातामा विद्युत उत्पादन सुरु गर्ने भएको छ । शिवश्री हाइड्रो पावर कम्पनीले सिन्धुपाल्चोकको चाकु खोलामा निर्माण गरेको आयोजना विद्युत उत्पादनको चरणमा पुग्न लागेको हो ।
 
आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेकाले पुस अन्तिम सातासम्ममा राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने तयारी भइरहेको कम्पनीका अध्यक्ष उमेश कसजुले बताए । उनका अनुसार चाकु खोलामा डेढ वर्षअघि आएको बाढीले विद्युतगृहमा जडान भएका इलेक्ट्रो मेकानिकल उपकरण बगाउँदा लक्ष्यभन्दा ढिलो गरी आयोजनाले विद्युत उत्पादन सुरु गर्न लागेको हो ।
 
‘आयोजनाबाट विद्युत उत्पादन सुरु गर्ने तयारी हुँदै थियो,’ उनले भने ‘त्यही बेला चाकु खोलामा ठूलो बाढी आयो । आयोजनामा कार्यरत २ जना कामदारको ज्यानसमेत गयो । विद्युतगृहमा जडान भएका उपकरण बगाउँदा त्यसको पुनर्निर्माण गर्नुपरेकाले प्रणालीमा जोड्न समय लाग्यो ।’
 
उनले बाढीले बगाएका उपकरणहरूको स्थानमा फेरि नयाँ आयात गरेर जडान गर्नु परेकाले समय लागेको बताए । आयोजनाले उत्पादन गर्ने विद्युत लामोसँघु सबस्टेसनमा जोडिने छ । सबस्टेसनसम्म आवश्यक २२ किलो मिटर प्रसारण लाइन कम्पनीले निर्माण गरेको छ । 
 
२०६९ बाट निर्माण सुरु भएको आयोजना २०७१ को जुरे पहिरो, २०७२ को विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी र बर्खामा आउने बाढीका कारण पटक–पटक प्रभावित हुँदै विद्युत उत्पादनको चरणमा पुगेको कम्पनीले जनाएका छ ।
 
आयोजनामा सिटिजन्स इन्टरनेशनल बैंकको अगुवाईमा ११ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । सुरुमा ४ अर्ब ३ करोड रुपैयाँमा आयोजना सम्पन्न हुने अनुमान गरिए पनि पटक–पटकको प्राकृतिक प्रकोपको मारमा परेका कारण लागत केही बढ्ने देखिएको छ ।
ऊर्जा खबर

प्रतिक्रिया