काम शुरु भएको १० वर्षपछि गाउँमा बिजुली, २५० घरधुरी सल्लाको दियालोबाट छुटकारा

  • प्रकाशित मिति : मंगल, पौष १४, २०७७
  • - विद्युत संसार संवाददाता
title

सिमकोट, पुस । हुम्लाको सिमकोट गाउँपालिका–८ स्थित खोल्सी तथा नाम्खा गाउँपालिका–३ का लामाखोल्सी, खगाल गाउँ र गुम्बा गाउँमा बिजुली बत्ती पुगेको छ । 
 
हुम्लाको उत्तरी गाउँका स्थानीय बासिन्दामा कार्य शुरु गरेको करिब १० वर्षपछि बिजुली बत्ती बलेको हो । त्यहाँका स्थानीयले बल्ल उज्यालो देख्न पाएका छन् । यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालोको भरमा जीवनयापन गर्दै आइरहेका २५० घरधुरीले बिजुली बलेसँगै सल्लाको दियालोबाट मुक्त भएका छन् ।  
 
दियालो, सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था नगरी उज्यालो देख्न नपाउने स्थानीयले बल्लतल्ल बिजुली बत्तीको उज्यालो देख्न पाएका छन् ।  खोल्सी गाउँका स्थानीयवासी दन्त सिंहले भने “गाउँमा पहिलो पटक बिजुली आएको छ अब भने हामी अन्धकारमुक्त भएका छौँ ।” हाम्रो दैनिकी पनि धेरै नै सहज हुने बताए । 
 छिफुन्बो लघुजलविद्युत् आयोजनाको २८ किलोवाट क्षमता भएको विद्युतले खोल्सीका ९०, खगाल गाउँका १००, लामााखोल्सीका ४० र गुम्बाका २० घरधुरी गरेर २५० घरधुरीले बिजुली बालिरहेका छन् ।
 
 आधार विकास नेपाल हुम्लाले दुई गाउँपालिकाका चारवटा गाउँका सबै घरधुरीमा निःशुल्क बत्ती जडान गरिदिएको हो । अर्का स्थानीयवासी दिपक सिंहका अनुसार कोही बत्ती बाल्न सक्ने थिए, कोही थिएनन् तर आधार विकासले जडान कार्यमा लाग्ने सम्पूर्ण खर्च सहयोग गरिदिएको पछि सबैले बत्ती बाल्न पाएका छन् । गाउँपालिका, सङ्घीय सरकार, प्रदेश सरकार र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको करिब रु तीन करोडको आर्थिक सहयोग तथा स्थानीयवासीको जनश्रमदानमा २८ किलोवाटको बिजुली उत्पादन गरिएको हो ।

प्रतिक्रिया